close

आफू जेनजी भएकाले कुटपिट गरिएको भन्दै फेसबुक लाइभमा आएर आत्मह*त्या, ४ पक्राउ

टेकपाना टेकपाना

भदौ २९, २०८२ १७:३५

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिकामा एक २८ वर्षीय पुरुषले सामाजिक सञ्जालमा लाइभ भिडिओ बनाउँदै आत्महत्या गरेका छन् । नरेश धानुक नाम गरेका ती पुरुषको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार मृतकको शव महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।

आत्महत्या गर्नुअघि लाइभ भिडिओमा धानुकले नेपाली कांग्रेसका अम्बर बोहरा, भोजराज पन्त, खेमराज बोहरा र जनक धानुक लगायतका व्यक्तिहरूले आफूलाई जेनजी भन्दै कुटपिट गरेको र नाङ्गो पारेको आरोप लगाएका थिए ।

प्रहरीले मृतककी श्रीमती रमा धानुकले दिएको जाहेरीका आधारमा भिडिओमा नाम उल्लेख गरिएका चारै जनालाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि शनिबार पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक बोहराले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए । भिडिओमा धानुकले आफ्ना औंला र टाउकोमा लागेको चोट देखाएका छन् । उनले परिवारबाट समेत साथ नपाएको गुनासो गर्दै आफू 'सामाजिक अत्याचार'का कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।

धानुक धनगढीमा गाडी चालकको रूपमा काम गर्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १७:३७