close

घर जलाइँदा छोरी र आमाबुबाको फोटोसमेत कुल्चेर फुटाइयो: गभर्नर पौडेल

टेकपाना टेकपाना

भदौ २६, २०८२ १६:३०

घर जलाइँदा छोरी र आमाबुबाको फोटोसमेत कुल्चेर फुटाइयो: गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलका ललितपुरको भैंसेपाटीस्थित निवास र चितवनस्थित पुर्ख्यौली घरमा आगजनी भएको छ । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत अस्ति भएको दुवै घटनाबारे जानकारी दिँदै उनले आफ्नो व्यक्तिगत र पारिवारिक पीडा सार्वजनिक गरेका छन् ।

उनका अनुसार भैंसेपाटीको घर जल्नु दुई घण्टाअघि नै एक चर्चित अनलाइन मिडियामार्फत घर जलेको खबर आएको थियो । उनले लेखेका छन्, “मैले बुझ्दा घरमा केही भएको थिएन । पछि भने घरभित्र मानिस गए । बा-आमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए ।”

उनले ९ वर्षीया छोरीले राति नतर्सियोस् भनेर च्यापेर सुत्ने गरेको कपन गुम्बाका गुरु रिम्पोछेले दिएको मन्त्रेको खेलौना पनि कुल्चिएर जलाइएकोमा दुःख व्यक्त गरेका छन् ।

उनले भैंसेपाटीको उक्त घर योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देश-विदेशमा काम गरेर कमाएको साढे पाँच आना जग्गामा बनाएको बताएका छन् ।

घरभित्र इबेबाट किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशका कलाकृतिहरू, देवीदेवताका मूर्तिहरू, भियतनामी सिल्क पेन्टिङ र माओत्सेतुङसम्मका ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनीसमेत रहेको उनले जानकारी दिए । रातको समयमा केही व्यक्तिले ढुंगा हानेर सामानसमेत चोरेर गएको छिमेकीहरूले सुनाएको उनको भनाइ छ ।

त्यसैगरी, गभर्नर पौडेलले चितवनको आफ्नो पुर्ख्यौली घरमा पनि तोडफोड भएको भिडिओसहित जानकारी दिएका छन् । उनले भिडिओमा ढुंगा हानेको देखिने कोठा उनकी ८२ वर्षीया आमाको सुत्ने कोठा भएको र हालै मुटुको अप्रेसन गरेकी आमा त्यहाँ बस्दै आएको बताएका छन् ।

उनका ८७ वर्षीय बुवाले करिब १५ वर्षअघि पौडेल विद्यार्थी हुँदा नै बनाएको सो घरमा बसोबास गर्दै आएका थिए । आक्रोश व्यक्त गर्दै उनले लेखेका छन्, “मेरो रिस मेरो भैंसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा-आमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् ।”

डा. पौडेलले आफूले जीवनमा कसैसँग एक रुपैयाँ नमागेको र सधैँ दिएको मात्र बताउँदै देशको वर्तमान विषम अवस्थालाई मध्यनजर राखेर गभर्नरको पद स्वीकार गरेको बताएका छन् । उनले आफ्नो परिवार सुरक्षित भए पनि आफूभन्दा पीडामा परेका व्यक्तिहरूको बारेमा चिन्तित रहेको भन्दै सम्पूर्ण विवरण सार्वजनिक गर्नुपरेको जनाएका छन् । उनले अब यसबारे थप छलफल केही गर्न नचाहेको लेखेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १६:३४