प्रदर्शनकारीको मृत्युप्रति प्रचण्डको दुःख, सामाजिक सञ्जाल प्रतिबन्ध हटाउन आग्रह
भदौ २३, २०८२ १४:३८
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
फेसबुकमा एक पोस्ट राख्दै उनले बानेश्वरमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको खबरले आफू स्तब्ध र गम्भीर भएको बताएका छन् । प्रचण्डले मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन् । स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न पनि उनले सरकारलाई आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १४:३८
