close

सामसङले ल्यायो ११५ इन्चको माइक्रो आरजीबी डिस्प्ले, टिभी प्रविधिमा आउला त छलाङ ?

टेकपाना टेकपाना

साउन २८, २०८२ ९:५

सामसङले ल्यायो ११५ इन्चको माइक्रो आरजीबी डिस्प्ले, टिभी प्रविधिमा आउला त छलाङ ?

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले विश्वकै पहिलो माइक्रो आरजीबी (Micro RGB) डिस्प्ले आधिकारिक रूपमा सार्वजनिक गरेको छ । ठुलो ११५ इन्च स्क्रिनको पछाडि माइक्रो-स्केल आरजीबी एलईडी ब्याकलाइट प्रयोग गरिएको यस प्रविधिलाई अल्ट्रा-प्रिमियम टिभी क्षेत्रमा कलरको एकुरेसी, कन्ट्रास्ट र इमर्सिभ भ्युइङ अनुभवको नयाँ मापदण्डका रूपमा प्रस्तुत गरिएको छ ।

सामसङको स्वामित्वमा रहेको माइक्रो आरजीबी प्रविधिले १०० माइक्रोनभन्दा साना रातो, हरियो र नीलो एलईडीहरूलाई सूक्ष्म ढाँचामा प्यानलको पछाडि राखेर प्रत्येकलाई अलग–अलग नियन्त्रण गर्न सक्षम बनाउने बताइएको छ । यसले परम्परागत ब्याकलाइटिङभन्दा बढी सटीक कलर र कन्ट्रास्ट कन्ट्रोल गर्न मद्दत गर्छ ।

“माइक्रो आरजीबीले माइक्रोन आकारका एलईडीहरूलाई सटीक रूपमा नियन्त्रण गरेर डिस्प्लेको कलर एकुरेसी र कन्ट्रास्टलाई नयाँ स्तरमा पुर्‍याएको छ,” सामसङ इलेक्ट्रोनिक्सका भिजुअल डिस्प्ले व्यवसायका अनुसन्धान तथा विकास टोलीका कार्यकारी उपाध्यक्ष टेयोङ सोनले भने, “यसको माध्यमबाट हामी ठुलो आकारका अल्ट्रा-प्रिमियम टिभी बजारमा नयाँ मापदण्ड स्थापित गर्दैछौं ।”

यो डिस्प्ले सामसङको माइक्रो आरजीबी एआई इन्जिनबाट सञ्चालित छ । कम्पनीका अनुसार यसले वास्तविक समयमा हरेक फ्रेमको विश्लेषण गरेर कलर र साउन्ड अप्टिमाइज गर्छ । साथै ‘माइक्रो आरजीबी कलर बुस्टर प्रो’ प्रविधिले धमिलो देखिने दृश्यका रंगहरूलाई स्वचालित रूपमा सुधारेर झन् जीवन्त बनाउँछ ।

यसमा ‘माइक्रो आरजीबी प्रिसिजन कलर’ फिचरसमेत छ । जसले १०० प्रतिशत बीटी.२०२० अन्तर्राष्ट्रिय रंग मापदण्ड (international standard for color accuracy) पूरा गर्ने सुनिश्चित गर्दछ । यो प्रविधिलाई जर्मनीको प्रमाणीकरण संस्था भीडीईले ‘माइक्रो आरजीबी प्रिसिजन कलर’ प्रमाणपत्र दिएको छ ।

ग्लेर–फ्री प्रविधि भएकाले यो डिस्प्लेले उज्यालो वातावरणमा समेत प्रकाशको परावर्तन घटाएर सहज दृश्य अनुभव दिने सामसङको भनाइ छ । उसका अनुसार धातुको स्लिम डिजाइन भएको यो टिभी कुनै पनि इन्टेरियरसँग मेल खान सक्नेगरी बनाइएको छ ।

यसमा सामसङ भिजन एआई प्रविधि पनि छ । जसले एआई आधारित पिक्चर र साउण्ड अप्टिमाइजेसन, जेनेरेटिभ एआईद्वारा सञ्चालित स्मार्ट बिक्सबी भ्वाइस असिस्टेन्ट, व्यक्तिगत अनुभव र सुरक्षा सुविधाका लागि सामसङ नक्स सुरक्षा प्रणाली प्रदान गर्छ । साथै, कम्पनीले सात वर्षसम्म निःशुल्क टिजेन ओएस अपग्रेडको सुविधा दिने भएको छ ।

दक्षिण कोरियामा सार्वजनिक गरिएको यो टिभी चाँडै अमेरिकामा उपलब्ध हुने र त्यसपछि विभिन्न आकारका मोडेलसहित विश्वबजारमा विस्तार गर्ने सामसङको योजना छ ।

पछिल्लो अध्यावधिक: साउन २८, २०८२ ९:२६