‘सिंहदरबार र अन्य सरकारी कार्यालयमा थन्किएका हजारौं गाडीलाई विद्युतीय बनाऔं, पैसा बचाऔं’
भदौ ५, २०८२ १५:३७
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद रामप्रकाश चौधरीले पेट्रोल र डिजेलबाट चल्ने पुराना गाडीहरूलाई विद्युतीयमा रूपान्तरण गर्न सरकारले तत्काल नीति ल्याउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो नीतिले एकातिर प्रदूषण घटाउने र अर्कोतिर सरकारको ठुलो रकम बचत हुने धारणा राखे ।
सांसद चौधरीले सिंहदरबारदेखि अन्य सरकारी कार्यालयहरूमा हजारौं गाडीहरू काम नलाग्ने अवस्थामा थन्किएर बसेको उल्लेख गरे । ती पुराना गाडीहरूलाई विद्युतीयमा परिणत गर्नसके देशलाई आर्थिक र वातावरणीय दुवै हिसाबले फाइदा पुग्ने उनको तर्क थियो ।
“सरकारले विद्युतीय गाडी रूपान्तरणको नीति ल्याउनुपर्छ,” उनले बैठकमा भने, “सिंहदरबारदेखि अन्य सरकारी कार्यालयहरुमा हजारौं गाडीहरु र पुराना निजी गाडीहरु त्यतिकै बसिरहेका छन् । ती गाडीहरुमा अब विद्युतीय रूपान्तरण नीति ल्यायो भने...त्यहाँ अब विद्युतीय ब्याट्री सिस्टम चार्ज गरेर चलाउन सकिन्छ ।”
यस्तो कदमले काठमाडौं लगायतका सहरी क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । विद्युतीय गाडीको प्रयोगले वातावरण स्वच्छ हुने र नागरिकको स्वास्थ्यमा पनि सकारात्मक असर पर्ने उनको भनाइ थियो ।
सांसद चौधरीले पुराना गाडीलाई विद्युतीयमा बदल्दा गाडी खरिदमा विदेशिने अर्बौं रुपैयाँ बचत हुने र देशको आर्थिक अवस्थालाई पनि टेवा पुग्ने धारणा राखे । “यसले गर्दा काठमाडौं लगायत अन्य सहरी इलाकामा प्रदूषणको पनि कमी हुने र स्वच्छ वातावरण हुने र पैसा पनि सरकारको लाखौं बच्ने हुनाले यो नीति ल्याई कार्यान्वयनमा ल्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने ।
नेपालमा पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ । सरकारले केही वर्षअघि सवारी तथा यातायात व्यवस्था ऐनमा विशेष व्यवस्था गरेर इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न सकिने बाटो खोलेको थियो । तर स्पष्ट मापदण्ड र कार्यविधिको अभावमा यो प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १५:३७
