सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयभन्दा डेढ महिना अघि मात्रै प्रम ओलीले खोलेका थिए आफ्नो भाइबर
भदौ २२, २०८२ ८:२४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्बाट सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय गर्नुभन्दा डेढ महिना अघिमात्र आफ्नो भाइबर च्यानल खोलेको पाइएको छ । यसबाट सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पूर्व योजनाका साथ ओली भाइबरमा सक्रिय हुन थालेको सङ्केत मिलेको हो ।
आजभन्दा करिब डेढ महिना अघि २५ असार २०८२ (९ जुलाई २०२५) का दिन प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा भाइबर च्यानल तयार भयो । यसको जानकारी उनले आफ्नो फेसबुक पेजबाटै दिएका थिए । जसको लिङ्क यहाँ क्लिक गरी हेर्न सक्नु हुन्छ ।
उनी भाइबरमा जोडिएको डेढ महिनापछि ९ भदौ २०८२ को मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरणमा आउन आह्वान गर्ने र अटेर गरे नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरे । ११ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सो निर्णय सार्वजनिक गरे ।
यसै अनुरूप मन्त्रालयले १२ भदौमा एक सूचना जारी गर्दै सूचीकरण हुने अन्तिम म्याद १८ भदौसम्मका लागि तय गर्यो र कुनै पनि सामाजिक सञ्जाल दर्ता हुन नआएपछि १९ भदौमा सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको हो ।
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउँदा सूचीकरणमा आएका ५ वटा सामाजिक सञ्जाल भने अहिले निर्बाध रूपमा सञ्चालनमा छन् । जसमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ रहेका छन् । यी सामाजिक सञ्जाल हालै नभई केही समय पहिले देखि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचीकरणमा थिए ।
अहिले फेसबुक, मेसेन्जर, ह्वाट्सएप, भाइबर, युट्युब, इन्स्टाग्राम, लिङ्क्डइन, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाल बन्द हुँदा सबैभन्दा बढी फाइदा भाइबरलाई नै पुगेको छ । सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय भएको २४ घण्टामै यो एप ८८ ओटा अन्य एपलाई पछि पार्दै नेपालमै सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा पहिलो नम्बरमा पुगेको थियो । यसरी सरकारको निर्णयले चाहेर वा नचाहेर भाइबर मालामाल बनेको हो ।
पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ ८:२४
