इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजीको साटो नेपाली भाषा प्रयोग गर्न सरकारलाई भाषा आयोगको निर्देशन
भदौ १७, २०८२ २१:३९
काठमाडौँ । भाषा आयोगले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा नेपाल भाषा राख्न सरकारलाई निर्देशन दिएको छ । सरकारले १ असोजदेखि सबै सवारीसाधनमा अनिवार्य अङ्ग्रेजी भाषामा तयार पारिएको इम्बोस्ड नम्बर प्लेट जडान गर्न लिएको निर्णय प्रति असन्तुष्ट जनाउँदै आयोगले संविधानले नै नेपाली भाषालाई सरकारी कामकाजको भाषा तोकेकाले नेपाली भाषा नै प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
“संविधानले नचिनेको भाषा र लिपिमा होइन, सम्मानित सर्वोच्च अदालतको ९ असार २०८१ मा भएको नेपाली भाषाको वर्णविन्यास सम्बन्धी फैसलामा ‘नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ’ भन्ने संवैधानिक प्रावधान बमोजिम सबै तहका सरकारहरूलाई सोही बमोजिम गर्न गराउन स्पष्ट व्याख्या भएको छ,” आयोगले विज्ञप्तिमार्फत सरकारलाई सचेत गराउँदै भनेको छ ।
आयोगले आफ्नो संवैधानिक दायित्व बोध भएको उल्लेख गर्दै १ भदौमा नै उक्त निर्णय गरेको थियो । त्यसको जानकारी आयोगले मङ्गलबार मात्रै सार्वजनिक गरेको हो ।
पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ २१:४०
