close

ठगी, फिरौती र आतङ्कवादलाई बढावा दिएको भन्दै रुसमा ह्वाट्सएप र टेलिग्राम कलमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

साउन ३०, २०८२ १४:५९

ठगी, फिरौती र आतङ्कवादलाई बढावा दिएको भन्दै रुसमा ह्वाट्सएप र टेलिग्राम कलमाथि प्रतिबन्ध

काठमाडौँ । रुसी अधिकारीहरूले मेसेजिङ एप टेलिग्राम र ह्वाट्सएप मार्फतका गरिने कलहरूमाथि 'आंशिक' प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । इन्टरनेटमा आफ्नो नियन्त्रण कडा पार्ने रुसको दीर्घकालीन र बहुआयामिक प्रयास स्वरूप यस्तो कदम चालिएको हो ।

रुसी सरकारको मिडिया तथा इन्टरनेट नियामक रोस्कोम्नाड्जर (Roskomnadzor) ले यो उपाय अपराधविरुद्ध लड्न आवश्यक रहेको बताएको छ । नियामकका अनुसार, कानुन कार्यान्वयन गर्ने एजेन्सी र नागरिकहरूबाट प्राप्त धेरै उजुरीहरूले टेलिग्राम र ह्वाट्सएप जस्ता विदेशी मेसेजिङ एप पैसा ठगी गर्न, फिरौती माग्न र रुसी नागरिकहरूलाई तोडफोड तथा आतङ्कवादी गतिविधिहरूमा संलग्न गराउन प्रयोग हुने मुख्य भ्वाइस सेवा बनेको देखाएको छ । नियामकले यस्ता कम्पनीलाई आवश्यक प्रतिरोधी मापदण्ड अपनाउन बारम्बार गरेका अनुरोधहरूलाई बेवास्ता गरेको आरोप पनि लगाएको छ ।

यो प्रतिबन्धपछि यस हप्ताको सुरुमा नै ह्वाट्सएप र टेलिग्राममा कलहरू अवरुद्ध भएको रिपोर्टहरू रुसी सञ्चार माध्यमहरूमा आएका थिए । जसमा प्रयोगकर्ताहरूले कल नलाग्ने वा एकअर्काको आवाज सुन्न नसकिएको गुनासो गरेका थिए ।

ह्वाट्सएपका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा इन्क्रिप्टेड मेसेजिङ एप मानिसहरूको सुरक्षित सञ्चारको अधिकार हनन गर्ने सरकारी प्रयास विरोधी भएको उल्लेख गर्दै सोही यही कारणले रुसले १० करोडभन्दा बढी रुसी जनताबाट यसलाई बन्द गर्न खोजेको आरोप लगाएको छ ।

रुसले देशको सबैभन्दा लोकप्रिय प्लेटफर्म मध्येको एक ह्वाट्सएपलाई चुनौती दिन 'राष्ट्रिय' मेसेजिङ एप म्याक्स (MAX) ल्याएको छ । जुन रुसी अधिकारको कडा निगरानीमा रहने अनुमान गरिएको छ । म्याक्सलाई मेसेजिङ, अनलाइन सरकारी सेवा, भुक्तानी लगायतका लागि वन-स्टप शपको रूपमा प्रचार गरिएको छ ।

जुलाईसम्ममा २० लाखभन्दा बढी मानिसले यो एपमा रजिस्टर गरेको कुरा समाचार एजेन्सी तासमा उल्लेख छ । रुसी मनिटरिङ सर्भिस मिडियास्कोपका अनुसार जुलाईमा ह्वाट्सएप रुसमा सबैभन्दा लोकप्रिय प्लेटफर्मको रूपमा रहेको थियो, जसमा ९ करोड ६० लाखभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता थिए । त्यस्तै टेलिग्राम ८ करोड ९० लाखभन्दा बढी प्रयोगकर्ताका साथ दोस्रो स्थानमा थियो ।

रुसको डिजिटल विकास तथा सञ्चार मन्त्रालयले सम्बन्धित प्लेटफर्महरूले कानुन पालना गरेमा ह्वाट्सएप र टेलिग्राम मार्फत हुने कलहरू पुनर्स्थापित गर्न सकिने बताएको छ । रोस्कोम्नाड्जरका अनुसार आंशिक प्रतिबन्ध अडियो कलहरूमा मात्र लागु गरिएको युरो न्युजमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १६:१७