close

टेकपाना फ्याक्टचेकः मन्त्रीको गाडीले किचेर नभई उनकै कारण करेन्ट लागेर गएको हो दलित बालकको ज्यान

गोपाल साउद गोपाल साउद

भदौ ८, २०८२ १५:३४

टेकपाना फ्याक्टचेकः मन्त्रीको गाडीले किचेर नभई उनकै कारण करेन्ट लागेर गएको हो दलित बालकको ज्यान

काठमाडौँ । पछिल्ला केही दिनदेखि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले ‘हिँड्ने साइतमा बाटो काटेको’ निहुँमा गाडीले कुल्चेर बैतडीका एक दलित युवकको हत्या गरेको दाबीसहितका पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ती पोस्टमा घटना सार्वजनिक गरेमा मन्त्री पालले मृतक बालककी आमा एकल महिलालाई बलात्कार गरी हत्या गर्ने धम्की दिएको दाबी समेत गरिएको छ । साथै गाडीले कुल्चेर हत्या गरेपछि घटना मिलाउन मन्त्री पालले वडा अध्यक्ष मार्फत मृतक बालककी आमाको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिदिएको पनि उल्लेख छ ।

टेकपाना फ्याक्टचेकले गरेको तथ्य-जाँच अनुसार मन्त्री पालले गाडीले कुल्चेर बैतडीका दलित युवकको हत्या गरेको दाबी भ्रामक देखियो । त्यसैगरी घटना सार्वजनिक गरेमा पीडितकी आमालाई बलात्कार गरी मार्ने धम्की दिएको भन्ने दाबी पनि गलत छ । यद्यपि मन्त्री सुरेन्द्र पालको तर्फबाट मृतक बालककी आमाको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको भने पाइएको छ ।

वास्तवमा मन्त्री पालले आफ्नो घरअगाडि पेट्रोल पम्प बनाउनका लागि अवैध रूपमा खोलाबाट बालुवा उत्खनन गरी किनारामा असुरक्षित तवरले बिजुलीको तारमुनि थुपारेका थिए । सोही बालुवाको थुप्रोमा खेल्ने क्रममा करेन्ट लागेर ती बालकको मृत्यु भएको हो । यही विषयलाई अतिरञ्जित गर्दै जातीय छुवाछुतको प्रसङ्ग जोडेर भ्रामक तथा अतिरञ्जित बनाइएको पुष्टि हुन्छ ।

दाबी

खगेन्द्र सुनारले २१ अगस्ट २०२५ (५ भदौ २०८२) को दिउँसो १:४१ बजेको समयमा सुदूरपश्चिम प्रदेशका भौतिक मन्त्री सुरेन्द्रबहादुर पालले दलित बालकको हत्या गरेको आरोप लगाउँदै फेसबुकमा एक पोस्ट गरे । उक्त पोस्टमा लेखिएको छ, “सुदुर पश्चिमका भौतिक मन्त्री सुरेन्द्र बहादुर पालले हिड्ने साईतमा दलितले बाटो काटेको भन्दै गाडिले किचेर बैतडीमा एक दलित बच्चा किरण कोलिको हत्या गरेको छ । मन्त्रीको गाडी छोएको भन्दै ड्राइभरले हकारेर लखेटेका थिए । भाग्दै गरेको बच्चालाई यो डुमलाई ठोक भन्दै रक्सिले मातेका मन्त्रीले गाडी हाँकेर किचेका थिए । गाडी छोराले चलाएको थियो । हत्या सार्बजनिक गरे बलात्कार गरेर मार्ने पीडित एकल महिलालाई धम्कि दिएका छ्न । घटना मिलाउन ५ लाख पीडितको खातामा जबरजस्ती हालिदिएका छ्न । प्रहरीले मुद्दा लिन मानेको छैन ।” उक्त पोस्ट तथा त्यसको अर्काइभ र पोस्टको स्क्रिनशट । 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले यस विषयको अनुसन्धान अगाडि बढाउन खगेन्द्र सुनारका अन्य पोस्ट समेतको विश्लेषण गर्‍यो । उक्त पोस्ट सार्वजनिक गरेको करिब नौ घण्टापछि अर्थात् २१ अगस्ट २०२५ (५ भदौ २०८२) को राति १०ः१९ मिनेटमा मन्त्री पाल र मृतक बालकको तस्बिरसँगै खातामा पाँच लाख रुपैयाँ पठाएको स्क्रिनशटसहित उनले अर्को पोस्ट फेसबुकमा सार्वजनिक गरेको पाइयो । उक्त पोस्टमा भनिएको छ, “बैतडीका किरण कोलिलाई दलित भएकै कारण सुदुर पश्चिमका भौतिक मन्त्री सुरेन्द्र बहादुर पालले नै मारेका हुन । उनकै कारण बच्चा मृत्यु भएको हो । घटना दबाउन ५ लाख जबरजस्ती खाता हालेको प्रमाण यहाँ छ । यो गलत भए म खगेन्द्र सुनारलाई कारबाही गर हैन भने यो सामन्तीलाई कारबाही गर । घटना दबाउने CDO र DSP को पालो भोलि !” पोस्टआर्काइभ लिङ्क । तल हेर्नुहोस् पोस्टको तस्बिर । 

