गुगललाई चकित पार्ने पर्प्लेक्सिटीको प्रस्ताव, भन्यो- ४८ खर्बमा क्रोम ब्राउजर किन्न तयार छौं
साउन २८, २०८२ १०:१३
काठमाडौँ । एआई सर्च इन्जिन पर्प्लेक्सिटीले गुगलको वेब ब्राउजर क्रोमलाई ३४.५ अर्ब डलर (४८ खर्ब रुपैयाँ बढी) मा खरिद गर्ने अनपेक्षित प्रस्ताव गरेको छ । पर्प्लेक्सिटीले टेकक्रन्चलाई दिएको जानकारी अनुसार यो प्रस्तावमा क्रोमभित्रको ‘क्रोमियम’ इन्जिनलाई ओपन सोर्स कायम राख्ने र यसमा लगानी जारी राख्ने प्रतिबद्धता समावेश छ ।
पर्प्लेक्सिटीको प्रस्तावमा ओपन सोर्स परियोजनामा तीन अर्ब डलर लगानी गर्ने वाचा पनि रहेको छ । साथै, क्रोम प्रयोगकर्ताको पूर्वनिर्धारित सेटिङ, जस्तै; डिफल्ट सर्च इन्जिनका रूपमा गुगल नै रहने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ । यसको अर्थ, पर्प्लेक्सिटीले आफ्नो एआई-सञ्चालित सुविधालाई डिफल्ट बनाउनुको सट्टा गुगललाई नै डिफल्ट सर्च इन्जिनको रूपमा छोड्ने वाचा गरेको छ ।
यस विषयमा गुगलबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको टेकक्रन्चले जनाएको छ ।
यो प्रस्ताव अमेरिकी न्याय विभागले मार्चमा गुगललाई क्रोम बेच्न बाध्य पार्नुपर्ने प्रस्ताव गरेपछि आएको हो । एक न्यायाधीशले गुगलले अनलाइन सर्चमा एकाधिकार कायम राख्न अवैध कार्य गरेको फैसला सुनाएका थिए । गुगलले क्रोम बेच्न सहमत नभई उक्त फैसला विरुद्ध लड्ने वाचा गरेको छ ।
स्ट्याटकाउन्टरका अनुसार ६८ प्रतिशत बजार हिस्सेदारीसहित क्रोम विश्वको प्रमुख ब्राउजर हो । अदालतले क्रोम बिक्रीको आदेश दिए अन्य धेरै कम्पनीले पनि खरिदमा चासो देखाउने अनुमान छ । प्रतिद्वन्द्वी सर्च इन्जिन ‘डकडकगो’का प्रमुख कार्यकारीले यसअघि क्रोमको मूल्य ५० अर्ब डलरभन्दा बढी हुन सक्ने बताएका थिए । यस हिसाबले पर्प्लेक्सिटीको प्रस्ताव तुलनात्मक रूपमा सस्तो मानिएको छ ।
पर्प्लेक्सिटीको यो प्रस्ताव कम्पनीको हालसम्म उठाएको लगानीभन्दा धेरै ठुलो हो । पिचबुकका अनुसार कम्पनीले हालसम्म करिब एक अर्ब ५० करोड डलर लगानी संकलन गरेको छ भने गत महिना १८ अर्ब डलर मूल्यांकनसहित थप १० करोड डलर जुटाएको थियो ।
गत महिना पर्प्लेक्सिटीले आफ्नो ब्राउजर ‘कोमेट’ सार्वजनिक गरेको थियो भने टिकटकसँग मर्ज गर्न प्रस्तावसमेत राखेको बताइएको छ ।
पछिल्लो अध्यावधिक: साउन २८, २०८२ १०:२५
