एनआईसी एसिया बैंकका ग्राहकलाई स्काई ब्रोडब्याण्डको इन्टरनेटमा १५ सय रुपैयाँ छुट
भदौ २, २०८२ १८:४३
काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई इन्टरनेट सेवामा छुट उपलब्ध गराउन स्काइ ब्रोडब्याण्ड प्रालिसँग सम्झौता गरेको छ । सम्झौताअनुसार, बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको वार्षिक इन्टरनेट शुल्कमा १५ सय रुपैयाँ छुट पाउनेछन् ।
बैंक र इन्टरनेट सेवा प्रदायक कम्पनीबिच सम्पन्न समझदारीअनुसार एनआईसी एसियाका ग्राहकले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस वा ३५० एमबीपीएस गतिको इन्टरनेट जडान गर्दा वा नवीकरण गर्दा उक्त छुट प्राप्त गर्नेछन् । यो छुट वार्षिक भुक्तानीमा मात्र लागु हुने जनाइएको छ ।
उक्त छुट सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड अथवा मोबाइल बैंकिङ (मोबैंक) एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ ।
यस सहकार्यले आफ्ना ग्राहकलाई इन्टरनेट प्रयोगमा लाभ पुग्नुका साथै मुलुकमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी नगदरहित कारोबारलाई बढावा दिन मद्दत पुग्ने बैंकको विश्वास छ ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १८:४३
