राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा सहयोग जुटाउने नेपाली क्राउडफन्डिङ एप 'वर्दान' सार्वजनिक
साउन २५, २०८२ १८:३
काठमाडौँ । नेपाली समाजमा सहयोग, एकता र पारदर्शितालाई प्रवर्धन गर्ने उद्देश्यका साथ 'वर्दान' (Vardan) नामक नयाँ क्राउडफन्डिङ मोबाइल एप सार्वजनिक भएको छ । यसलाई नेपालको पहिलो स्वदेशी क्राउडफन्डिङ प्लेटफर्म दाबी गरिएको छ ।
यो एपले सामुदायिक सहयोग, पारदर्शिता र डिजिटल पहुँचको माध्यमबाट सपनाहरूलाई साकार बनाउन मद्दत पुर्याउने बताइएको छ । वर्दान एपका डेभलपरका अनुसार, अब कुनै पनि व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो एप प्रयोग गरी सहजै सहयोग अभियान सुरु गर्न सक्नेछन् ।
साथै, देश-विदेशमा रहेका सहयोग दाताहरूबाट छिटो, सुरक्षित र पारदर्शी रूपमा आर्थिक सहयोग प्राप्त गर्न सकिने बताइएको छ । वर्दानले सहयोग अभियानको पारदर्शिता, सहज प्रयोग, र स्थानीय आवश्यकतालाई प्राथमिकता दिएको दाबी डेभलपरको छ ।
डेभलपरका अनुसार प्रयोगकर्ताहरूले एपमा सहज रूपमा आफ्नो अभियान दर्ता, प्रगति विवरणको ट्य्राकिङ र सहयोगकर्तासँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् । एपका संस्थापक पीताम्बर पौडेलले नेपाली जनतालाई विश्वसनीय, पारदर्शी र डिजिटल माध्यमबाट सहयोगको वातावरण तयार पार्नु यसको मुख्य उद्देश्य भएको बताए । "वर्दान एपले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएका छौँ,” उनले भने ।
गुगल प्ले स्टोरमा निःशुल्क रूपमा उपलब्ध वर्दान एप आईओएसमा भने कहिलेसम्म उपलब्ध हुन्छ भन्ने कुरा खुलाइएको छैन ।
पछिल्लो अध्यावधिक: साउन २५, २०८२ १८:३
