एमाले नेता महर विरुद्ध साइबर अपराधको मुद्दा, पीडित महिलालाई बलात्कार र चरित्रहत्या गरेको आरोप
भदौ १७, २०८२ १५:१३
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर विरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी एक महिलाको चरित्रहत्या गरेको आरोपमा महर विरुद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरिएको हो ।
नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले दायर गरेको अभियोग पत्रमा महरमाथि फेसबुक लाइभ भिडिओ र विभिन्न स्टाटसमार्फत पीडितको चरित्रहत्या गरेको आरोप लगाइएको छ ।
के हो आरोप ?
अभियोग पत्रमा उल्लेख भएअनुसार बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका ७ घर भई हाल काठमाडौँ ४, बाँसबारी बस्ने ४१ वर्षीय महरले आफ्नो फेसबुक अकाउन्ट मार्फत पीडितको चरित्रहत्या हुने सामग्री पोस्ट तथा अपलोड गरेका थिए । उनले ५१ मिनेट ४७ सेकेन्ड लामो फेसबुक लाइभ भिडिओ मार्फत पीडितलाई विभिन्न अनावश्यक आरोप लगाउँदै चरित्रहीन, पेसेवर, मानसिक रोगी जस्ता शब्द प्रयोग गरेको आरोप छ ।
साथै, उनले ती महिलालाई 'यति छोएको पनि छैन' भन्दै विभिन्न व्यक्तिहरूको योजनामा आफ्नो सामाजिक तथा राजनीतिक जीवन ध्वस्त पार्न खोजेको भन्दै बदनाम गरेको बताइएको छ । महरले पीडित र उनका पूर्वपति र नाबालक छोरालाई समेत जोडेर अपशब्द प्रयोग गरेको अभियोग पत्रमा उल्लेख छ ।
अभियोग पत्रका अनुसार महरको यस किसिमको कार्यले ती महिलालाई मानसिक यातना, शारीरिक र मानसिक पीडा भई उनको व्यक्तिगत तथा पारिवारिक जीवनमा गम्भीर असर परेको छ । उनले साइबर ब्युरोमा दिएको जाहेरीमा भनिएको छ, "म निज ब्यक्ति (ऐन महर) बाट बलात्कार जस्तो जघन्य अपराधको पीडित समेत रहेको हुँदा मेरो इज्जत अस्मिता लुटी मेरै चरित्रहत्या बेइज्जती बदनाम घृणा फैलाउने, दुःख हैरानी दिने मलाई थप शारीरिक मानसिक पीडा दिई मेरो व्यक्तिगत जीवनमा गम्भीर असर परेको हुँ दा निजलाई विद्युतीय कारोबार ऐन बमोजिम हदैसम्मको सजाय गरी निजको कारण मैले भोग्नु परेको मानसिक यातनाको उचित मूल्याङ्कन गरी मनासिब क्षतिपूर्ति समेत दिलाई भराई पाउँ ।"
पीडितकी बहिनीले दिएको जानकारी अनुसार महरको क्रियाकलापले उनकी दिदीको व्यक्तिगत चरित्र, इज्जत, प्रतिष्ठामा विरुद्ध घृणा फैलाई मानसिक र सामाजिक प्रतिष्ठामा आँच पुर्याएको र आत्महत्या गर्ने अवस्था समेत सिर्जना भएको थियो ।
आफूमाथिको आरोपको खण्डन गर्दै महरले आफूले भने ती महिलाको चरित्रहत्या हुने कुनै पनि सामग्री आफ्नो आधिकारिक फेसबुक आईडीबाट पोस्ट वा अपलोड नगरेको बयान दिएका छन् । पीडितले आफ्नो सामाजिक तथा राजनीतिक चरित्रहत्या गर्न र ब्ल्याकमेल गरी पैसा असुल्न खोजेकोले आफूले उनीविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको र उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको कुरा समेत महरले बताएका छन्।
महरका अनुसार सोही रिसइबीका कारण पीडितकी श्रीमतीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएको र उक्त मुद्दा (मुद्दा नं. ०८१–C2–०१२५) समेत काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको छ । उनले उल्टै पीडित भनिएकी महिलाले व्यक्तिगत रिसइबी र प्रतिशोध साँध्न आफैले फेक आईडी बनाई सामग्री पोस्ट गरेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
तर महरविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ । उक्त दफामा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यममा कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने, महिलालाई जिस्क्याउने, हैरानी दिने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गराउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
पीडितलाई महरबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७६ बमोजिम मानसिक क्षतिपूर्तिको समेत माग दाबी गरिएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउन अनुरोध गरिएको छ ।
जाहेरीमा महर विरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम अदालत समक्ष पक्राउ पुर्जी समेत माग गरिएको छ । यस मुद्दाको थप अनुसन्धान आवश्यक परे मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दाबी लिई अभियोग दायर गरिने उल्लेख छ ।
पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ १५:१३