उनले २२ अगस्ट २०२५ (६ भदौ २०८२) को बिहान ११ः३१ बजे तिर पनि मन्त्री पालले दलित बच्चाको हत्या गरेको भन्दै थप पोस्ट फेसबुकमा सार्वजनिक गरेका छन् । जसमा उनले उक्त घटना हुँदा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल र डीएसपी मकेन्द्रकुमार मिश्र पनि साथमा रहेको र मिलेमतोमा घटनालाई दबाउन खोजेको आरोप लगाएका छन् । उक्त पोस्टमा सुनारले लेखेका छन्, “रक्सिले मातेका सुदुर पश्चिमका भौतिक मन्त्री सुरेन्द्र बहादुर पालले नै दलित बच्चाको हत्या गरेको हो । घटना हुदाको बखत CDO पुण्यबिक्रम पौडेल र DSP मकेन्द्र कुमार मिश्र पनि साथ मै थिए । घटना दबाउन CDO र DSP ले नै गम्भीर घाईते भएको बच्चालाई बालुवाको थुप्रो लगेर करेन्ट लागेर मरेको भन्ने बनाए । मन्त्रीले मुद्दा दर्ता गरे तिमीहरूलाई पनि जाक्छु भने पछि CDO-DSP ले घटना दबाउन ५ लाख जबरजस्ती पीडित खाता हालेर लास जलाउन मद्दत गरेका थिए । पीडित दलित एकल महिला हुन । माथी उल्लेखित घटना झुठो भए खगेन्द्र सुनार जेल जान तयार छ ।पोस्ट तथा अर्काइभ लिङ्क र तल त्यसको स्क्रिनशट। 

 

२२ अगस्ट २०२५ (६ भदौ २०८२) कै दिउँसो २:१७ मा आफूले आरोप लगाएका मन्त्री पालसँगै प्रमुख जिल्ला अधिकारी र डीएसपीको फोटो सार्वजनिक गर्दै उनले अर्को पोस्ट गरेका छन् । पोस्ट तथा अर्काइभ अनि तल त्यसको स्क्रिनशट ।

 

खगेन्द्र सुनारले जस्तै मन्त्री पालको गाडी छोएको निहुँमा बालकको हत्या गरिएको दाबी सहितका अनेकौँ पोस्ट फेसबुकमा भेटिए । भ्वाइस अफ दलित नामक एक फेसबुक पेजले रिल्स बनाएर फेसबुकमा राखेको छ । जसको क्याप्सनमा लेखिएको छ, ‘मन्त्री  सुरेन्द्र बहादुर पालको गाडि छोएको निउमा दलित बालकको हत्या। जबर्जस्ती खातामा 5 लाख हालेर घटना दबाईयो  ’ हेर्नुहोस् उक्त रिल्स अर्काइभ अनि त्यसको स्क्रिनशट

