काठमाडौँ । बर्दियाको नेपाल-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ४८ लाख रुपैयाँ बराबरको ठुलो परिमाणको चिनियाँ इलेक्ट्रोनिक भेप (विद्युतीय चुरोट) बरामद गरेको छ । मधुवन नगरपालिका-५ स्थित फुलराम चोकबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा उक्त भेप बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरका अनुसार, विशेष सूचनाको आधारमा खटिएको गस्ती टोलीले आइतबार राति करिब १ बजे उक्त परिमाणको भेप बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको नेतृत्वमा रहेको टोलीले दुई ओटा साइकलमा भारततर्फ लैजाँदै गरेको अवस्थामा आठ ओटा कार्टुनमा राखिएको एक हजार ९२० थान ‘स्पेसमेन एसपी४००००’ (SPACEMAN SP40000) नामक चिनियाँ भेप फेला पारेको थियो ।
गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथ भेप ल्याउने व्यक्तिहरू साइकल र सामान छाडेर फरार भएका थिए । फरार भएका तस्करहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको भेप आवश्यक कानुनी कारबाहीका लागि छोटी भन्सार कार्यालय, गुलरियामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पछिल्लो समय सीमा क्षेत्रमा विद्युतीय चुरोटको तस्करी बढ्दो क्रममा रहेको पाइएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १८:४४
