काठमाडौँ । विदेशमा रहेका सेवाग्राही तथा नेपाल आउने पर्यटकहरुले अब अन्तर्राष्ट्रिय कार्डबाटै राजस्व तिर्न पाउने भएका छन् । बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्यसचिव एकनारायण अर्यालले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (International Card Network) अन्तरआबद्धताको शुभारम्भ गरेका छन् ।
यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, अलि पेलगायतका अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमा आबद्ध कार्डमार्फत अध्यागमन विभागले प्रदान गर्ने सेवा प्राप्त हुनेछ । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरूका लागि पनि सहज हुने महालेख नियन्त्रक कार्यालयको अपेक्षा छ ।
यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएपनि केही समयमा अन्य सेवामा पनि विस्तार गर्ने सरकारी तयारी छ ।
राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तरआबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले सजिलै राजस्व भुक्तानी गर्न सक्ने भएका छन् । यो भुक्तानी प्रक्रियाले सरकारी सेवालाई पेपरलेस, फेसलेस बनाउनुका साथै चौबिसै घण्टा सेवा प्रवाह सुनिश्चित गरेको महालेख नियन्त्रक कार्यालयले जनाएको छ । साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा टेवा पुग्ने सरकारको अपेक्षा छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०८२ १५:२२
