close

१३ वर्षमा ३०१ भ्युज मात्र भएको युट्युबको चर्चित भिडिओ !

टेकपाना टेकपाना

भदौ १४, २०८२ १३:५७

१३ वर्षमा ३०१ भ्युज मात्र भएको युट्युबको चर्चित भिडिओ !

 

काठमाडौँ । यदि तपाईं नियमित रूपमा युट्युब प्रयोग गर्नुहुन्छ र नयाँ तथा लोकप्रिय भिडिओ हेर्नुहुन्छ भने तपाईंले एउटा अनौठो कुरा याद गर्नुभएको होला । कुनै भाइरल भिडिओ अपलोड हुने बित्तिकै त्यसको भ्युज सुरुमा तीव्र गतिमा बढ्छ, तर बीचमै अड्किन्छ । लाइकका आधारमा उक्त भिडिओमा आएको भ्युज निकै कम हो भन्ने अड्कल गर्न सकिन्छ । यस्तो किन हुन्छ भन्नेबारे टेकपानाले यसअघि नै लेख लेखिसकेको छ । यहाँ क्लिक गरेर उक्त लेख पढ्न सक्नुहुन्छ । 

सन् २०१२ तिर युट्युबमा यस्तो ग्लिज आएको थियो, जसले कुनै पनि भाइरल भिडिओको भ्युज ३०१ मा पुगेपछि फ्रिज गराउँथ्यो । अर्थात् भिडिओमा जतिसुकै भ्युज पुगे पनि त्यसमा ३०१ भ्युज मात्र देखिन्थ्यो । यो सङ्ख्या केही घण्टादेखि आधा दिन वा कहिलेकाहीँ एक दिनसम्म पनि त्यहीँ स्थिर रहन्थ्यो र त्यसपछि मात्रै फेरि सामान्य रूपमा बढ्न थाल्थ्यो ।

त्यहीबेला ‘नम्बरफाइल’ नामक युट्युब च्यानलले एक भिडिओमार्फत यसको रहस्य सुल्झाउने प्रयास गरेको थियो । तर, रोचक कुरा त के छ भने सोही भिडिओमा पनि ३०१ भ्युज मात्र छ । उक्त भिडिओ सार्वजनिक भएको १३ वर्षपछि पनि त्यसमा ३०१ भ्युज मात्र छ । ४२ लाख लाइक आएको सो भिडिओमा तीन लाख २६ हजार बढी कमेन्ट आएका छन् । 

सन् २०१५ मा भने युट्युबले यो समस्यालाई सुल्झाएको थियो । नम्बरफाइलको उक्त भिडिओ अहिलेसम्म पनि उक्त समस्या समाधान भएको छैन । अर्थात् उक्त भिडिओमा ३०१ भ्युज मात्र छ । त्यस भिडिओको डिस्क्रिप्सनमा भने जनवरी २०२१ सम्म १५ मिलियन बढी भ्युज आएको उल्लेख गरिएको छ ।

के थियो ३०१ को रहस्य ? 

यसको जवाफ युट्युबको प्राविधिक प्रक्रिया र एउटा सानो मानवीय गल्तीको रोचक संयोजनमा लुकेको थियो । यो रहस्य सुल्झाउन ‘नम्बरफाइल’ च्यानलले युट्युब एनालिटिक्सका तत्कालिन प्रडक्ट म्यानेजर टेड ह्यामिल्टनसँग कुराकानी गरेको थियो ।

३०१ को रहस्य बुझ्नुअघि युट्युबले त्यतिबेला ‘भ्युज’लाई कसरी परिभाषित गर्थ्यो भनेर बुझ्न जरुरी छ । ह्यामिल्टनका अनुसार कुनै पनि भिडिओमा ‘प्ले’ बटन थिच्दैमा त्यो भ्युज गणना हुँदैन । युट्युबको लागि एक वास्तविक ‘भ्युज’ त्यो हो जुन कुनै वास्तविक प्रयोगकर्ताले हेर्न चाहेरै प्ले गरेको होस् र उसले राम्रो अनुभव प्राप्त गरोस् ।

युट्युबले भ्युजलाई एक प्रकारको ‘मुद्रा’ (Currency) को रूपमा हेर्छ । जसरी नक्कली नोटले बजारमा असर पार्छ, त्यसरी नै नक्कली भ्युज (जस्तै, बट्स वा स्वचालित प्रोग्रामबाट सिर्जना गरिएका) ले प्लेटफर्मको विश्वसनीयतामा असर पार्छ । त्यसैले युट्युबले वास्तविक र नक्कली भ्युज छुट्याउन ठुलो मेहेनत गर्छ ।

जब तपाईं युट्युबमा कुनै भिडिओ हेर्नुहुन्छ त्यो भिडिओ एउटै सर्भरबाट मात्रै आइरहेको हुँदैन । युट्युबले भिडिओलाई विश्वभरका विभिन्न सर्भरमा ‘क्यास’ गरेर राखेको हुन्छ । यसो गर्दा उदाहरणका लागि नेपालको प्रयोगकर्ताले भिडिओ हेर्न खोज्दा अमेरिकाको सर्भरसम्म पुग्नु पर्दैन नजिकैको सर्भरबाटै भिडिओ छिटो लोड हुन्छ ।

यसको अर्थ एउटै भिडिओका धेरै ‘कपी’ विश्वभर छरिएका हुन्छन् । हरेक पटक भिडिओ हेर्दा सम्बन्धित सर्भरले आफ्नो लग फाइलमा एउटा रेकर्ड राख्छ । पछि युट्युबले विश्वभरका सबै सर्भरबाट ती लग फाइललाई एकै ठाउँमा जम्मा गर्छ र कुल भ्युज सङ्ख्या गणना गर्छ ।

३०० भ्युजपछि युट्युबले सुरु गर्थ्यो प्रमाणीकरण !

