ट्रम्पलाई टिम कुकले दिए २४-क्यारेट सुनको उपहार, बदलामा एप्पललाई अर्बौं डलरको कर छुट घोषणा
साउन २४, २०८२ १६:३२
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकबिच ह्वाइट हाउसमा हालै उपहार आदानप्रदान भएको छ । उपहार साटासाटसँगै यसले विश्वको ध्यान तानेको छ ।
कुकले राष्ट्रपति ट्रम्पलाई अमेरिकामै निर्मित विशेष काँच र २४ क्यारेट सुनले बनेको उपहार प्रदान गरे । जसको बदलामा ट्रम्पले एप्पललाई अर्बौं डलर बराबरको आयात करबाट छुट दिने ऐतिहासिक घोषणा गरेका छन् ।
यो घटना एप्पलको अमेरिकामा उत्पादन विस्तार गर्ने योजनासम्बन्धी एक कार्यक्रममा भएको बताइएको छ ।
के थियो उपहारमा ?
टिम कुकले दिएको उपहारमा एप्पलको लोगो कुँदिएको एउटा ठुलो काँचको डिस्क थियो । जसलाई २४ क्यारेट सुनको आधार (बेस) मा राखिएको थियो । उक्त काँचमा राष्ट्रपति ट्रम्पको नाम, कुकको हस्ताक्षर, ‘मेड इन यूएसए’ र सन् २०२५ कुँदिएको थियो । यो उपहार एप्पलमा कार्यरत एक पूर्वअमेरिकी मरिन कर्पसका सैनिकले डिजाइन गरेका हुन् । यसमा प्रयोग भएको काँच केन्टकीस्थित एप्पलको निर्माता कोर्निङबाट र सुनको आधार युटाबाट ल्याइएको थियो ।
“यो एउटा अद्वितीय उपहार हो, जुन राष्ट्रपति ट्रम्पका लागि विशेष रूपमा बनाइएको हो,’’ कुकले भने ।
🚨 WOW! Apple CEO Tim Cook just presented President Trump with an engraved piece of glass from Apple - custom-engraved for Trump - and it is sitting on a golden holder, on the Resolute Desk.
— Eric Daugherty (@EricLDaugh) August 6, 2025
It was designed by a former US Marine Corporal for Trump that now works at Apple.
"He… pic.twitter.com/JMTmbtJgyQ
एप्पलका लागि ‘ज्याकपोट’
उपहार जति चम्किलो थियो, एप्पलका लागि राष्ट्रपति ट्रम्पको घोषणा त्योभन्दा धेरै मूल्यवान साबित भयो । ट्रम्पले ओभल अफिसबाटै घोषणा गरे कि एप्पलजस्ता अमेरिकामा आफ्ना उत्पादनहरू बनाउने कम्पनीहरूलाई सेमिकन्डक्टर र चिप्सको आयातमा लाग्ने १०० प्रतिशतको भन्सार शुल्कबाट छुट दिइनेछ ।
यो घोषणा एप्पलका लागि ठुलो आर्थिक राहत हो । जसलाई विश्लेषकहरूले ‘ज्याकपोट’ को संज्ञा दिएका छन् । राष्ट्रपति ट्रम्पले लामो समयदेखि एप्पल लगायतका कम्पनीहरूलाई अमेरिकामा उत्पादन सार्न दबाब दिँदै आएका छन् ।
एप्पलको लगानी प्रतिबद्धता
यसै अवसरमा एप्पलले पनि अमेरिकामा आफ्नो लगानी विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी चार वर्षमा अमेरिकामा गर्ने ५०० अर्ब डलरको लगानीमा थप १०० अर्ब डलर थप्ने प्रतिबद्धता जनाएको छ ।
यस कदमअन्तर्गत आईफोन र एप्पल वाचका लागि आवश्यक सबै कभर ग्लास अब पूर्ण रूपमा अमेरिकामै उत्पादन गरिने कुकले बताए । पछिल्लो भेटघाट र उपहार आदानप्रदानसँगै टिम कुकले राष्ट्रपति ट्रम्पसँग राम्रो सम्बन्ध बनाएको विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन २४, २०८२ १७:४४
