close

एप स्टोरको टपमा ग्रोकलाई नराखेको भन्दै मस्कको एक्सएआईले हाल्यो एप्पल र ओपनएआई विरुद्ध मुद्दा

टेकपाना टेकपाना

भदौ १०, २०८२ १८:३४

एप स्टोरको टपमा ग्रोकलाई नराखेको भन्दै मस्कको एक्सएआईले हाल्यो एप्पल र ओपनएआई विरुद्ध मुद्दा

काठमाडौँ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआईले एप्पल र ओपनएआई विरुद्ध मुद्दा दायर गरेको छ । रोयटर्सका अनुसार प्रतिद्वन्द्वी एआई कम्पनीहरूलाई एप स्टोरमा उचित मौका पाउनबाट रोक्नको लागि अवैध रूपमा षड्यन्त्र गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

ओपनएआईले ओपन एआईको एकाधिकार कायम राख्न र एक्स र एक्सएआई जस्ता आविष्कारकहरूलाई प्रतिस्पर्धाबाट रोक्न बजारलाई बन्द गरेको आरोप लगाएको छ । यसका साथै एप्पल र ओपनएआईले एक्सएआईका उत्पादनहरूलाई एप स्टोरमा दबाउन षड्यन्त्र गरिरहेका आरोप पनि एक्स एआईको छ । उसले भनेको छ, “यदि ओपनएआईसँगको विशेष सम्झौता नभएको भए एप्पलसँग एक्स एप र ग्रोक एपलाई आफ्नो एप स्टोरमा अझ प्रमुख रूपमा प्रस्तुत नगर्नुको कुनै कारण हुने थिएन ।”

एप्पलले ओपनएआईको च्याटजीपीटीलाई आफ्ना विभिन्न उत्पादनहरूमा एकीकृत गरेको छ । तर यो साझेदारी सुरु भएदेखि डिपसिक र पर्प्लेक्सिटी जस्ता प्रतिद्वन्द्वी एआई एपहरू एप स्टोरको शीर्षमा पुगेको सीएनबीसीले जनाएको छ । जसलाई कुनै प्रतिस्पर्धा विरोधी अभ्यासहरू नभएको सङ्केतको रूपमा चर्चा गरिएको छ । मस्कले एप्पल र ओपनएआईका बारेमा यस्तै आरोप लगाएको र कानुनी कारबाहीको धम्की दिएको केही हप्तापछि यो मुद्दा दर्ता भएको हो ।

एप्पलले भने हालसम्म यस उजुरीलाई लिएर कुनै प्रतिक्रिया दिएको छैन । ओपनएआईका सीईओ साम अल्टम्यानले मस्कको मूल आरोपको जवाफ दिँदै यसलाई असाधारण दाबी भनेका छन् ।

 

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८२ १८:५५