जेन-जी आन्दोलनको नाममा गोफन्डमीमा दान माग्नेहरू छ्यापछ्याप्ती, होला त सदुपयोग ?
भदौ ३१, २०८२ २०:१७
काठमाडौँ । २३ भदाै (८ सेप्टेम्बर)मा युवा पुस्ताले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्ने योजना बनाइरहेका थिए । कसले नेतृत्व लिने, कस्ता मागहरू राख्ने, कसरी प्रदर्शन गर्ने, प्रदर्शनका क्रममा असम्बन्धित पक्ष आए भने कसरी छुट्याउने लगायतका विषयमा छलफल भइरहेको थियो । यी विविध पक्षको चर्चा भइरहँदा त्यहाँ आर्थिक पक्षको कुरा भने छुटेको थियो ।
यस अभियानको नेतृत्वकर्ता कोही नहुने भएकाले यसलाई ‘लिडरलेस’ (नेतृत्वविहीन) र सामाजिक सञ्जालमा गोप्य रूपमा थालिएकाले ‘फेसलेस’ (अनुहारविहीन) नाम दिने भन्दै रेडिटमा चर्चा पनि भएको थियो ।
त्यहाँ विभिन्न पक्षको चर्चा भए पनि आर्थिक रूपमा कहाँबाट सहयोग लिने भन्ने विषयमा खासै चर्चा भएको थिएन । विशेषगरी प्रदर्शनमा सहभागीले नै आफ्नो गच्छेअनुसार पम्प्लेट बनाउने र राष्ट्रिय झन्डा बोक्ने जस्ता विषयमा छलफल भएको थियो । प्रदर्शनको दोस्रो दिनदेखि भने ‘हामी नेपाल’ नामक संस्थाका प्रतिनिधि प्रदर्शनमा देखिएका थिए ।
प्रदर्शनकै चर्चा भइरहँदा यसको मौका छोपेर धेरैले अनलाइन दान सङ्कलन प्लेटफर्म ‘गोफन्डमी’ (GoFundMe) मा दान सङ्कलन गर्न थालेको पाइएको छ । अहिले गोफन्डमीमा नेपालको ‘जेन-जी’ प्रदर्शनबारे खोज्दा अनेकौं पोस्ट भेटिन्छन् । खासगरी नेपाल बाहिर रहेका नेपालीहरूले दान सङ्कलन गरिरहेको देखिन्छ ।
यही बीचमा घाइते प्रदर्शनकारीको उपचार गर्ने, मृतकलाई राहत वितरण गर्ने र भौतिक संरचना पुनर्निर्माण गर्ने नाममा विभिन्न पक्षले गोफन्डमीमा रकम सङ्कलन गरेका छन् । २३ भदाैमा राज्य पक्षबाट भएको दमनका क्रममा १९ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । दोस्रो दिन प्रदर्शनकारी, प्रहरी लगायतको ज्यान गएको थियो । हालसम्म ७० जनाभन्दा बढीको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।
गोफन्डमीमा मनिष उपाध्यायले जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको परिवारलाई राहत र घाइतेलाई उपचार गर्ने भन्दै रकम सङ्कलन गर्न थालेका थिए । कुल आठ हजार डलर सङ्कलन गर्ने उक्त अभियानमा हालसम्म ६३०० डलर उठिसकेको छ ।
त्यस्तै तेन्जिङ सी गुरुङले जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको परिवारलाई सहयोग गर्ने भन्दै रकम सङ्कलन गर्न थालेकी थिइन् । ५५०० डलर उठाउने लक्ष्य रहेकोमा त्यसमा ५३५ डलर सङ्कलन भएको देखिन्छ ।
लण्डनका डेभिड स्ट्राउट गोडेले पनि नेपालमा भएको जेन-जी प्रदर्शनका क्रममा घाइते भएकालाई सहयोग गर्ने भन्दै रकम सङ्कलन गर्न थालेका थिए । २६०० पाउन्ड लक्ष्य राखिएकोमा हालसम्म २५ पाउन्ड सङ्कलन भएको देखिन्छ ।
रोषन राई नामका व्यक्तिले ४० हजार डलर सङ्कलन गर्ने लक्ष्य राख्दै गोफन्डमीमा रकम सङ्कलन गर्न थालेका थिए । उनले हालसम्म २५० डलर सङ्कलन गरिसकेका छन् ।
त्यसरी नै माया फाउन्डेसनले पनि जेन-जी प्रदर्शनका क्रममा पीडित भएकालाई आपतकालीन सहयोग सङ्कलन गर्न अभियान चलाएको थियो । कुल दुई हजार पाउन्ड उठाउने लक्ष्य रहेकोमा हालसम्म ११२६ पाउन्ड सङ्कलन भइसकेको छ ।
युनाइटेड नेपलिज एसोसियसनले पनि गोफन्डमीमा जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई सहयोग गर्ने भन्दै एक लाख १ डलर उठाउने लक्ष्यका साथ गोफन्डमीमा अभियान चलाएको थियो । उक्त संस्थाले हालसम्म २५ हजार ३०४ डलर सङ्कलन गरिसकेको छ ।
