close

कारागारबाट मैले निस्किन चाहेको होइन, सुरक्षा दिन नसकेर जबरजस्ती निकालिएको होः रवि लामिछाने

टेकपाना टेकपाना

भदौ २५, २०८२ २०:१९

कारागारबाट मैले निस्किन चाहेको होइन, सुरक्षा दिन नसकेर जबरजस्ती निकालिएको होः रवि लामिछाने

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा नक्खु कारागारबाट मङ्गलबार बाहिर निस्किएका रवि लामिछानेले आफूले कारागारबाट निस्किन नचाहेको, बरु भिड बढेपछि कारागारले नै जबरजस्ती निकालेको बताएका छन् । केही बेरअघि फेसबुक लाइभमार्फत उनले आफ्नो बारे झुटा प्रचार र समाचार आएको प्रति ध्यानाकर्षण गर्दै यस्तो बयान दिएका हुन् ।

“मैले बिना पत्र जान्न भनेको हुँ । उनीहरूले जस्तो पत्र दिए, जस्ताको तस्तै सार्वजनिक गरिसकेको छु । मैले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीहरूलाई भनेको छु, मलाई तपाईँहरूको कस्टडीमा राख्नुहोस्, नियन्त्रणमा लिनुहोस् या कारागार पठाउनु होस्,” लामिछानेले भने ।

सुरक्षा दिन नसकेरै कारागारले पत्र दिएको हुन सक्ने र आफैँ सुरक्षित बस्न तथा आवश्यक परे सम्पर्क गर्ने कुरा प्रहरी नेतृत्वले आफूलाई बताएको कुरा पनि उनले गरेका छन् ।

“सुरक्षा निकायहरूबाट यस्तो जवाफ आएपछि मैले आजै न्यायिक निकायहरूलाई जानकारी गराइसकेको छु,” उनले भने, “म सरकारमा जाने, सरकार बनाउने कुनै पनि दौडमा छैन । कसैसँग कतै कुनै विषयमा बैठक बसेको छैन । मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन । यो रेसमा म छँदै छैन । रेसमा नआओस् भनेर यसरी डिफेम गर्न जरुरी छैन ।”

तर यो देश, लोकतन्त्र र नागरिक सर्वोच्चता रहनु पर्ने विषयमा भने आफू दृढतापूर्वक उभिने लामिछानेले बताएका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ २०:३९