ओपनएआईले ल्यायो शक्तिशाली एआई मोडेल ‘जीपीटी फाइभ’, पीएचडी स्तरको विशेषज्ञता भएको दाबी
साउन २४, २०८२ ८:४५
काठमाडौँ । ओपनएआईले आफ्नो नयाँ ल्याङ्ग्वेज मोडेल जीपीटी फाइभ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई पीएचडी स्तरको विशेषज्ञता भएको अहिलेसम्मकै सबैभन्दा बौद्धिक, छिटो र उपयोगी मोडेलको रूपमा प्रस्तुत गरेको छ ।
ओपनएआईका सह-संस्थापक तथा प्रमुख कार्यकारी साम अल्टम्यानले यो नयाँ मोडेलले च्याटजीपीटीको दुनियाँमा नयाँ युगको सुरुवात गरेको बताएका छन् । “मानव इतिहासको कुनै पनि कालखण्डमा जीपीटी फाइभ जस्तो प्रविधिको कल्पना गर्नु पनि असम्भव थियो,” उनले भने । जीपीटी फाइभलाई च्याटजीपीटीका सबै प्रयोगकर्ताहरूका लागि क्रमशः उपलब्ध गराउन थालिएको छ ।
यो नयाँ मोडेल एउटा एकीकृत प्रणालीमा आधारित छ, जसले प्रयोगकर्ताको प्रश्नको प्रकृतिअनुसार कहिले छिटो र कहिले गहिरो विश्लेषणसहित जवाफ दिने भन्ने कुरा आफैँ निर्धारण गर्छ । साधारण प्रश्नहरूको लागि यसले छिटो प्रतिक्रिया दिन्छ भने जटिल समस्याहरूको लागि ‘जीपीटी फाइभ थिङ्किङ’ नामक गहिरो तार्किक क्षमता प्रयोग गर्दछ ।
जीपीटी फाइभले कोडिङ, गणित, लेखन, स्वास्थ्य र दृश्यात्मक बुझाइ जस्ता क्षेत्रमा आफ्ना पुराना सबै मोडेलहरूलाई उछिनेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले ह्यालुसिनेसन (तथ्यात्मक त्रुटिहरू) लाई उल्लेख्य रूपमा घटाएको र प्रयोगकर्ताका निर्देशनहरूलाई अझ सटीक रूपमा पालना गर्दछ ।
अल्टम्यानले जीपीटी थ्री (GPT-3) लाई एक हाई स्कुलको विद्यार्थी, जीपीटी फोरलाई कलेजको विद्यार्थी र जीपीटी फाइभलाई कुनै पनि विषयमा 'पीएचडी-स्तरको विशेषज्ञ' सँग कुरा गरेजस्तो अनुभव हुने बताएका छन् ।
जीपीटी फाइभले सामान्य प्रम्प्ट (निर्देशन) को भरमा सुन्दर र आकर्षक वेबसाइट, एप र गेमहरू बनाउन सक्छ । यसले राम्रो तार्किक क्षमता प्रदर्शन गर्ने बताइएको छ ।
लेखन विधातर्फ यसले साहित्यिक गहिराइ र लयसहितको सिर्जनात्मक लेखनमा उत्कृष्ट सहयोग प्रदान गर्ने दाबी गरिएको छ । साधारण ईमेल, प्रतिवेदनदेखि लिएर कविता लेखनसम्मका कार्यमा यो निकै सहयोगी हुने अल्टम्यानको विश्वास छ ।
उनका अनुसार स्वास्थ्यसम्बन्धी प्रश्नहरूमा यो मोडेल अझ बढी भरपर्दो र सान्दर्भिक हुनेछ । यद्यपि, उनले यो स्वास्थ्यकर्मीको विकल्प नभएको कुरामा जोड दिएका छन् ।
यो मोडेललाई हानिकारक सामग्री उत्पादन नगर्ने गरी विशेष तालिम दिइएको छ । यसले अस्पष्ट वा द्वैध अर्थ लाग्ने प्रश्नहरूलाई सुरक्षित रूपमा सम्बोधन गर्छ । र, अघिल्ला संस्करणभन्दा बढी इमानदार र मानवीय महसुस हुने दाबी गरिएको छ ।
जीपीटी फाइभ सार्वजनिक भएसँगै यसको क्षमता, बजारीकरण र नियमनबारे विभिन्न चिन्ता पनि व्यक्त भएका छन् । बीबीसीसँग कुरा गर्दै गर्दै एआई विश्लेषक प्राध्यापक करिसा भेलिजले यो प्रक्षेपण बजारीकरणको हल्ला बढी र वास्तविक प्रगति कम हुन सक्ने बताएकी छन् । उनका अनुसार यस्ता प्रणालीहरूले मानिसको तार्किक क्षमताको नक्कल मात्र गर्न सक्छन्, वास्तविक रूपमा सोच्न सक्दैनन् ।
एडा लभलेस इन्स्टिच्युटकी निर्देशक गाया मार्कसले एआईको क्षमता र त्यसलाई नियमन गर्ने हाम्रो क्षमताबिचको खाडल बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छिन् ।
अर्को एआई कम्पनी एन्थ्रोपिकले आफ्नो कोडिङ टुल प्रयोग गरेर सेवा सर्त उल्लंघन गरेको आरोप लगाउँदै ओपनएआईको पहुँच रद्द गरेको छ ।
ओपनएआईले प्रयोगकर्ता र च्याटजीपीटीबिच स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्न केही परिवर्तनहरू पनि गरेको छ । अब यसले ‘के मैले मेरो प्रेमीसँग सम्बन्ध तोड्नुपर्छ ?’ जस्ता व्यक्तिगत प्रश्नहरूको सिधा जवाफ दिने छैन । बरु, यसले प्रश्नहरू सोधेर र फाइदा-बेफाइदाको विश्लेषण गरेर प्रयोगकर्तालाई आफैँ सोच्न मद्दत गर्नेछ ।
यो नयाँ मोडेलको प्रक्षेपणले एआई प्रविधिको दौडलाई थप तीव्र बनाएको छ, जहाँ एलन मस्कको ग्रोक जस्ता अन्य च्याटबटहरूले पनि आफूलाई सर्वश्रेष्ठ भएको दाबी गरिरहेका छन् । जीपीटी फाइभ साँच्चै साम अल्टम्यानले दाबी गरेजस्तै क्रान्तिकारी छ वा छैन भन्ने कुरा आगामी दिनहरूमा स्पष्ट हुँदै जाला ।
पछिल्लो अध्यावधिक: साउन २४, २०८२ १०:२२
