close

प्रदर्शनमा स्वार्थ केन्द्रबाट भएको घुसपैठले ज्यान जाने परिस्थिति उत्पन्न भयोः प्रधानमन्त्री

टेकपाना टेकपाना

भदौ २३, २०८२ ०:३४

प्रदर्शनमा स्वार्थ केन्द्रबाट भएको घुसपैठले ज्यान जाने परिस्थिति उत्पन्न भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जेन-जी युवाले गरेको प्रदर्शनमा विभिन्न ‘स्वार्थ केन्द्र’बाट घुसपैठ भएको कारण परिस्थिति उत्कर्षमा पुगी ज्यान जाने अवस्था सिर्जना भएको आरोप लगाएका छन् । मन्त्रिपरिषद् बैठकपछि एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री ओलीले प्रदर्शनमा भएको घुसपैठले राज्यका संवैधानिक संस्थाहरूका कार्यालयहरूमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरू भएको र ती संस्थाका संरचनाहरू जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भएको उल्लेख गरेका छन् ।

“जेन-जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ,” उनले भनेका छन्, “हाम्रा छोराछोरी पुस्ताले आफ्‌ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो ।”

“जेन-जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन-जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरूका कार्यालयहरूमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरू भए र ती संस्थाका संरचनाहरू जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो । प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरूले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो ।”

सोमबारको घटनाको छानबिन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरू हुन नदिन चाल्नुपर्ने कदमबारे सिफारिससहितको १५ दिने प्रतिवेदन पेश गर्न एक छानबिन समिति गठन गर्ने जानकारी पनि उनले दिएका छन् ।

सामाजिक सञ्जाल बन्द गर्ने नीतिमा सरकार नरहेको तर अदालतको आदेशबमोजिम अन्तिम पटक सूचीकरणका लागि दिएको समयसीमा निष्क्रिय भएकाले आजको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

“बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो । राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचीकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन-जी पुस्ताको सोचबिच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ । यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिएन । र, गरिरहनु पर्ने स्थिति रहन दिइने छैन,” उनले भनेका छन् ।

यसैबीच, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाइएको जानकारी दिएका छन् ।  गुरुङले जेन-जी युवाहरुले सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध हटाउन गरेको मागको सम्बन्धमा सञ्चार मन्त्रालयले तत्काल आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको बताए ।​

सोमबार जेन-जी पुस्ताका युवाहरुको आन्दोलन हिंस्रक बनेसँगै सरकारले विरोध मत्थर बनाउन सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको विश्लेषण गरिएको छ । जबकि जेन-जीको मुख्य माग भ्रष्टाचार नियन्त्रण रहेको छ । 

इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा भीपीएनको प्रयोग अत्यधिक बढ्दा आयात भइरहेको अन्तर्राष्ट्रिय ब्यान्डविथ ट्राफिकले नधान्ने स्थिति निम्तिएको भन्दै आज नै दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीलाई मार्गदर्शनसहित समस्या समाधानका लागि लिखित रुपमा आग्रह गरेको थियो ।

सरकारले १९ भदौमा सूचीकरणका लागि सम्पर्कमा समेत नआएका २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सञ्चारमन्त्री गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआएका २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ ०:५५