यस्तै दाबी सहितका पोस्ट अनेकौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेका छन् । तर अनुसन्धानका क्रममा मन्त्रीकै गाडीले ठक्कर दिएका कारण बालकको मृत्यु भएको दाबी खगेन्द्र सुनारभन्दा अघि अरू कसैले गरेको पाइएन । यद्यपि बालकको मृत्यु हुनुमा मन्त्री पाल दोषी रहेको खबर भने त्यसअघि नै फैलिएको देखिएको छ । 

बालकको मृत्यु भएकै दिन २ अगस्ट २०२५ (१७ साउन २०८२)मा राष्ट्रिय स्वतन्त्र पार्टीको डिलासैनी गाउँपालिका, बैतडीका सभापति करणसिँह बोहराले एक प्रेस विज्ञप्ति निकालेको पाइयो । जसमा बालक किरण कोलीको बन्नीगाड खोला घाटाबगर खेलमैदान नजिकैको विद्युतीय लाइनमा करेन्ट लागेर घटना स्थलमै निधन भएको प्रति दुःख व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्रबहादुर पाललाई उक्त घटनासँग जोडिएको छ । 

विज्ञप्तिमा भनिएको छ- 

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय सुरेन्द्र बहादुर पाल ज्यूको प्रत्यक्ष संरक्षणमा कानुन र विधि विपरीत चमेलिया नदीमा JCB प्रयोग गरी साउन महिनाको वर्षाको सिजनमा पनि गैरकानुनी तरिकाले बालुवा उत्खनन गरिएको थियो । सो उत्खननका कारण  विद्युत्‌को लाइन मुनी बालुवा थुपारिएको थियो र कारणवश बालुवाको थुप्रोको कारण विद्युत् प्रवाहलाई सहजै जोखिम परेकाले उक्त अवस्थामा किरण कोलीको ज्यान गएको हो । हाम्रो चिन्ता यतिमा सीमित छैन कि उक्त घटनापछि रातारात बालुवा हटाउने कार्य लगायत पीडितलाई हरेक प्रलोभन र पाँच लाखसम्मको कुरामा सम्झौता गर्न दबाब दिएको कुरा सार्वजनिक रूपमा आएको छ । जसले गर्दा सुशासन र विधिको शासनमा आँच र कानुनी राज्यकै खिलाप गरेको कुरा प्रस्ट हुन्छ । यस घटनाको घोर निन्दा गर्दै तत्काल निष्पक्ष रूपमा सत्यतथ्य गराई दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकाय तथा सरकारसँग जोडदार माग गर्दछौँ । " तल हेर्नुुहोस्, रास्वपाको विज्ञप्ति । 

घटनाको भोलिपल्ट ३ अगस्ट २०२५ (१८ साउन २०८२) मा नेपाली काँग्रेसको डिलासैनी गाउँपालिका कार्य समितिले  पनि रास्वपाकै जस्तो ब्यहोरासहित विज्ञप्ति निकालेको छ । 

खोजीकै क्रममा आफूलाई दलित अभियन्ता बताउने मनोज जयगडीले मृतक बालककी आमा राजमती कोली र अङ्कल तुलाराम कोलीसँग गरेको टेलिफोन कुराकानीको भिडिओ युट्युबमा राखेका छन् ।  (उक्त टेलिफोन कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस्) २२ अगस्ट २०२५ (६ भदौ २०८२) मा राखिएको उक्त भिडिओको टेलिफोन सम्वादमा राजमतीले भनेकी छिन्, “बच्चा खेल्नको लागि खोलातिर गएको थियो । त्यो बच्चाहरू सधैँ खेल्ने ठाउँ हो । मन्त्रीजीको बालुवा थुपारिराखेको थियो । बालुवा कसरी थुपारिएको छ कि बिजुलीको पोलमा माथि छुने हिसाबको थियो । बच्चालाई सबै थाहा हुने भएन । मुद्दा हाल्न हामी बैतडी (पाटन) पनि गयौँ । तर हाम्रो उजुरी दर्ता गरिदिएन, साँच्चिकै सुरेन्द्र पालले बालुवा थुपारेको हो भन्ने प्रमाण के छ भनेर । मेरो छोरो बितेको छ । गलत सुरेन्द्र पालको हो । सुरेन्द्र पालले मेरो खातामा पाँच लाख हालिदिएको छ । उसको गल्ती थिएन भने त्यो पैसा मेरो खातामा किन हाल्यो ? मेरो बच्चाले न्याय पाउनु पर्‍यो । सुरेन्द्र पालका कारण करेन्ट लागेर मेरो बच्चा बितेको छ । करेन्ट लाग्दा मेरो बच्चालाई कस्तो भयो होला सर ?”

