एप्पलको आफ्नै गल्तीले लिक भयो आईफोन १७ सार्वजनिक हुने मिति, सेप्टेम्बर ९ पक्का
भदौ ७, २०८२ १८:४४
काठमाडौँ । सामान्यतया आफ्ना उत्पादनहरूका बारेमा गोप्य रहने एप्पल कम्पनीले यसपटक भने ‘गल्ती’ गरेको छ । कम्पनीले आगामी आईफोन १७ लन्च इभेन्टको मिति ९ सेप्टेम्बर २०२५ आफैंले सार्वजनिक गरेको छ । यो जानकारी एप्पल टिभी एपमा गल्तीले एउटा निमन्त्रणा थपिएपछि बाहिरिएको हो । यद्यपि उक्त निमन्त्रणा तुरुन्तै मेटाइएको थियो । तर त्यो विश्वसामु आउनुअघि नै धेरैले यसलाई देखिसकेका थिए ।
यसअघि पनि विभिन्न हल्लाहरूमा यो मिति उल्लेख गरिएको थियो । तर अब एप्पल आफैंले यसलाई पुष्टि गरेको छ ।
एप्पल टिभी एपमा देखिएको निमन्त्रणाको डिजाइन पुरानो म्याकबुक एयरको वालपेपरसँग मिल्दोजुल्दो थियो । यसले यस वर्ष लन्च हुने अनुमान गरिएको नयाँ सुपर-स्लिम आईफोन १७ एयरको संकेत दिएको मानिएको छ । जसले आईफोन १७ प्लसको स्थान लिनेछ ।
आईफोन १७ सिरिजमा बेस मोडेल आईफोन १७, आईफोन १७ एयर, आईफोन १७ प्रो र प्रो म्याक्स समावेश हुने चर्चा छ । प्रो मोडेलहरूमा पछाडिको भागमा ठुलो डिजाइन परिवर्तन हुने अनुमान गरिएको छ ।
नयाँ फोनहरूसँगै लन्च इभेन्टमा एप्पल वाच सिरिज ११ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । साथै एप्पलले आफ्नो बलियो र प्रिमियम स्मार्टवाच, एप्पल वाच अल्ट्रा ३ पनि प्रस्तुत गर्ने चर्चा छ ।
आईफोन १७ प्रोका लागि आकर्षक सुन्तला रंगसहित केही नयाँ रंगहरूमा फोन आउने सम्भावना छ । साथै, आईओएस २६ को नयाँ ‘लिक्विड ग्लास’ लुक पनि समावेश हुनेछ । आईफोन १७ फोनहरूको मूल्य लगभग ५० डलरले बढ्न सक्नेछ । तर आईफोन १७ प्रो मा १२८ जीबी स्टोरेज अप्सन हटाएर २५६ जीबीबाट सुरु गरिने भएकाले यो मूल्यवृद्धि त्यति डरलाग्दो नलाग्ने अपेक्षा गरिएको छ ।
आईफोन १७ सिरिजले ग्यालेक्सी एस २५ लाइनअप र भर्खरै सार्वजनिक गरिएको पिक्सेल १० सिरिजसँग २०२५ को उत्कृष्ट फ्ल्यागशिपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
पछिल्लो अध्यावधिक: भदौ ७, २०८२ १८:४८
