close

सामसङले दियो ५६ नेपाली विद्यार्थीलाई कोडिङ प्रमाणपत्र, अब एआई र बिग डेटाको तालिम दिने

टेकपाना टेकपाना

भदौ ५, २०८२ २२:२३

सामसङले दियो ५६ नेपाली विद्यार्थीलाई कोडिङ प्रमाणपत्र, अब एआई र बिग डेटाको तालिम दिने

काठमाडौँ । सामसङले आफ्नो 'सामसङ इनोभेसन क्याम्पस' पहलअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका पुल्चोक इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । कम्पनीले अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बिग डेटाको नयाँ तालिम ब्याच सुरु गर्ने घोषणा पनि गरेको छ ।

प्रमाणपत्र वितरण समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा. डा. दीपक आर्यल, पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा. डा. सुशील बी. बज्राचार्यको उपस्थिति रहेको थियो ।

सामसङ नेपाल कार्यालयका मानव संसाधन प्रबन्धक जयन्त मणि कायस्थले नेपाली युवाहरूलाई भविष्यमुखी सीपले सशक्त बनाउने सामसङ इनोभेसन क्याम्पसको लक्ष्य रहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा एआई, बिग डेटा र इन्टरनेट अफ थिङ्ग्स (आईओटी) तालिमलाई थप सुदृढ गरी विद्यार्थीहरूलाई भविष्यको रोजगारीका लागि तयार गर्ने उद्देश्य रहेको जानकारी दिए ।

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले एआई, आईओटी, बिग डेटा, कोडिङ र प्रोग्रामिङमा तालिम प्रदान गर्दै आएको छ । विद्यार्थीहरूको छनोट एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानका आधारमा गरिएको सामसङले जनाएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा. डा. बज्राचार्यले नेपालमा यस्तो प्रतिष्ठित कार्यक्रम सञ्चालनका लागि सामसङसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताउँदै भविष्यको प्रविधि सिकाइको दायरा विस्तार गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ २२:५८