प्रकाशमानकी पत्नीको दुखेसो: ‘ऐतिहासिक घर जल्यो, रैतीलाई नागरिक बनाउनेको सम्पत्ति खरानी भयो’
भदौ २६, २०८२ १४:२८
काठमाडौँ । निवर्तमान उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले मगलबार ठमेलस्थित चाक्सीबारी निवासमा भएको आगजनीप्रति दुःख व्यक्त गर्दै त्यसलाई पुर्खाको ऐतिहासिक सम्पत्तिको क्षति भएको बताएकी छिन् । जेनजी आन्दोलनले उग्र रुप लिँदा केही प्रदर्शनकारीहरूले घरमा आगजनी गरेपछि सामाजिक सञ्जाल एक्समा एक भावनात्मक पोस्ट गर्दै उनले कसैलाई नराम्रो नगर्दा पनि पुर्खाको सम्पत्ति जलाइएको उल्लेख गरेकी छन् ।
सिंहले आफ्नो पोस्टमा लेखेकी छिन्, “मेरो घर जल्यो खरानी भयो । कसैलाई नराम्रो गरेका थिएनौ । पुर्खाको सम्पत्ति थियो । जोगाउन सकेनौ ।” घरको ऐतिहासिक महत्त्वमाथि जोड दिँदै उनले लेखेकी छिन्, “मलाई यस मानेमा दुःख छ कि एक ऐतिहासिक घर जुन घरका मान्छेले रैतीलाई नागरिक बनाएका थिए, टाउकोमा कात्रो बाँधेर निस्केका परिवारका सन्तान हौँ ।”
प्रदर्शनकारीले सिंहको निवास र ६ ओटा गाडीमा आगजनी गरेका थिए । घटनाको समयमा प्रकाशमान सिंह र उनको परिवारलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारिसकेकाले मानवीय क्षति भने हुन पाएन ।
चाक्सीबारीस्थित उक्त निवास नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको पालादेखिको पुर्ख्यौली सम्पत्ति रहेको बताइएको छ ।
सिर्जना सिंहले आफ्नो परिवार प्रजातन्त्रको स्थापना र संविधानको रक्षाका लागि सधैँ लड्दै आएको स्मरण गराउँदै भविष्यमा पनि यसका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, “संविधानको रक्षा र प्रजातन्त्रका लागि लडिरहने छौँ ।”
मेरो घर जल्यो खरानी भयो।कसैलाई नराम्रो गरेका थिएनौ।पुर्खाको सम्पत्ति थियो।जोगाउन सकेनौ।मलाई यस मानेमा दुख छ कि एक ऐतिहासीक घर जुन घरका मान्छेले रैतीलाई नागरिक बनाएका थिए।टाउकोमा कात्रो बाधेर निस्केका परिवारका सन्तान हौ।संविधानको रक्षा र प्रजातन्त्र को लागी लडिरहने छौ।
— Sirjana Singh (@Sirjana_Singh) September 11, 2025
😭😭😭😭
पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १४:३२
