close

सार्वजनिक यातायात महासंघले सवारीधनीलाई भन्यो- ‘अव्यवहारिक’ इम्बोस्ड प्लेट जडान नगर्नुहोस्

टेकपाना टेकपाना

भदौ ९, २०८२ १६:३२

सार्वजनिक यातायात महासंघले सवारीधनीलाई भन्यो- ‘अव्यवहारिक’ इम्बोस्ड प्लेट जडान नगर्नुहोस्

काठमाडौँ । यातायात व्यवसायीहरूको छाता संगठन सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले आगामी १ असोजदेखि अनिवार्य गर्न लागेको इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सवारीधनीहरूलाई सार्वजनिक आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले सरकारको निर्णय अव्यवहारिक, राष्ट्रिय हितविपरीत र यातायात व्यवसायीको हित प्रतिकूल रहेको भन्दै यसमा रहेका त्रुटिहरू नसच्याएसम्म जडान प्रक्रियामा सहभागी नहुन आग्रह गरेको हो ।

महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको निर्णयले ‘नेपालको पाण्डु लिपि (नेपाली भाषा) नै लोप हुने र राष्ट्रिय स्वाभिमानमाथि आँच आउने’ भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, “देशमा कुनै पूर्वाधार बिना, पूर्वाधार सम्पन्न देशको प्रविधि भित्र्याई आमनागरिक र व्यवसायीमाथि ठोस आधारबिनाको थप आर्थिक भार हुने गरी विदेशी ठेकेदार कम्पनीसँगको सहकार्यमा सरकारी पक्षबाट एक पक्षीय रूपमा... यो निर्णय भएको छ ।”

महासंघले यो प्रणाली लागु हुँदा नेपाली नागरिकको सम्पूर्ण गोप्य विवरण विदेशीको नियन्त्रणमा जाने, राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने र राष्ट्र नै कमजोर हुने गम्भीर खतरा औंल्याएको छ ।

महासंघले सार्वजनिकसँगै पर्यटकीय, ढुवानी र निजी सवारीसाधनका धनीहरूलाई समेत विवादास्पद विषयहरूको संशोधन र सुधार नभएसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न अनुरोध गरेको छ ।

सरकार र सम्बन्धित निकायलाई संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै महासंघले जबरजस्ती प्लेट जडान गर्न खोजिए उत्पन्न हुने परिस्थिति र त्यसपछिका विरोध तथा दबाबका गतिविधिका लागि यातायात मन्त्रालय र मातहतका निकायहरू नै जवाफदेही हुनुपर्ने चेतावनीसमेत दिएको छ ।

 

 

पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १७:६