मेटाले एआई पूर्वाधारका लागि ६ वर्षसम्म गुगल क्लाउड प्रयोग गर्ने, १४ खर्बको सम्झौता
भदौ ६, २०८२ १५:४९
काठमाडौँ । सर्च इन्जिनको दिग्गज कम्पनी गुगलले मेटासँग १० अर्ब डलर (करिब १४ खर्ब रुपैयाँ) बराबरको क्लाउड कम्प्युटिङ सम्झौता गरेको छ । यस मामिलामा जानकार एक स्रोतले बिहीबार समाचार एजेन्सी रोयटर्सलाई यो जानकारी दिएको हो । यो गुगलले हालै ओपनएआईसँग गरेको सम्झौतापछिको दोस्रो ठुलो सम्झौता हो ।
सम्झौताअन्तर्गत मेटाले छ वर्षसम्म गुगल क्लाउडको सर्भर, स्टोरेज, नेटवर्किङ र अन्य सेवा प्रयोग गर्नेछ । छलफल गोप्य भएकाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा स्रोतले उक्त जानकारी दिएको रोयटर्सले जनाएको छ ।
यो खबर मेटाका मालिक मार्क जकरबर्गले गएको जुलाईमा दिएको एक अभिव्यक्तिपछि आएको हो । जसमा उनले कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि विशाल डेटा सेन्टरहरू निर्माण गर्न सयौँ अर्ब डलर खर्च गर्ने बताएका थिए ।
गत महिना मात्र मेटाले आफ्नो वार्षिक पुँजीगत खर्चको पूर्वानुमानको तल्लो सीमालाई दुई अर्ब डलरले बढाएर ६६ अर्बदेखि ७२ अर्ब डलरको दायरामा पुर्याएको थियो । मेटाले एआई सञ्चालनका लागि आवश्यक विशाल पूर्वाधार निर्माणमा लगानी जुटाउन बाहिरी साझेदारहरू खोजिरहेको छ । यसका लागि उसले दुई अर्ब डलर बराबरको डेटा सेन्टर सम्पत्ति बिक्री गर्ने योजना बनाएको छ ।
यता ओपनएआईले गएको जुन महिनामा आफ्नो बढ्दो कम्प्युटिङ क्षमताको माग पूरा गर्न गुगलको मातृ कम्पनी अल्फाबेटको गुगल क्लाउड सेवा प्रयोग गर्ने खबर बाहिरिएको थियो । यसलाई एआई क्षेत्रका दुई प्रमुख प्रतिस्पर्धीहरूबिचको आश्चर्यजनक सहकार्यको रूपमा विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ६, २०८२ १६:४७
