अन्तरिक्ष यात्रीको स्वास्थ्य अब एआईको जिम्मामा, नासा र गुगलले थाले सहयात्रा
साउन २५, २०८२ ८:५९
काठमाडौँ । मानवसहितको अन्तरिक्ष अभियानहरू लामो र पृथ्वीबाट टाढा हुँदै जाँदा अन्तरिक्ष यात्रीलाई स्वस्थ राख्नु थप चुनौतीपूर्ण बनेको छ । यही समस्या समाधान गर्न अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गुगलसँगको सहकार्यमा एआईमा आधारित मेडिकल असिस्टेन्ट विकास गरिरहेको खबर बाहिरिएको छ ।
टेकक्रन्चका अनुसार यो प्रविधिको मुख्य उद्देश्य लामो अन्तरिक्ष अभियानमा चिकित्सक उपलब्ध नहुँदा वा पृथ्वीसँग सञ्चार सम्पर्क टुटेको अवस्थामा अन्तरिक्ष यात्रीहरूलाई रोगको निदान र उपचारमा सहयोग गर्नु हो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा रहेका अन्तरिक्ष यात्रीहरू हालसम्म ह्युस्टनमा रहेका चिकित्सकहरूसँगको प्रत्यक्ष सम्पर्क, नियमित रूपमा औषधिहरूको आपूर्ति र छ महिनापछि पृथ्वीमा सहज फिर्तीमा निर्भर रहँदै आएका छन् ।
तर, नासा र यसका व्यावसायिक साझेदारहरू (विशेषगरी एलन मस्कको स्पेसएक्स) ले चन्द्रमा र मंगल ग्रहसम्म पुग्ने लामो अवधिको अभियान सञ्चालन गर्ने योजना बनाएसँगै यो अवस्था परिवर्तन हुने देखिएको छ ।
यही निकट भविष्यको वास्तविकताले नासालाई अन्तरिक्षमा गरिने स्वास्थ्य सेवालाई विस्तारै पृथ्वी-स्वतन्त्र (Earth-independent) बनाउन प्रेरित गरेको छ । यसै क्रममा विकास गरिएको ‘क्रू मेडिकल अफिसर डिजिटल असिस्टेन्ट’ (CMO-DA) नामक यो एआई टुल भ्वाइस, टेक्स्ट र तस्बिरहरूलाई एकसाथ प्रयोग गर्न सक्ने ‘मल्टिमोडल’ प्रणाली हो । यो गुगल क्लाउडको ‘भर्टेक्स एआई’ प्लेटफर्ममा सञ्चालन हुन्छ ।
गुगलको पब्लिक सेक्टर बिजनेस युनिटका कस्टमर इन्जिनियर डेभिड क्रुलीले यो परियोजनामा क्लाउड सेवा, एप्लिकेसन विकासको पूर्वाधार र मोडेल तालिमको लागत समावेश रहेको बताएका छन् । उनका अनुसार एप्लिकेसनको सोर्स कोडको स्वामित्व नासासँग छ ।
यो एआई असिस्टेन्टको परीक्षण तीन फरक स्वास्थ्य अवस्थामा गरिएको थियो: गोलीगाँठाको चोट, कम्मरको दुखाइ र कानको दुखाइ । एक अन्तरिक्ष यात्रीसहित तीन जना चिकित्सकहरूको टोलीले प्रारम्भिक मूल्याङ्कन, बिरामीको अवस्थाबारे जानकारी लिने, चिकित्सकीय तर्क र उपचारका आधारमा यसको कार्यसम्पादनको मूल्याङ्कन गरेको थियो ।
टेकक्रन्चका अनुसार परीक्षणको नतिजा निकै उत्साहजनक देखिएको छ । चिकित्सकहरूको टोलीले गोलीगाँठाको चोटको निदान र उपचार योजना ८८ प्रतिशत सही भएको ठहर गरेको छ भने कानको दुखाइमा ८० प्रतिशत र कम्मरको दुखाइमा ७४ प्रतिशत सही भएको पाइएको छ ।
नासाका वैज्ञानिकहरूले यसलाई चरणबद्ध रूपमा थप विकसित गर्दै लैजाने योजना बनाएका छन् । भविष्यमा यसमा मेडिकल उपकरणहरूबाट प्राप्त तथ्याङ्क जस्ता थप डेटा स्रोतहरू समावेश गरिनेछ । साथै, मोडेललाई परिस्थितिअनुसार सचेत बनाउन तालिम दिइनेछ । जसले गर्दा यसले सूक्ष्म गुरुत्वाकर्षण जस्ता अन्तरिक्ष चिकित्सा विशेष अवस्थाहरूलाई समेत ध्यानमा राख्न सक्नेछ ।
गुगलले यस प्रकारको मेडिकल असिस्टेन्टलाई पृथ्वीमा चिकित्सकहरूको कार्यालयमा प्रयोगका लागि नियामक स्वीकृति लिने योजना बनाएको छ कि छैन भन्नेबारे स्पष्ट नभए पनि यदि यो मोडेल अन्तरिक्षमा सफल प्रमाणित भएमा यो एक स्वभाविक अर्को कदम हुन सक्ने देखिन्छ ।
क्रुलीले अगाडि भनेका छन्, “यस टुलले अन्तरिक्षमा अन्तरिक्ष यात्रीहरूको स्वास्थ्यमा सुधार मात्र ल्याउने छैन । तर यसबाट सिकेका पाठहरूले स्वास्थ्यका अन्य क्षेत्रमा पनि उपयोगिता पाउन सक्नेछन् ।”
पछिल्लो अध्यावधिक: साउन २५, २०८२ ९:२८
