काठमाडौँ । भारतमा टिकटक फिर्ता हुन लागेको हल्ला चलेपछि यसको अभिभावक कम्पनी बाइटडान्स र भारतीय सूचना प्रविधि मन्त्रालय दुवैले खण्डन गरेका छन् । शुक्रबार केही समयका लागि टिकटकको वेबसाइट चलेपछि भारतमा यसको प्रतिबन्ध फुकुवा हुन लागेको अनुमान गरिएको थियो ।
टेकक्रन्चसँगको कुराकानीमा टिकटकका एक प्रवक्ताले भारत सरकारले लगाएको प्रतिबन्ध कायमै रहेको र देशमा टिकटकको पहुँच अझै पनि सम्भव नभएको स्पष्ट पारेका छन् । प्रवक्ताले ईमेलमार्फत भनेका छन्, “हामीले भारतमा टिकटकको पहुँच रिस्टोर गरेका छैनौं र भारत सरकारको निर्देशनको पालना गरिरहेका छौँ ।”
यसैगरी, भारतको सूचना प्रविधि मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा टेकक्रन्चलाई सरकारले आईटी ऐनको धारा ६९ए अन्तर्गत लगाइएको प्रतिबन्ध हटाउन कुनै पनि कदम नचालेको बताएका छन् ।
यो हल्ला शुक्रबार भारतका केही प्रयोगकर्ताले भीपीएन बिनै टिकटकको वेबसाइट खोल्न सकेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि फैलिएको थियो । यसैलाई आधार बनाएर भारतका केही प्रमुख सञ्चारमाध्यमले समेत टिकटक फिर्ता हुन लागेको समाचार प्रकाशित गरेका थिए ।
टेकक्रन्चका अनुसार यो प्राविधिक गडबडीका कारण भएको हो, जसलाई ‘नेटवर्क लेभल कन्फिग्युरेसन’ भनिन्छ । सन् २०२२ को सेप्टेम्बरमा पनि यस्तै घटना भएको थियो । त्यतिबेला केही इन्टरनेट सेवा प्रदायकले भूलवश टिकटकसहित अन्य प्रतिबन्धित साइटहरूलाई अनब्लक गरेका थिए ।
भारत सरकारले सन् २०२० को जुनमा टिकटकसहित दर्जनौं चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता टिकटक भारतमा आधिकारिक रूपमा बन्द छ ।
पछिल्लो अध्यावधिक: भदौ ७, २०८२ १३:८
