close

राससको भ्रामक समाचारले ल्यायो हङ्गामा, राठीको भिडिओमा झलनाथ पत्नीको मृत्युको झुटो दाबी

टेकपाना टेकपाना

असोज ३, २०८२ २०:२६

राससको भ्रामक समाचारले ल्यायो हङ्गामा, राठीको भिडिओमा झलनाथ पत्नीको मृत्युको झुटो दाबी

 

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) बाट प्रसारित एउटा गम्भीर त्रुटीपूर्ण समाचारका कारण पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीको मृत्यु भएको झुटो खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएको छ । भारतीय चर्चित युट्युबर ध्रुव राठीले आफ्नो करोडौँ पटक हेरिएको भिडिओमा यही भ्रामक सूचनालाई स्थान दिएपछि यो विषयले थप चर्चा पाएको हो ।

गत १० सेप्टेम्बरमा राठीले ‘What’s REALLY Happening in Nepal ?’ शीर्षकमा नेपालको हालैको प्रदर्शनबारे बनाएको भिडिओमा डेढ करोडभन्दा बढी पटक हेरिएको छ । उक्त भिडिओमा उनले प्रदर्शनका क्रममा अर्थमन्त्रीलाई सडकमा कुटपिट गरिएको र घरमा आगजनी हुँदा पूर्वप्रधानमन्त्रीकी झलनाथ खनालकी श्रीमतीको निधन भएको जस्ता विभिन्न तथ्यगत रूपमा गलत दाबी प्रस्तुत गरेका छन् ।

भिडिओमा अर्थमन्त्रीलाई कुटपिट गरिएको भन्दै देखाइएको दृश्य वास्तवमा ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन र प्रहरी हवल्दार चक्रबहादुर कटुवाल प्रदर्शनकारीबाट कुटिएको घटनाको भएको खुलेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका भ्रामक भिडिओलाई आधार बनाएर एनडीटीभी, टाइम्स अफ इन्डिया, गल्फ न्युज जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत तत्कालीन अर्थमन्त्री विष्णु पौडेल कुटिएको भ्रामक समाचार प्रकाशित गरेका थिए ।

सबैभन्दा गम्भीर त्रुटि पूर्वप्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मी चित्रकारको मृत्यु भएको भन्ने विषयमा देखिन्छ ।

राठीले आफ्नो स्रोतका रूपमा भारतीय सञ्चार माध्यम ‘द मिन्ट’ लाई उल्लेख गरेका छन् । ‘द मिन्ट’ले भने नेपाली अनलाइन ‘खबरहब’ लाई उद्धृत गरेको थियो । तर, ‘खबरहब’ को वेबसाइटमा हाल यस्तो कुनै समाचार भेटिँदैन । आर्काइभमा पनि सो समाचार प्रकाशन भएको भेटिंदैन । 

नेपाल फ्याक्टचेक’ले गरेको तथ्य जाँचअनुसार यो भ्रामक समाचारको एक स्रोत राष्ट्रिय समाचार समिति (रासस) रहेको पाइएको छ । राससबाट सम्प्रेषित उक्त समाचार लोकान्तर, थाहा खबर लगायतका सञ्चार माध्यमले प्रकाशित गरेका थिए । पछि समाचार मिथ्या भएको पुष्टि भएपछि उनीहरूले क्षमा याचनासहित उक्त सामग्री हटाएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज ३, २०८२ २०:२६