चरित्रहत्या हुन थालेको भन्दै 'बुढी पीडित'को नाममा कमेडी नगर्न म्याकुरीलाई पूर्वपत्नीको आग्रह
साउन २५, २०८२ २०:२८
काठमाडौँ । हास्य कलाकार पवन खतिवडा (म्याकुरी) लाई आफ्नो पूर्व दाम्पत्य जीवनलाई आधार बनाएर सामाजिक सञ्जाल र कमेडी कार्यक्रमहरूमा 'बुढी पीडित' को नाममा टिप्पणी नगर्न उनकी पूर्वपत्नी सुम्निमा खालिङले आग्रह गरेकी छिन् । सुम्निमाले पवनलाई सिधै फोन गरेर यसबाट आफ्नो चरित्रहत्या हुनुका साथै मानसिक पीडा समेत भोग्नु परेको भन्दै यस्ता क्रियाकलाप रोक्न अनुरोध गरेकी हुन् ।
यही विषयलाई लिएर उनले आफ्नो युट्युब च्यानलमा दुई ओटा भिडिओ समेत राखेकी छिन् । उनका अनुसार पवनले कमेडी गर्दा सधैँ 'बुढी, बुढी' भनेर मिसाउने गरेको र यसले उनलाई प्रत्यक्ष रूपमा असर पर्ने गरेको छ । पवनले 'बुढीले गर्दा जिन्दगी बिग्रियो', 'बुढीले गर्दा बेइज्जत भयो', 'बुढीले कुट्यो' जस्ता कुराहरू कमेडीमा समावेश गर्दा अप्रत्यक्ष रूपमा आफैँलाई निशाना बनाएको महसुस गरेको उनले बताएकी छिन् ।
यसले गर्दा मानिसहरूले 'सुम्निमाले ठिक पार्छ', 'यसको बुढी त यस्तो रहेछ', 'पवनको बुढी खतम नै थिई' जस्ता नकारात्मक टिप्पणीहरू गर्ने गरेको र यसबाट आफूलाई ठुलो मानसिक तनाव र पीडा भएको उनको भनाई छ ।
पवनले सामाजिक सञ्जालमा भिडिओ क्लिपहरू काटेर हाल्ने र 'बुढीसँग यस्तो भएको, त्यस्तो भएको' भन्दै बेइज्जत गरिएकोमा उनले गम्भीर आपत्ति जनाएकी छिन् । उनले भनेकी छिन्, "बिहेजस्तो पवित्र कुरालाई मजाक बनाउनु राम्रो होइन," उनले भनेकी छिन्, "मान्छेले बिर्सिन खोजेको कुरालाई बारम्बार उचालेर टर्चर दिने काम भएको छ ।"
उनले यसअघि पवनलाई फेसबुकमा ब्लक गरेको र विवाद गर्नुभन्दा सिधै कुरा गर्नु उचित ठानेको बताएकी छिन् । फोनमा कुरा गर्दा पवनले 'अहिले त्यस्तो गर्दिनँ, कम बोल्छु' भनेर सोझो भएर बोलेका छन् । तर सुम्निमाले पछिल्ला एपिसोडहरूमा पनि यस्ता कुरा दोहोरिएको पाएको बताइन् । हास्य कलाकार पवन खतिवडा (म्याकुरी) ले टेलिश्रृङ्खला कमेडी दरबारमा आफ्ना प्रस्तुतिहरू दिँदै आएका छन् ।
पछिल्लो अध्यावधिक: साउन २५, २०८२ २०:२८
