close

आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता र सुनुवाइ थाल्दै सर्वोच्च अदालत

टेकपाना टेकपाना

भदौ २६, २०८२ १९:६

आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता र सुनुवाइ थाल्दै सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले २९ भदौदेखि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्दै सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले आइतबारबाट आंशिक रूपमा अदालती कामकारबाही थाल्ने निर्णय गरेको हो । 

२४ भदौमा सर्वोच्च अदालत लगायत देशका अन्य अदालतहरूमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरूमा पुग्न गएको क्षतिप्रति बैठकले गहिरो दुःख व्यक्त गरेको छ । 

अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरूका महत्त्वपूर्ण दस्तावेज, अदालतमा रहेका उपकरण, सवारीसाधन लगायतमा अकल्पनीय क्षति पुगेको सर्वोच्चको भनाइ छ ।

नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू करिब-करिब नष्ट भएका छन् ।

“यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व बहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै आम नागरिकहरूका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,” सर्वोच्चले विज्ञप्तिमार्फत भनेको छ ।

आगजनी र नष्ट हुनबाट जोगिएका अदालतका मिसिल कागजात र भौतिक स्रोतसाधनको संरक्षणमा खट्नुहुने न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, कानुनका विद्यार्थी, सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिकप्रति सर्वोच्चले धन्यवाद ज्ञापन गरेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १९:६