close

फोनपेमार्फत अर्को बैँक खातामा १ रुपैयाँ ट्रान्सफर गर्दा पनि किन लाग्छ १० रुपैयाँ शुल्क ?

टेकपाना टेकपाना

भदौ ५, २०८२ २३:५९

फोनपेमार्फत अर्को बैँक खातामा १ रुपैयाँ ट्रान्सफर गर्दा पनि किन लाग्छ १० रुपैयाँ शुल्क ?

काठमाडौँ । स्मार्टफोनको प्रयोग, इन्टरनेटको सहज पहुँच र विद्युतीय भुक्तानीका माध्यमले गर्दा आजको दिनमा बैँक नगएर फोनबाट सजिलै बैङ्किङ कारोबार गर्न सकिन्छ । मोबाइल बैङ्किङ एपमार्फत एक बैँकबाट अर्को बैँकमा पैसा पठाउने सुविधा निकै लोकप्रिय बनेको छ ।

तर, फोनपे मार्फत जतिसुकै पैसा पठाए पनि प्रति कारोबार १० रुपैयाँ शुल्क लाग्ने गरेको छ । जसले गर्दा सानो रकम पठाउँदा पनि १० रुपैयाँ नै तिर्नुपरेको भन्दै बेलाबखत सार्वजनिक स्तरबाट आलोचना पनि हुने गर्छ ।

फोनपेका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पारस कुँवरले यो शुल्कलाई 'कन्भिनियन्सको शुल्क'को रूपमा अर्थ्याए । उनले फोनपेको नेटवर्क प्रयोग गरेर भइरहेको अन्तर बैँक फन्ड ट्रान्सफरको औसत रकम १७-१८ हजार रुपैयाँ रहेको र एउटा व्यक्तिले महिनामा औसत चार वटाभन्दा बढी अन्तर बैँक फन्ड ट्रान्सफर नगरेको बताए । त्यसैले यो महँगो नभएको उनको तर्क छ ।

जब कि कनेक्ट आईपीएसले ५०० रुपैयाँसम्म अन्तर बैँक फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लिँदैन । ५०१ देखि ५००० रुपैयाँसम्म प्रति कारोबार ४ रुपैयाँ र ५००० रुपैयाँभन्दा माथि फन्ड ट्रान्सफर गर्दा प्रति कारोबार ८ रुपैयाँ शुल्क लिने गरेको छ । कुँवरले फन्ड ट्रान्सफरको बजार हिस्सा फोनपेबाट लिन एनसीएचएलले 'डिसरप्टिभ रणनीति' को रूपमा प्रतिस्पर्धामा उत्रिएर सस्तो शुल्क राखेको बताए ।

स्मार्ट-पेले भने ५०० रुपैयाँसम्म रकम पठाउँदा प्रति कारोबार २ रुपैयाँ, ५०१ देखि ५० हजार रुपैयाँसम्म ४ रुपैयाँ र ५० हजार रुपैयाँभन्दा माथिको अन्तर बैँक फन्ड ट्रान्सफरमा प्रति कारोबार ८ रुपैयाँ शुल्क लिने गरेको छ । फोनपेको १० रुपैयाँ शुल्कमाथि उठेको गुनासोमा कुँवरले व्यवसायीहरूले व्यावसायिक रूपमा राख्नुपर्ने मर्चेन्ट क्यूआर कोड नराखेर व्यक्तिगत खातामा कारोबार गर्ने परिपाटीका कारण समस्या देखिएको तर्क गरे । यदि व्यवसायमार्फत मर्चेन्ट क्यूआर कोड प्रयोग गरिएमा शुल्क नै नलाग्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैँकले मोबाइल एप्लिकेसनबाट प्रति दिन तीन लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न दिने गरी अधिकतम सीमा तोकेको छ । साथै सेवा प्रदायकहरूले प्रति कारोबार अधिकतम १० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैँकका अनुसार विगतमा अन्तर बैँक फन्ड ट्रान्सफरको सीमा नतोक्दा प्रति कारोबार ८० रुपैयाँसम्म शुल्क लाग्ने गरेको थियो । जुन पछि घटेर ३० रुपैयाँमा आएको र विद्युतीय भुक्तानीको सङ्ख्या बढेपछि अधिकतम १० रुपैयाँमा झारिएको हो ।

हाल नेपाल राष्ट्र बैँक ५०० रुपैयाँसम्मको अन्तर बैँक व्यक्तिगत ट्रान्सफरलाई नि:शुल्क बनाउने विषयलाई लिएर आन्तरिक छलफलमा छ । नियामकले कारोबार नि:शुल्क गर भन्दा भुक्तानी सेवा सञ्चालकहरूले वार्षिक मर्मत सम्भार (AMC) मा करोडौँ खर्च गर्नुपर्ने बाध्यताले अप्ठेरो स्थिति रहेको राष्ट्र बैँकका प्रवक्ता किरण पण्डितले बताए ।

कनेक्ट आईपीएसबाट कसरी गर्ने ५०० रुपैयाँसम्म निःशुल्क ट्रान्सफर ?

मोबाइल बैङ्किङमार्फत फन्ड ट्रान्सफर गर्न क्यूआर स्क्यान, सेन्ड मनी वा फन्ड ट्रान्सफर मध्ये कुनै एक विकल्प रोज्नुपर्छ । रकम ट्रान्सफर गर्ने प्रक्रिया अगाडि बढाएसँगै तपाईँले सामान्यतयाः तीन वटा विकल्प देख्न सक्नु हुन्छ; 

(१) फोनपे डाइरेक्टमार्फत मोबाइल नम्बर राखेर पैसा पठाउने

(२) फोन पे डाइरेक्टबाटै बैँक खाता नम्बर राखेर पैसा पठाउने 

(३) कनेक्ट आईपीएस मार्फत पैसा पठाउने ।

फोनपेबाट अर्को बैँकको खातामा चाहे तपाईँले १ रुपैयाँ पठाए पनि शुल्क भने १० रुपैयाँ नै लाग्ने गरेको छ । तर नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले यसका लागि तुलनात्मक रूपमा सस्तो दर रेट लागु गरेको छ ।

तर सुरुमा रकम ट्रान्सफरको प्रक्रिया अगाडि बढाउँदा सुरुमा डिफल्ट किसिमले फोनपेको सिस्टम आउँछ । किन भने प्रायः सबैजसो मोबाइल बैङ्किङ सिस्टम फोनपे समूहकै अर्को कम्पनीले बनाउने गर्छ । अब यस्तोमा कनेक्ट आईपीएसको निःशुल्क वा सस्तो सुविधा प्रयोग गर्न माथि दायाँ तर्फ (३) मा रहेको कनेक्ट आईपीएसको विकल्प रोज्नुपर्छ । 

पछिल्लो अध्यावधिक: भदौ ६, २०८२ १३:२९