त्यस्तै विष्णु मिश्र नामका व्यक्तिले पनि नेपाल पुनः निर्माण गर्ने भन्दै रकम सङ्कलन गर्न थालेका थिए । नौ हजार डलर उठाउने लक्ष्य राखेकोमा उनले ३७० डलर सङ्कलन गरिसकेका छन् ।
विजय सापकोटासहित अन्य दुई जनाले जेन-जी प्रदर्शनमा औषधी र आपतकालीन सहयोगका लागि भन्दै ५० हजार युरो सङ्कलन गर्न गोफन्डमीमा अभियान चलाएका थिए । त्यसबाट हालसम्म ३८०१ युरो सङ्कलन भइसकेको छ ।
नेपलिज बिजनेस डाइरेक्टरी नामक संस्थाले पनि गोफन्डमीमा सहयोग सङ्कलन थालेको थियो । जेन-जी प्रदर्शनका नेपाली पीडितलाई सहयोग गर्ने भन्दै १६ हजार पाउन्ड उठाउने लक्ष्य उनीहरूको थियो । हालसम्म १४ हजार ८६२ पाउन्ड सङ्कलन भइसकेको छ ।
अमृत अर्याल नामका व्यक्तिले पनि जेन-जी प्रदर्शनका पीडित र उनीहरूका परिवारलाई सहयोग गर्न भन्दै १० हजार डलर उठाउने लक्ष्यसहित अभियान सुरु गरेका थिए । गोफन्डमीमा हालसम्म उनले २,१७१ डलर सङ्कलन गरिसकेका छन् ।
जुलियन भिक्टोरियानो नामका व्यक्तिले पनि नेपालको जेन-जी प्रदर्शनलाई सहयोग गर्ने भन्दै ११ हजार डलर उठाउने लक्ष्य राख्दै फन्डरेज सुरु गरेका थिए । गोफन्डमीमा उनले हालसम्म ४७ डलर सङ्कलन गरेका छन् ।
५५०० पाउन्ड उठाउने लक्ष्यसहित रविन रानाले फन्डरेज सुरु गरेका थिए । उनले हालसम्म ३०५ पाउन्ड सङ्कलन गरिसकेका छन् । त्यस्तै सोवित शर्माले ३१८ पाउन्ड, हरि गौतमले ७०६ अस्ट्रेलियन डलर, इशान मराथा र उनको टिमले ४४७१ डलर, अभियान क्षेत्रीले ५३ हजार ५७३ अस्ट्रेलियन डलर, जेन-जी नेपालले ३५ युरो सङ्कलन गरिसकेका छन् ।
त्यसैगरी शान्ति श्रेष्ठले १५५ अस्ट्रेलियन डलर, दिपेन्द्र सिलवालले १७५ डलर, लक्ष्य यादवले १३३ डलर, सर्जु नेउपानेले ८४५ अस्ट्रेलियन डलर सङ्कलन गरके छन् ।
अभाश बमजनले चार लाख ६० हजार अस्ट्रेलियन डलर सङ्कलन गर्ने लक्ष्य राखेकोमा हालसम्म तीन लाख ४० हजार ३७ अस्ट्रेलियन डलर सङ्कलन गरिसकेका छन् ।
त्यसैगरी रिन्जी शेर्पाले १,६६६ डलर, नेपलिज स्टुडेन्ट एसोसिएसनले १०६५ डलर, प्रवेश घिमिरेले ३९२ डलर, यार्सा भान फुटबल क्लबले ९८८ क्यानेडियन डलर, विशाल गिरीले ३५९ डलर सङ्कलन गरिसकेका छन् ।
यसरी केहीले संस्थागत रूपमा, केहीले व्यक्तिगत रूपमा र केहीले सामूहिक रूपमा रकम सङ्कलन गर्न थालेका छन् । नेपाली विद्यार्थी मात्र नभई विदेशी नागरिकले पनि नेपालीका लागि भन्दै रकम सङ्कलन गरेको देखिन्छ ।
केहीले रकमको विषयमा आफ्नो इन्स्टाग्राम अकाउन्टबाट अपडेट गरिरहेका छन् । रकम कसलाई, कसरी वितरण गर्ने भन्नेबारे सामाजिक सञ्जालबाटै जानकारी दिइरहेका छन् । तर, व्यक्तिगत रूपमा सङ्कलन गर्ने अधिकांशले यसबारे खासै चर्चा गरेको देखिंदैन ।
जेन-जी प्रदर्शनका क्रममा घाइते भएका पीडित, ज्यान गुमाउनेका आफन्त लगायतसँग उनीहरू कसरी पुग्छन् भन्ने पनि स्पष्ट छैन । केहीले भने देशमा सक्रिय नाफामुखी संस्थामार्फत सहयोग गर्ने बताएका छन् । तर, सबैभन्दा महत्त्वपूर्ण प्रश्न भने पारदर्शी सम्बन्धी उठेको छ ।
चर्चित व्यक्तिहरूले यस्ता अनलाइन प्लेटफर्ममा सङ्कलन गरेको रकममा समेत हिनामिना हुने गरेको देखिन्छ । यसमा भने रकम सङ्कलन गर्ने सबै सङ्गठित रूपमा लागेका छैनन् । फरक फरक व्यक्ति, फरक फरक संस्था, फरक फरक समूहले रकम सङ्कलन गर्ने गरेको देखिन्छ । तर, उनीहरू कसरी रकम सङ्कलन गर्ने भन्नेमा भने बढी द्विविधा र शंका उब्जिने देखिन्छ ।
पछिल्लो अध्यावधिक: भदौ ३१, २०८२ २०:२०
