close

चीनमा मानवरूपी रोबोटहरूको ओलम्पिक खेल सुरु, १६ देशका २८० टिमको सहभागिता

टेकपाना टेकपाना

साउन ३०, २०८२ ९:४१

तस्बिर- सिन्ह्वा तस्बिर- सिन्ह्वा

काठमाडाैँ । चीनको राजधानी बेइजिङमा ‘वर्ल्ड ह्युमनोइड रोबोट गेम्स २०२५’ सुरु भएको छ । बिहीबारदेखि तीन दिनसम्म चल्ने प्रतियोगितामा मानवरूपी रोबोटहरूको बौद्धिक निर्णय क्षमता र सहयोगात्मक गतिमा हासिल भएका उपलब्धिहरूलाई प्रदर्शन गरिने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

सिन्ह्वाका अनुसार यस मेगा-इभेन्टमा १६ देशका २८० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

बिहीबार उद्घाटन समारोहका अवसरमा रोबोटहरूको टोलीले पङ्क्तिबद्ध भई प्रदर्शन गरेका थिए भने आकर्षक पोशाकमा सजिएका रोबोटहरूले फेसन शो प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरूको टोलीले आफ्ना रोबोटहरूलाई हल्लाएर खुसी व्यक्त गरेका थिए । यसै क्रममा ‘तियानगोङ २.० प्रो’ नामक एक रोबोटले शपथ ग्रहण गरेको थियो । जसले प्रतियोगिताको शुभारम्भलाई विशेष बनाएको थियो ।

समारोहमा १०० मिटर दौड र फुटबल जस्ता खेलहरूमा रोबोटहरूले प्रतिस्पर्धा गरी आफ्ना क्षमताहरू प्रदर्शन गरेका थिए । युनिट्री रोबोटिक्सका मानव रोबोटहरूले किकबक्सिङ खेल प्रस्तुत गर्दै दर्शकहरूलाई आकर्षित गरेका थिए ।

यस खेलकुद महोत्सवमा रोबोटहरूले फुटबल, एथलेटिक्स, ट्र्याक एन्ड फिल्ड, टेबल टेनिस जस्ता खेलहरूमा प्रतिस्पर्धा गर्नेछन् । साथै उनीहरूले औषधि छान्ने, सामग्री व्यवस्थापन गर्ने र सरसफाइ जस्ता विशेष कार्यमा पनि आफ्नो क्षमता देखाउनेछन् ।

प्रतियोगितामा अमेरिका, जर्मनी, ब्राजिल लगायतका देशहरूबाट टोलीहरू सहभागी छन् । जसमा १९२ विश्वविद्यालयबाट र ८८ निजी उद्यमहरूबाट प्रतिनिधित्व गरिरहेका छन् । चिनियाँ कम्पनीहरू युनिट्री र फोरियरका रोबोटहरू पनि प्रतिस्पर्धामा छन् ।

आयोजकमध्ये बेइजिङ नगरपालिका सरकारसमेत रहेको छ । हाल चीनले रोबोटिक्स र एआई क्षेत्रमा ठुलो लगानी गरिरहेको छ । जसअन्तर्गत गत वर्ष मात्र २० अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान दिइएको छ भने आगामी दिनमा १ ट्रिलियन युआन कोष स्थापना गर्ने योजना छ ।

हेर्नुहोस् केही तस्बिरहरू:

तस्बिर स्रोत: सिन्ह्वा

पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १०:०