काठमाडौँ । जेन-जी आन्दोलनको आडमा नेताहरूको घरदेखि सार्वजनिक सम्पत्ति जल्दा निजी सम्पत्तिहरूमा पनि आगजनी भयो । आगजनीकै क्रममा अटो हबको रूपमा चिनिने थापाथलीका कयौँ शोरुममा आगो झोसियो । आगजनीपछि सन्नाटा छाएको यस क्षेत्र पछिल्लो केही दिनयता भने क्षति विवरण सङ्कलन र पुनर्निर्माणमा जुट्न थालेको छ ।
२४ भदौमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको थापाथलीस्थित शोरुममा आगलागी भयो । शोरुममा आगलागीले पूर्ण क्षति भएको छ । त्यहाँ रहेको पाँच ओटा ईभीसहित आठ ओटा गाडी जलेका छन् । विद्युतीय गाडीहरूमा टाटाको टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र दुई ओटा कर्भ ईभी जलेका हुन् ।
विद्युतीय गाडीहरूमा प्रयोग हुने ब्याट्री आगजनीमा परेर पड्किँदा शोरुममा थप क्षति पुगेको कम्पनीकी मार्केटिङ म्यानेजर अभिरुचि गिरीले जानकारी दिइन् । शोरुममा पूर्ण रूपमा आगजनी भएकाले हालसम्म क्षति विवरण निस्किसकेको छैन ।
थापाथलीस्थित अग्नि इनकोर्पोरेटेड प्रालिको महिन्द्रा शोरुम पनि आगलागीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शोरुममा चार ओटा गाडी जलेर नष्ट भएका छन् । यद्यपि कुन मोडेलका कति ओटा ईभीहरू थिए भन्ने यकिन विवरण उपलब्ध भइसकेको छैन । हाल क्षति विवरण सङ्कलनको काम भइरहेको छ ।
कम्पनीकी एक कर्मचारीले भनिन्, “जल्नेमा ईभी गाडीहरू पनि भएकाले पूर्वाधार र कागजातहरूमा पनि ठुलो क्षति पुगेको छ । डेस्कटप, कम्प्युटर जलेको छ । थापाथलीको शोरुम तत्काल सञ्चालनमा ल्याउन सक्ने अवस्थामा छैन ।”
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सञ्चालन गरेको थापाथलीको ह्युन्डाइ शोरुममा पनि प्रदर्शनकारीले आक्रमण गरे । शोरुममा क्रेटा ईभीमा आगजनी गरिएको थियो । तर पूर्ण क्षति पुग्नुभन्दा पहिला नै कर्मचारीहरू मिलेर आगो निभाए । ठुलो आगजनीबाट जोगिए पनि तोडफोडका कारण बाहिरी सिसासहित सामग्री तोडफोड भए ।
यता सोही दिनको आन्दोलनमा शारदा ग्रुप अन्तर्गतको नक्सालमा हिल्टन होटल नजिकै रहेको निशानको नयाँ शोरुमका केही गाडीमाथि तोडफोड भयो । थापाथलीमा रहेको निशान र जिकर शोरुम तथा उत्तर ढोकामा रहेको ओमोडा, जेइको शोरुममा भने सामान्य तोडफोड भएपनि ठुलो क्षति भने नभएको बुझिएको छ ।
पुनर्निर्माणमा र सेवा दिन जुट्दै
पछिल्लो दिनहरूमा सार्वजनिक र निजी क्षेत्र सामान्य अवस्थामा फर्किरहेका छन् । आगजनी र तोडफोडपछि अटो मोबाइल क्षेत्र बिस्तारै सामान्य अवस्थामा लैजाने गरी काम अघि बढाउन थालिएको छ । यसका लागि सिप्रदी ट्रेडिङले जलेको शोरुमको छेवैमा अस्थायी संरचना दिएर सेवा सञ्चालन सुरु गरेको छ ।
ह्युन्डाइको शोरुममा पनि तोडफोड भएका सामग्रीको मर्मत सम्भार गरेर शोरुम पुन: सञ्चालनको तयारी गरिएको छ । एक कर्मचारीले भने, “फुटेका सिसाहरू चाहिँ फेर्न बाँकी छ । एक-दुई दिनमा नै सेवा दिन सक्नेगरी तयारी अघि बढाइएको छ ।”
यस्तै अग्नि इनकोर्पोरेटेड प्रालिको थापाथलीस्थित महिन्द्रा शोरुमबाहेक अन्य स्थानका शोरुमहरू आइतबारदेखि सञ्चालनमा आएका छन् । एक कर्मचारीले भनिन्, “हाम्रा ग्राहक र शुभचिन्तकहरूले शोरुममा पुगेको नोक्सानीका बारेमा चिन्ता व्यक्त गरिरहनु भएको छ । अन्य शोरुमबाट केही समयका लागि सेवा लिन तयार हुनुहुन्छ ।” थापाथलीको शोरुममा क्षति पुगेपछि त्यहाँका कर्मचारीलाई अन्य शोरुममा स्थानान्तरण गरिएको छ ।
आगजनीका कारणले ठुलो व्यापारिक घाटा भएपनि विचलित नभएर अघि बढेको उनले सुनाइन् । उनले भनिन्, “कसैको ज्यानको क्षति नभएकोमा बढी खुसी छौँ । सामानको क्षतिको रिकभर गर्न सकिन्छ, तर ज्यानको क्षति ठुलो कुरा हो । ग्राहकहरूलाई सेवा उपलब्ध गराउन निरन्तर प्रतिबद्ध छौँ ।”
दशैँ नजिकिँदै गर्दा बजारको चिन्ता, तर कम्पनीहरू आशावादी
शोरुममा क्षति भए पनि कम्पनीहरूले दशैँको बजारलाई प्रभावित नपार्ने गरी तयारी गरिरहेका छन् । शारदा ग्रुपअन्तर्गतका शोरुम आइतबारदेखि सञ्चालनमा आएका छन् तर गाडी हेर्न ग्राहकको भीड भने कम रहेको छ । एक कर्मचारीले भने, “बुकिङ र डेलिभरी हाल स्थगित छन् । बजार सामान्य हुन अझै केही समय लाग्ने देखिन्छ । दशैँसम्म बजार सामान्य हुन्छ भन्ने आशा छ ।”
अन्य क्षतिग्रस्त शोरुमहरू पनि दशैँको व्यापारलाई असर नपार्ने गरी पुनर्निर्माणमा जुटेका छन् । आन्दोलनका क्रममा क्षति भएका निशान, ओमोडा, जेक्को र जिकर गाडीको मर्मतका लागि श्रम शुल्क निःशुल्क गरिएको छ । अन्य क्षतिग्रस्त शोरुमहरू पनि दशैँको व्यापारलाई असर नपार्ने गरी पुनर्निर्माणमा जुटेका छन् । कम्पनीहरूले ग्राहकलाई छिटोभन्दा छिटो सेवा प्रवाह गरी दशैँको अवसरलाई सदुपयोग गर्ने प्रयास गरिरहेका छन्।
पछिल्लो अध्यावधिक: भदौ ३१, २०८२ १८:५३
