एआई सिर्जित तस्बिर
काठमाडौँ । यही ९ सेप्टेम्बरमा एप्पलले आफ्नो बहुप्रतीक्षित आईफोन १७ सिरिज सार्वजनिक गर्यो । नयाँ फोनको चर्चासँगै त्यसको केही दिनपछि जारी गरिएको नयाँ अपरेटिङ सिस्टम ‘आईओएस २६’ ले भने प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
विश्वभरका आईफोन प्रयोगकर्ताले यो नयाँ अपडेट इन्स्टल गरेपछि फोनको ब्याट्री पहिलेभन्दा निकै छिटो सकिन थालेको गुनासो गरेका छन् । यो अपडेट एप्पलको जुन महिनामा भएको ‘वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स’मा घोषणा गरिएको थियो । अपडेट इन्स्टल गरेपछि धेरै प्रयोगकर्ताले आफ्नो फोनको ब्याट्री केही घण्टामै सकिएको अनुभव सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।
एक प्रयोगकर्ताले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मैले ५८ मिनेटअघि मात्र फोन फुल चार्ज गरेको थिएँ, अहिले ७९ प्रतिशतमा झरिसक्यो । आईओएस २६ ले मेरो फोनलाई काम नलाग्ने बनाइरहेको छ ।”
अर्का एक प्रयोगकर्ताले आक्रोश पोख्दै भने, “आईओएस २६ मा अपडेट गरेदेखि मेरो फोन तातिरहेको छ र ब्याट्री हेल्थ पनि ८० प्रतिशतमा झरेको छ । मैले चार्ज गर्ने बानीमा कुनै परिवर्तन गरेको छैन ।”
त्यस्तै अर्का एक प्रयोगकर्ताले पनि ब्याट्री समस्याबारे लेखेका छन्, “आज बिहान मैले आफ्नो कामको फोन सामान्यभन्दा कम चलाएँ, तर पनि ब्याट्री ५० प्रतिशतमा झरिसकेको छ ।”
प्रयोगकर्ताको गुनासो बढेपछि एप्पलले भने यो एक सामान्य प्रक्रिया भएको बताएको छ । आफ्नो एक सपोर्ट डकुमेन्टमा एप्पलले भनेको छ, “कुनै पनि अपडेट, विशेषगरी ठुलो अपडेट पूरा भएपछि ब्याट्री लाइफ र फोनको तापक्रममा अस्थायी असर देखिन सक्छ । यो सामान्य हो, किनभने तपाईँको डिभाइसले ब्याकग्राउन्डमा डेटा र फाइल इन्डेक्स गर्ने, नयाँ एसेट डाउनलोड गर्ने र एप अपडेट गर्ने जस्ता सेटअप प्रक्रिया पूरा गर्न समय लिन्छ ।”
नयाँ फिचरले डिभाइसबाट थप स्रोत प्रयोग गर्न सक्ने भएकाले केही प्रयोगकर्ताले पर्फमेन्स र ब्याट्री लाइफमा सामान्य असर महसुस गर्न सक्ने कम्पनीले जनाएको छ ।
आईओएस २६ मा ब्याट्रीको समस्या मात्र नभई प्रयोगकर्ताले अन्य फिचरको पनि आलोचना गरेका छन् । त्यसमा पनि ‘एभिल रेड क्लक’ अर्थात् डरलाग्दो रातो घडीको आलोचना भइरहेको छ । नयाँ अपडेटमा फोनलाई तेर्सो राख्दा लक स्क्रिनमा घडी देखिने फिचर थपिएको छ । कम उज्यालोमा यो डिफल्ट रूपमा कालो ब्याकग्राउन्डमा रातो रङको घडीमा परिणत हुन्छ ।
यसलाई प्रयोगकर्ताले ‘डरलाग्दो’ भनेका छन् । एक प्रयोगकर्ताले टिकटकमा भनेका छन्, “यो किन एउटा विकल्पको रूपमा राखियो ? र यो रातो नै किन ? यो अहिलेसम्मकै सबैभन्दा डरलाग्दो कुरा हो ।”
त्यस्तै यस अपडेटमा एप आइकन, मेनु र पप-अपलाई पारदर्शी सिसा जस्तो बनाउने ‘लिक्विड ग्लास डिजाइन’ पनि प्रस्तुत गरिएको छ । यसले ब्याकग्राउन्ड कलरलाई ब्लर देखाउँछ । केही प्रयोगकर्ताले यसलाई ‘एप्पलले बनाएको सबैभन्दा कुरूप डिजाइन’ भनेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘स्टिभ जब्सले यसलाई कहिल्यै अनुमोदन गर्ने थिएनन् ।”
आईफोन १७ ले बजारमा उत्साह ल्याए पनि आईओएस २६ अपडेटले ब्याट्रीदेखि डिजाइनसम्मका विभिन्न पक्षमा प्रयोगकर्तालाई निराश बनाएको देखिन्छ । एप्पलको दाबी अनुसार ब्याट्रीको समस्या केही दिनमा आफैँ समाधान हुन्छ । एप्पल यस्ता समस्या नयाँ अपडेटमार्फत समाधान गर्दै आइरहेको पनि छ ।
पछिल्लो अध्यावधिक: असोज १, २०८२ १४:२६