बलात्कार गरेर हत्या गर्ने धम्की दिएको विषयमा सोधिएको प्रश्नमा राजमतीले भनेकी छिन्ः “त्यो त हैन सर । त्यो झुटा हो सर ।”

मृतक बालकका अङ्कल तुलारामले सोही कुराकानीमा भनेका छन्, “प्रहरीले हाम्रो मुद्दा गर्न मानेन । अस्ति जिल्ला प्रशासनमा जाँदा पाटन जान भने । पाटन जाँदा 'सुरेन्द्र पालले हानेर मारेको त हैन । ऋषि (जेसीबी चालक) को नाममा मुद्दा ल्याऊ, हामी दर्ता गरिदिन्छौँ, यदि त्यसको (मन्त्री पाल) को नाम छ भने हामी दर्ता गर्दैनौँ' भन्ने जवाफ दिए । अनि हामी फर्केर आयौँ । आज ३ दिन भयो, हामीले उजुरी हुलाकबाट पाटन (प्रहरी) पठाएको ।

हेर्नुहोस्, राजमतीले मन्त्री सुरेन्द्र बहादुर पाल, उनका छोरा मुकेशबहादुर पाल र वडाध्यक्ष रघुबिर बोहरालाई विपक्षी बनाएर हुलाकमार्फत पठाएको उजुरी । 

मृतक बालककी आमा राजमती कोलीले उजुरीमा पनि मन्त्री पालले विद्युत्‌को हाइटेन्सन लाइनमा टच हुने गरी दुई वटा बालुवाको ढिस्को थुपारी राखेको र त्यसको वरपर कुनै प्रकारको तार जालीले घेरा नहाली असुरक्षित रूपमा बालुवा थुपारी राखेको अवस्थामा गाउँघरका अन्य बालक सहित आफ्नो छोरा खेल्नको लागि उक्त चौलानी बगरमा राखेको बालुवामा जाँदा करेन्ट लागेर मृत्यु भएको उल्लेख गरेकी छिन् । जाहेरी निवेदनमा मन्त्री पाल र उनका छोराको लापर्बाहीले खुला रूपमा ठुलो विद्युत्‌को हाइटेन्सन लाइनको तल बालुवा थुपार्दा करेन्ट लागि मानिसको ज्यान जानसक्छ भन्ने जानाजानी कसुर गरेको र वडाध्यक्ष घटनाको विषयमा कानुनी अनुसन्धान गर्न सहयोग गर्नुपर्ने व्यक्ति भए पनि उनले कसुरलाई दबाउन मतियार भएर आफ्नो बैँक खातामा अपराध लुकाउन दबाब दिन पैसा राखेको र मुद्दा मिलाउन कसुरवालाले चौतर्फी धाकधम्की दिएको भनिएको छ । 

तल हेर्नुहोस्, मृतक बालककी आमाको बैँक खातामा वडा अध्यक्ष रघुबिर बोहराले रकम जम्मा गरेको भौचर । 

 

