close

क्षतिग्रस्त वडा कार्यालयलाई डिजी लिंकको कम्प्युटर सहयोग, प्रभावित संस्थालाई ३ महिना निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

असोज १, २०८२ १६:२२

क्षतिग्रस्त वडा कार्यालयलाई डिजी लिंकको कम्प्युटर सहयोग, प्रभावित संस्थालाई ३ महिना निःशुल्क इन्टरनेट

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड र आगजनी गरी ध्वस्त बनाइदिएको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ को कार्यालयलाई इन्टरनेट सेवा प्रदायक डिजी लिंक नेटवर्क प्रालिले कम्प्युटर सेट सहयोग गरेको छ । आइतबार डिजी लिंकका प्रबन्ध निर्देशक विवेक वाग्लेले वडाध्यक्ष धनबहादुर पुलामी ‘बाबुराम’ लाई एक थान सीपीयू, मनिटर, किबोर्ड र माउससहितको पूर्ण कम्प्युटर सेट हस्तान्तरण गरे ।

वाग्लेले सामाजिक उत्तरदायित्व वहन गर्दै वडा कार्यालयको सेवा प्रवाहलाई निरन्तरता दिन यो सहयोग गरेको जानकारी दिए ।

“देशभरका सरकारी संरचना प्रदर्शनकारीले जलाएर खरानी बनाएका छन् । हामी पूर्ववत् अवस्थामै फर्कनुपर्नेछ । त्यसका लागि हरेक नागरिकले सकेको सहयोग गर्नुपर्ने ठानेका छौं,” उनले भने ।

वडाध्यक्ष पुलामीले सबैको सहयोगबाट नै सहज रूपमा जनतालाई सेवा दिने प्रयासमा रहेको बताए । वडा कार्यालय जलेर ध्वस्त भएकाले नयाँ ठाउँबाट सेवा दिने तयारी भइरहेको उनको भनाइ छ ।

यसका साथै, डिजी लिंकले आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका निजी तथा सार्वजनिक संस्थाहरूलाई आफ्नो नेटवर्क भएको क्षेत्रमा सेवा पुनःस्थापना गर्न कठिनाइ भएको अवस्थामा तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको छ । यसका लागि प्रभावित संस्थाहरूलाई डिजी लिंकको सम्पर्क नम्बर (९८५६०१४१७५ वा ९८०२८१३४२४) मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १, २०८२ १६:२४