काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो ‘एनटी टिभी’ नामक आईपीटिभी सेवा सञ्चालनका लागि नयाँ बोलपत्र (टेन्डर) प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । हाल सेवा सञ्चालन गरिरहेको कम्पनीसँगको विस्तारित ठेक्का सम्झौताको अवधि सकिन लागेकाले टेलिकमले नयाँ प्रक्रिया अगाडि बढाउन लागेको हो ।
टेलिकमले यसअघि सन् २०१९ को १० जुनमा आईपीटिभी सेवाका लागि बोलपत्र आह्वान गरेको थियो । उक्त प्रतिस्पर्धाबाट भियतनामको ‘भीएनपीटी टेक्नोलोजी’ र नेपाली कम्पनी ‘कलश’ को संयुक्त लगानी (जोइन्ट भेन्चर) छनोट भएको थियो ।
कम्पनीसँग टेलिकमले सन् २०१९ को अक्टोबर १४ मा पाँच वर्षका लागि ठेक्का सम्झौता गरेको थियो । सो अवधि गत वर्ष समाप्त भएपछि सम्झौतामा भएको व्यवस्थाअनुसार ठेक्काको म्याद डिसेम्बर २०२५ सम्मका लागि थप गरिएको थियो ।
टेलिकमले हालको साझेदार कम्पनीमार्फत आईपीटिभी, ओटीटी (ओभर-द-टप) प्लेटफर्म, सेट-टप बक्स तथा आवश्यक हार्डवेयर र सफ्टवेयर जडानको काम गराउँदै आएको छ ।
यसै सन्दर्भमा टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले हालको ठेक्काको म्याद नसकिँदै नयाँ प्रक्रिया सुरु गर्ने तयारी भइरहेको पुष्टि गरे । “हालको ठेक्काको अवधि डिसेम्बरसम्म मान्य छ । अब हामी नयाँ टेन्डर प्रक्रिया अघि बढाउने तयारीमा छौँ,” मानन्धरले भने ।
टेलिकमले भियतनामी र नेपाली कम्पनीको सहकार्यमा सन् २०२१ को जनवरीदेखि ‘एनटी टिभी’ सेवा औपचारिक रूपमा सुरु गरेको थियो ।
हालसम्म देशका ७७ ओटै जिल्लामा आफ्नो फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरिसकेको टेलिकमका एनटी टिभी ग्राहकहरूको सङ्ख्या यसै वर्षको असार मसान्तसम्ममा ६७ हजार ६९९ पुगेको छ । हाल यस सेवामार्फत १८५ भन्दा बढी टेलिभिजन च्यानलहरू हेर्न सकिन्छ ।
एनटी टिभीले आला कार्ट (ग्राहकले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने) मूल्य प्रणालीअनुसार २५० रुपैयाँमा बेसिक प्याकेज र ३६० रुपैयाँमा प्रिमियम प्याकेज प्रदान गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: भदौ ६, २०८२ १६:५१
