close

नेपालमा जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने आईस्पानको चेतावनी

टेकपाना टेकपाना

भदौ २३, २०८२ २०:२७

नेपालमा जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने आईस्पानको चेतावनी

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपालले अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा देखिएको निरन्तर वृद्धिका कारण सेवा प्रदायकहरूको नेटवर्कमा अत्यधिक चाप) परिरहेकाले ब्यान्डविथ क्षमता साँघुरिने (ब्यान्डविथ चकिङ) समस्या देखिएको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई सचेत गराएको छ ।

ब्यान्डविथ क्षमता साँघुरिँदा प्रत्यक्ष परिणामस्वरूप सेवाको गुणस्तरमा गम्भीर गिरावट आएको आईस्पानले जनाएको छ । ग्राहकहरूले इन्टरनेट गति सुस्त हुने, लेटेन्सी बढ्ने तथा प्याकेट लस जस्ता समस्याहरू अनुभव गरिरहेका छन् । जसले रियलटाइम एप्लिकेसन, बैङ्किङ एवं व्यावसायिक कारोबार र सामान्य इन्टरनेट प्रयोगमा प्रतिकूल असर परिरहेको आईस्पानको भनाइ छ ।

अत्यधिक ट्राफिकका कारण सेवा प्रदायकहरूको प्राविधिक स्रोतसाधन र नेटवर्क क्षमतामा धान्नै नसक्ने खालको दबाब परिरहेको बताइएको छ ।

“यदि हालको अवस्था यस्तै रहे नेटवर्क प्रणालीमा गम्भीर असर पर्न सक्ने जोखिम उच्च रहेको छ । जसका कारण व्यापक रूपमा इन्टरनेट सेवा अवरुद्ध हुने खतरा उत्पन्न भएको छ,’ आईस्पानले एनटीए अध्यक्ष भण्डारीले लेखेको पत्रमा भनिएको छ ।

आईस्पानले उच्च अन्तर्राष्ट्रिय ब्यान्डविथ खपतका कारण आईएसपीहरूले प्रत्यक्ष क्षति ब्यहोर्नु परेको छ । “यस क्षतिपूर्ति कसरी र कुन प्रक्रियाबाट उपलब्ध गराउन सकिन्छ भन्नेबारे प्राधिकरणले मार्गनिर्देशन दिनुहुन विनम्र अनुरोध गर्दछौं,” आईस्पानले लेखेको पत्रमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ २०:३६