तर उजुरीमा पनि दलित भएकै कारण गाडीले कुल्चेर मारेको, बलात्कार र हत्याको धम्की दिएको विषय कतै उल्लेख छैन । मन्त्री पालले आफू बालकको मृत्यु भएको समयमा बैतडीमा नरहेको विभिन्न सञ्चार माध्यमलाई बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा मन्त्री पालले घटनास्थलमा सङ्कलित बालुवा आफ्नो हुन सक्ने बताएका छन् । “त्यहाँ काम भइरहेको हुन सक्छ । तर, काम गर्ने टिम छुट्टै भएकाले मलाई सबै जानकारी नहुन सक्छ,” कान्तिपुरले उनको भनाइ उद्धृत गरेको छ । उनी अघिल्लो दिन बेलुका करिब ७ बजेतिर धनगढीमै भएको पुष्टि हुने एक फेसबुक पोस्ट भेटिएको छ । उक्त पोस्ट यहाँ क्लिक गरेर हेर्न सक्नु हुन्छ । करेन्ट लागेरै बालकको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट गोकुलेश्वर अस्पताल दार्चुलाले सार्वजनिक गरेको छ ।  तल हेर्नुहोस्, अस्पतालको पोस्टमार्टम रिपोर्ट । 

 

घटनास्थलको विश्लेषणः 

गुगल म्यापमा घटनास्थल र वरपरको क्षेत्र

पश्चिमबाट पूर्वतिर बगेको चमेलिया नदीमा दक्षिणतिरबाट आएको बन्निगाड खोला मिसिएको छ । खोला मिसिएको विन्दुबाट दक्षिण पूर्वतर्फ करिब ६६ मिटरको दुरीमा मन्त्री पालको बालुवा थुपारिएको छ । त्यही हो, बालकको मृत्यु भएको घटना स्थल । घटनास्थल मृतक बालकको घरबाट दक्षिण-पूर्वतिर करिब ४०० मिटरको दुरीमा छ भने घटनास्थलबाट मन्त्री पालको घर करिब ७०० मिटर दक्षिण-पूर्वतर्फ पर्छ । मृतक बालको घर मन्त्री पालको घरबाट करिब १.५ किमि (सडक दुरी) पश्चिमतर्फ छ, बिचमा त्यही बन्निगाड खोला छ । दुवै गाउँलाई गोकुलेश्वरबाट अपी हिमालतर्फ जाने बाटोले जोडेको छ ।  चमेलिया नदीले उत्तरतर्फको दार्चुलालाई बैतडी जिल्लालाई छुट्याएको छ । 
दार्चुलातर्फबाट घटनास्थलतर्फ हेर्दा देखिने दृश्य

 

मन्त्री पालको पेट्रोलपम्प निर्माणका लागि थुपारेको बालुवा र माथिबाट गएको विद्युत् लाइन

 

गुगल स्ट्रिट भ्युमा मन्त्री पालको घर ।

 

 

गुगल स्ट्रिट भ्युमा मन्त्री पालको घर छेउमा रहेको उनकै जेसीबी । 

 

गुगल स्ट्रिट भ्युमा मन्त्रि पालको घरअघिको सडक पारिपट्टि मन्त्री पालकै पेट्रोल पम्प निर्माण स्थल । 

 

घटनापछि विद्युत्‌को तार छुने गरी राखिएको बालुवा हटाइएको छ । हेर्नुहोस्, बालुवा हटाउन प्रयोग गरिएको जेसीबी सहितको तलका तस्विर । 

अनुसन्धानका क्रममा बर्खा याममा यसरी बालुवा उत्खनन गर्ने कार्य अवैध रहेको पाइयो । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ ले बर्खाको बेला बालुवा उत्खननमा रोक लगाएको छ । जसअनुसार बालुवा उत्खननका लागि हरेक वर्ष नयाँ ठेक्का लाग्ने र आर्थिक वर्षको अन्त्यसँगै ठेक्का सम्झौताको अवधि पनि सकिन्छ । कानुनी रूपमा यस्तो ठेक्का पाएको व्यक्ति वा कम्पनीले पनि असारमसान्तपछि अर्को ठेक्का नपाएसम्म उत्खनन गर्न पाउँदैनन् । बरु आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको बालुवा, ढुङ्गा, गिट्टी जफत गरी सम्बन्धित स्थानीय तहले लिलाम बिक्री गर्न सक्छ । 

तल हेर्नुहोस्, मापदण्डको ७ (५) मा रहेको व्यवस्था । 

दाबी

  • सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले ‘हिँड्ने साइतमा दलितले बाटो काटेको’ निहुँमा गाडीले कुल्चेर बैतडीका बालक किरण कोलीको हत्या गरे ।

