close

माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश

टेकपाना टेकपाना

भदौ २६, २०८२ ११:४५

माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले युवाहरूको आक्रोश र निराशाप्रति आफूले पर्याप्त काम गर्न नसकेकोमा माफी मागेका छन् । फेसबुकमा एक भिडिओ राख्दै उनले २३ भदाैमा भएको १९ जना युवाको मृत्यु र देशमा भइरहेका विभिन्न घटनाक्रमबारे आफ्नो धारणा राख्दै युवा आन्दोलनका मागहरूप्रति ऐक्यबद्धता जनाएका छन् ।

थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको आफूले पार्टीभित्रै विरोध गरेको स्मरण गराए । उनले त्यो निर्णयले युवाहरूमा झन् आक्रोश बढ्ने भन्दै सभापतिलाई सजग गराए पनि आफ्नो कुरा सुनुवाइ नभएकोमा गुनासो गरे । थापाले भने, "सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठुलो घटना घट्दैन थियो होला ।" उनले सो घटनामा युवाहरुको ज्यान गएको प्रति आफू प्रत्यक्ष संलग्न नभए पनि त्यसको लागि माफी माग्ने बताए ।

महामन्त्री थापाले २४ भदाैमा आफ्नो घरमाथि ढुंगामुढा र सवारीसाधनमा आगजनी भएको घटनाबारे पनि चर्चा गर्दै २०६१ सालमा इराकमा १२ नेपाली मारिँदाको अवस्था सम्झाएको बताए । उनले आफ्नो घर तोडफोड हुँदा भोगेको पीडा र परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्दाको अनुभव सुनाए । उनले आफ्नो बुबा-आमाले जोडेको घर भत्किएकोमा दुःख व्यक्त गरे ।

थापाले युवा आन्दोलनले उठाएका भ्रष्टाचार छानबिन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संस्थाहरूलाई पारदर्शी बनाउने र सामाजिक सञ्जाल प्रतिबन्ध हटाउने मागहरूप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । उनले ०४६ सालपछिका सबै भ्रष्टाचारका एक-एक स्क्यान्डलको छानबिन हुनुपर्ने र गलत गर्नेहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग गरे ।

उनले आफ्नो पार्टीभित्र पनि परिवर्तनका लागि निरन्तर आवाज उठाउँदै आएको दाबी गरे । थापाले भने, "अहिले भर्खर ओलीको सरकार बन्दै गर्दाखेरि मन्त्री बन्नुपर्छ भनेको, म मन्त्री बन्दिनँ, तपाईंको गभर्मेन्टलाई सहयोग गर्छु किनकि गभर्मेन्टले काम गर्नुपर्छ ।" यद्यपि, पार्टीभित्र आफ्नो प्रयासहरू सफल नभएको र दलको नेतामा पनि आफू असफल भएको उनले स्वीकारेका छन् ।

थापाले युवाहरूलाई संविधानको निरन्तरतामा ध्यान दिन र यसभित्र रहेरै बोल्ड सुधारहरू गर्न आग्रह गरेका छन् । उनले देशको भू-राजनीतिक संवेदनशीलता र आन्तरिक सामाजिक जटिलतालाई मनन गर्दै संयमित भएर अगाडि बढ्न युवाहरूलाई आह्वान गरे । उनले आफ्नो पुस्ताले गरेका गल्ती-कमजोरीहरूको माफी माग्दै युवा पुस्तालाई देशको नेतृत्व सम्हाल्न आग्रह गरे । थापाले भने, "तपाईंहरूकै जेनेरेसनले नै गर्न सक्छ, त्यसैले यो अगाडिको जेनेरेसनलाई बिदा गरेर, बीचको समय केही समय सम्हालेर, चाँडोभन्दा चाँडो तपाईंहरूले नै गर्नुपर्छ ।"

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ ११:५०