काठमाडौँ । गुगल मेसेजले 'सेन्सिटिभ कन्टेन्ट वार्निङ' (Sensitive Content Warnings) सुविधा सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि रोलआउट गर्न थालेको छ । नाइनटुफाइभ गुगलका अनुसार नग्नता समावेश भएका तस्बिरहरू पत्ता लगाउन र तिनीहरूलाई स्वतः ब्लर गर्न यो फिचर डिजाइन गरिएको हो ।
करिब १० महिनाअघि नै घोषणा गरिएको यो फिचर सीमित बेटा परीक्षणभन्दा बाहिरका प्रयोगकर्ताहरूका लागि पहिलो पटक उपलब्ध गराउन थालिएको छ । गोपनीयतालाई केन्द्रित गरी ल्याइएको यो सुविधाले प्रयोगकर्ताहरू ब्लर गरिएका तस्बिरहरू नहेरेरै डिलिट गर्ने विकल्प समेत दिनेछ ।
त्यस्तै नग्न तस्बिर पठाउने व्यक्तिलाई ब्लक गर्ने सुविधा पनि यसमा समावेश छ । साथै यस्ता तस्बिरहरू पठाउन वा फर्वार्ड गर्न खोज्दा प्रयोगकर्ताहरूलाई जोखिमबारे चेतावनी दिइनेछ । यसका बाबजुत तस्बिर पठाउन जारी राख्न चाहेमा प्रयोगकर्ताले दायाँतिर स्वाइप गर्नुपर्नेछ ।
यो सुविधालाई प्रयोग गर्नका लागि प्रयोगकर्ताले गुगल अकाउन्टमा साइन इन गरेको हुनुपर्छ । किशोर प्रयोगकर्ताहरूका लागि यो फिचर डिफल्ट रूपमा सक्रिय गरिएको छ । यद्यपि, वयस्क प्रयोगकर्ताहरूका लागि भने यो वैकल्पिक रूपमा राखिएको छ र डिफल्ट रूपमा निष्क्रिय राखिएको छ ।
यदि तपाईँ वयस्क प्रयोगकर्ता हुनुहुन्छ र यो सुविधा सक्रिय गर्न चाहनुहुन्छ भने निम्न तरिका अपनाउन सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिला स्क्रिनको माथि-दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल फोटोमा ट्याप गर्नुहोस् ।
'मेसेज सेटिङ्स' (Messages settings) चयन गर्नुहोस् र 'प्रोटेक्सन एन्ड सेफ्टी' (Protection and safety) विकल्पमा ट्याप गर्नुहोस् । (यदि दुई ओटा मोबाइल नम्बर भए आफ्नो अनुकूलता अनुसार कुनै एउटा छान्नुपर्ने हुन्छ)
त्यहाँबाट 'म्यानेज सेन्सिटिभ कन्टेन्ट वार्निङ' (Manage sensitive content warnings) चयन गर्नुहोस् । यति गरिसकेपछि अन्त्यमा 'वार्निङ इन गुगल मेसेज' (Warnings in Google Messages) मा ट्याप गरेर यो सुविधा अन गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १३:१५
