काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवनमा आधारित पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ को अडियो भर्सन आगामी सोमबार सार्वजनिक हुने भएको छ । म्युजिक नेपालले हालै युट्युबमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएको हो ।
“नेपालका गौरव, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुनको जीवन भोगाइ, संघर्ष र राष्ट्र निर्माणको यात्रामा संगालिएका अनुभूतिलाई समेटिएको प्रेरक पुस्तक ‘महावीर पुन’ को अडियो बुक, उहाँकै आवाजमा, यही आउँदो भाद्र १६ गते २०८२ मा ‘मोमो’ एपमा सार्वजनिक हुँदैछ,” म्युजिक नेपालले भनेको छ ।
संस्थाले थप स्पष्ट पार्दै भनेको छ, “यो पुस्तक केवल एक व्यक्तिको कथा मात्र होइन, यो नेपालकाे गाउँदेखि राष्ट्रिय आविष्कार केन्द्रसम्मको यात्राको प्रतिविम्ब हो । यसले हरेक नेपालीलाई ‘हामी पनि सक्छौं’ भन्ने प्रेरणा र आत्मविश्वास दिनेछ भन्ने हामीले विश्वास लिएका छौं ।”
यो अडियोबुक म्युजिक नेपालद्वारा सञ्चालित मोमो एपमार्फत सार्वजनिक गरिनेछ । अडियोबुकमा महावीर पुनले नै वाचन गरेका छन् ।
पुनले पाँच महिनाअघि नै रेकर्ड कार्य सम्पन्न भएको जानकारी दिएका थिए । यो पुस्तक रेकर्ड गर्न पुनलाई ११ घण्टा लागेको थियो । सार्वजनिक हुने अडियोबुक कति लामो हुन्छ भन्ने खुलाइएको छैन । यस अडियोबुकको मूल्य भने अझै तोकिएको छैन । यद्यपि, मोमो एपमा उपलब्ध अन्य अडियोबुकको मूल्य ३०० रुपैयाँ रहेकाले यसको मूल्य पनि सोही हाराहारीमा हुने अनुमान गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ ११:४६