ह्यामिल्टनका अनुसार जब कुनै भिडिओमा ३०० भन्दा कम भ्युज हुन्छ, तब युट्युबले प्रत्येक भ्युजको स्रोतबारे धेरै चिन्ता गर्दैनथ्यो । तर जब भ्युज सङ्ख्या ३०० पार गर्न थाल्थ्यो युट्युबले त्यसलाई ‘गम्भीर व्यवसाय’ (Serious Business) मान्थ्यो । अब त्यो भिडिओ लोकप्रिय हुने सम्भावना बढ्थ्यो र त्यसमा नक्कली भ्युज बढाउने प्रयास पनि हुन सक्थ्यो ।

त्यसैले ३०० भ्युज कट्ने बित्तिकै युट्युबले एक स्वचालित स्टाटिकल भेरिफिकेसन प्रोसेस (Statistical Verification Process) सुरु गर्थ्यो । यस प्रक्रियामा सिस्टमले आएका भ्युज वास्तविक मानवबाट आएका हुन् वा बट्सबाट, भिडिओको शीर्षक र थम्बनेल भ्रामक थियो कि थिएन र प्रयोगकर्ताले साँच्चै भिडिओ हेरेको हो कि तुरुन्तै बन्द गरेको हो जस्ता कुराहरू विश्लेषण गर्थ्यो । यो प्रक्रिया पूरा हुन केही लाग्ने भएकाले सार्वजनिक रूपमा देखिने भ्युज काउन्टर स्थिर हुन्थ्यो वा ‘अड्किन्थ्यो’ ।

तर ३०० नभई किन ३०१ नै भ्युज फ्रिज हुन्थ्यो ?

यदि भ्युज भेरिफिकेसन ३०० भ्युजपछि सुरु हुन्थ्यो भने काउन्टर ३०१ मा किन रोकिन्थ्यो ? नम्बरफाइलका अनुसार यसका पछाडि एउटा सामान्य, तर रोचक कोडिङ गल्ती थियो ।

युट्युबका इन्जिनियरले सिस्टममा एउटा शर्त (condition) राखेका थिए । उनीहरूको उद्देश्य यस्तो कोड लेख्नु थियो: यदि भ्युज संख्या ३०० भन्दा कम छ भने (if view_count < 300), भ्युमा १ थप्दै जाऊ ।

तर, गल्तीवश कोड यस्तो लेखियो: यदि भ्युज संख्या ३०० भन्दा कम वा बराबर छ भने (if view_count <= 300) भ्युमा १ थप्दै जाऊ ।

यो सानो ‘बराबर’ (=) चिन्हले सबै कुरा परिवर्तन गरिदियो ।

  • जब भ्युज सङ्ख्या २९९ हुन्छ, शर्त (<= 300) सत्य हुन्छ र भ्युज बढेर ३०० पुग्छ ।

  • जब भ्युज सङ्ख्या ३०० हुन्छ फेरि शर्त जाँचिन्छ । ‘300 <= 300’ पनि सत्य हो । त्यसैले, सिस्टमले फेरि एक भ्युज थप्छ र संख्या ३०१ पुर्‍याउँछ ।

  • जब भ्युज ३०१ पुग्छ, अब भने शर्त (301 <= 300) असत्य हुन्छ । त्यसपछि प्रणालीले भ्युज थप्न रोक्छ र प्रमाणीकरण प्रक्रियामा पठाउँछ ।

यो सामान्य कोडिङ त्रुटिले गर्दा नै भ्युज काउन्टर ३०१ मा अड्किने परम्परा सुरु भयो जुन पछि युट्युबको एक पहिचान बनेको थियो ।

कहिलेकाहीँ ३०२, ३०५ वा बढी देखिन्थ्यो !

कहिलेकाहीँ काउन्टर ३०१ मा मात्र नभई ३०४, ३०८ वा त्योभन्दा पनि बढी संख्यामा अड्किएको देखिन्थ्यो । यसको कारण पनि युट्युबको विश्वव्यापी सर्भर प्रणाली नै थियो ।

जब भ्युज काउन्ट ३०० को नजिक पुग्छ विश्वका विभिन्न स्थानबाट एकै समयमा धेरै प्रयोगकर्ताहरूले भिडिओ हेरिरहेका हुन सक्छन् । ती सबै सर्भरबाट आउने भ्युको जानकारी केन्द्रीय प्रणालीमा एकैपटक आइपुग्न सक्छ । जब प्रणालीले 300 <= 300 को शर्त जाँचिरहेको हुन्छ, त्यही क्षणमा एकैसाथ आइपुगेका ५-७ ओटा भ्युहरू पनि पास हुन्छन् र काउन्टरमा थपिन्छन् । यसरी काउन्टर ३०१ लाई नाघेर अलि बढी संख्यामा पुगेर अड्किन्थ्यो ।

सन् २०१५ पछि भने यस्तो समस्या देखिएन । तर, भ्युजभन्दा लाइक बढी हुने समस्या देखियो । यो समस्या अहिले पनि उस्तै छ । कुनै भाइरल भिडिओमा भ्युज भन्दा लाइक बढी देखिन्छन् । तर, केही समयपछि त्यो समस्या समाधान हुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ १३:५७