काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा केपी शर्मा ओलीकै तस्बिर र विवरण कायमै रहेको छ ।
‘जेन-जी’ युवाहरूको प्रदर्शन उग्र बनेपछि २४ भदौमा तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेपछि शुक्रबार ‘जेन-जी’ प्रतिनिधि, प्रधान सेनापति र राष्ट्रपतिको सहमतिमा कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
देशको कार्यकारी प्रमुख परिवर्तन भएसँगै आधिकारिक सूचना प्रवाह गर्ने सरकारी संयन्त्रहरू अद्यावधिक हुनुपर्नेमा त्यसो हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा अझै पनि प्रधानमन्त्रीको रूपमा ओलीकै तस्बिर र नाम राखिएको छ ।
शुक्रबारसम्म अवरुद्ध रहेका सरकारी वेबसाइट सञ्चालनमा आए पनि प्रधानमन्त्री कार्यालयको वेबसाइट भने पुरानै अवस्थामा छ ।
यद्यपि केही मन्त्रालयका वेबसाइट भने अद्यावधिक गरिएका छन् । गृह मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लगायतका वेबसाइटमा भने नवनियुक्त प्रधानमन्त्री कार्कीको नाम र तस्बिर राखिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ २८, २०८२ १५:४१