  • मन्त्री रक्सीले मातेका थिए र उनले नै चालकलाई ‘यो डुमलाई ठोक’ भन्दै गाडी हाँकेर किचेका थिए ।

  • घटना सार्वजनिक गरेमा मन्त्री पालले पीडितकी एकल महिला आमालाई बलात्कार गरी हत्या गर्ने धम्की दिए ।

  • घटना मिलाउन मन्त्रीले मृतक बालककी आमाको खातामा जबरजस्ती पाँच लाख रुपैयाँ जम्मा गरिदिए ।

  • प्रहरीले घटनाको मुद्दा लिन मानेन ।

 

दाबीकर्ता

खगेन्द्र सुनार (फेसबुकमा सिलसिलेवार रूपमा पोस्ट गर्ने अकाउन्ट), भ्वाइस अफ दलित नामक फेसबुक पेज लगायत अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य

  • मृत्युको कारण: बालक किरण कोलीको मृत्यु गाडीले कुल्चेर नभई करेन्ट लागेर भएको हो । दार्चुलाको गोकुलेश्वर अस्पतालले सार्वजनिक गरेको पोस्टमार्टम रिपोर्टले पनि मृत्युको कारण करेन्ट लाग्नु भएको देखाएको छ ।

  • बालक मृत्युमा मन्त्री पालको संलग्नता: मन्त्री पालले अवैध रूपमा खोलाबाट बालुवा उत्खनन गरी बिजुलीको हाइटेन्सन लाइनको तार मुनि असुरक्षित तवरले थुपारेका थिए । सोही बालुवाको थुप्रोमा खेल्न जाँदा बालकलाई करेन्ट लागेको हो ।

  • आमाको भनाइ: मृतक बालककी आमा राजमती कोलीले आफ्नो छोराको मृत्यु गाडीले कुल्चेर नभई बालुवाको थुप्रोबाट करेन्ट लागेर भएको बताएकी छिन् । उनले आफूलाई बलात्कार र हत्याको धम्की दिएको कुरालाई ‘झुटा हो’ भनेर खण्डन गरेकी छिन् । तर आफ्नो छोराको मृत्युमा असुरक्षित तवरमा विद्युत् लाइन मुनी बालुवा थुपारेका कारण मन्त्री पाल र उनका छोरा जिम्मेवार रहेको आरोप लगाएकी छिन् ।
    - आर्थिक लेनदेन: मन्त्री सुरेन्द्र पालको तर्फबाट मृतक बालककी आमाको खातामा ५ लाख रुपैयाँ जम्मा गरिएको हो ।
    - कानुनी प्रक्रिया: पीडित परिवारले मन्त्री पाल, उनको छोरा र वडाध्यक्ष विरुद्ध लापर्बाहीका कारण मृत्यु भएको भन्दै हुलाकमार्फत जाहेरी दिएका छन् । जाहेरीमा गाडीले कुल्चेको वा बलात्कारको धम्की दिएको उल्लेख छैन ।
     

निष्कर्ष 

मन्त्री सुरेन्द्रबहादुर पालले गाडीले कुल्चेर दलित बालकको हत्या गरेको भन्ने दाबी भ्रामक हो । मन्त्रीले पीडितकी आमालाई बलात्कार गरी हत्या गर्ने धम्की दिएको दाबी पनि झुटो छ । यसलाई पीडितकी आमाले नै खण्डन गरेकी छिन् । वास्तविकतामा मन्त्री पालको लापर्बाहीका कारण (अवैध रूपमा उत्खनन गरी असुरक्षित तवरले बिजुलीको तारमुनि बालुवा थुपार्दा) करेन्ट लागेर बालकको मृत्यु भएको हो । यही घटनालाई अतिरञ्जित गरी जातीय रङ्ग दिएर सामाजिक सञ्जालमा भ्रम फैलाइएको हो । यद्यपि, घटना ढाकछोप गर्न मन्त्रीको तर्फबाट पीडितको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको कुरा भने सत्य हो ।

पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ १६:३२