close

छेउमै रहेको उपत्यका प्रहरी कार्यालय जलिरहँदा यसरी जोगियो साइबर ब्युरो

टेकपाना टेकपाना

असोज ४, २०८२ १८:४४

छेउमै रहेको उपत्यका प्रहरी कार्यालय जलिरहँदा यसरी जोगियो साइबर ब्युरो

 

काठमाडौँ । २४ भदौमा देशव्यापी रूपमा फैलिएको प्रदर्शन र हिंसाको क्रममा प्रदर्शनकारीको मुख्य निशानामा प्रहरी प्रशासन परेको थियो । २३ भदौमा राज्यपक्षबाट भएको हत्याको सम्पूर्ण दोष प्रहरीलाई लगाउँदै आक्रोशित भिडले देशभरका प्रहरी कार्यालय र कर्मचारीमाथि आक्रमण गर्‍यो । त्यही क्रममा राजधानीको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालय पनि प्रदर्शनकारीको निशाना बन्यो । 

कार्यालयमा तोडफोड, आगजनी र लुटपाट मच्चाइयो । तर, त्यही जलिरहेको कार्यालयबाट दक्षिणतर्फ करिब २४० मिटरको दूरीमा रहेको नेपाल प्रहरीको साइबर ब्युरो भने स्थानीय बासिन्दाको सुझबुझका कारण ठुलो क्षतिबाट जोगिन सफल भयो ।

साइबर ब्युरो देशभरका साइबर अपराधसँग सम्बन्धित घटनाको अनुसन्धान गर्ने एक संवेदनशील निकाय हो, जहाँ महत्त्वपूर्ण प्रमाण, सर्भर, डेटा र अनुसन्धानका फाइलहरू सुरक्षित राखिएका हुन्छन् । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यो दिन कार्यालयमै थिए । उनी सम्झिन्छन्, “म दिउँसो १ बजे एक रेडियोलाई अन्तर्वार्ता दिएर बसेको थिएँ । महिला तथा बालबालिका सम्बन्धी साइबर अपराधबारे अन्तर्वार्ता सकिने बित्तिकै बाहिर जमात आइसकेको थियो ।”

बिहानको निर्देशन अनुसार कुनै पनि बेला थप मद्दत आवश्यक पर्न सक्ने भन्दै ब्युरोले ४० जना प्रहरीलाई बर्दीमा तयारी अवस्थामा राखेको थियो । तर, अवस्था एकाएक बदलियो । प्रवक्ता अवस्थी भन्छन्, “स्थिति अचानक परिवर्तन भएपछि माथिबाट ‘आफू सुरक्षित हुने’ भन्ने निर्देशन आयो । त्यसपछि हामीले बर्दी लगाएका प्रहरीलाई पनि सिभिल ड्रेसमा फर्कायौं ।” 

“हामी अनुसन्धान गर्ने निकाय हौं, हामीसँग हतियार पनि हुँदैन । प्रायः सबै सिभिल ड्रेसमा हुन्छौं,” अवस्थीले ब्युरोको प्रकृतिबारे प्रस्ट्याए, “त्यो अराजक भिडको अगाडि हामी प्रतिकार गर्न सक्ने अवस्थामा थिएनौं ।” 

दिउँसो करिब २ बजेतिर उपत्यका प्रहरी कार्यालयमा आगो लगाइसकेपछि अराजक भिड साइबर ब्युरोतर्फ अघि बढ्यो । पूर्वसूचनाका आधारमा ब्युरोका कर्मचारीहरूलाई एक-एक गर्दै सुरक्षित रूपमा बाहिर निकालिसकिएको थियो र कार्यालय बन्द गरिएको थियो । बाहिरबाट केही प्रहरीले सञ्चार सेट बोकेर स्थितिको निगरानी गरिरहेका थिए । जब भिडले ब्युरोको भवनमा पनि आक्रमण र आगजनीको प्रयास गर्न थाल्यो, तब त्यहाँका स्थानीय बासिन्दाहरू नै ‘ढाल’ बनेर उभिए ।

असनको घना र ऐतिहासिक बस्तीसँगै जोडिएको उक्त भवनमा आगो लाग्नुको अर्थ पूरै असन बजार खरानी हुनु हो भन्ने उनीहरूले बुझेका थिए । स्थानीयहरूले भिडलाई सम्झाउँदै भने, “यो भवनमा आगो लगाउनु भनेको हाम्रो घर जल्नु हो । यहाँ आगो लाग्यो भने पूरै असन बजार सखाप हुन्छ । यो भवनमा कोही छैन, यसलाई जलाएर केही पाइँदैन ।”

असन क्षेत्रका घरहरू एक-अर्कासँग जोडिएका छन् र सानो आगोले पनि पूरै पुरानो सहरलाई निल्न सक्ने खतरा थियो । स्थानीयको यही तर्क र आफ्नो घर-व्यवसाय जल्ने डरले प्रदर्शनकारी पछि हटेका थिए ।

यदि प्रदर्शनकारी आफ्नो प्रयासमा सफल भएका भए देशको साइबर सुरक्षासम्बन्धी अनुसन्धानमा अपूरणीय क्षति पुग्ने निश्चित थियो । “हाम्रो कार्यालयमा सर्भर, इन्टर्नल एप्लिकेसन, संवेदनशील डेटा, अनुसन्धानका मिसिल र प्रमाणका रूपमा राखिएका डिजिटल उपकरण थिए,” अवस्थीले टेकपानासँग भने, “ती सबै नष्ट भएको भए अनुसन्धान प्रक्रिया नै ध्वस्त हुन्थ्यो ।”

ब्युरोले सुरक्षित होला भनेर उपत्यका प्रहरी कार्यालयमा पार्किङ गरेका आफ्ना चार ओटा गाडी भने आगजनीमा परेर पूर्ण रूपमा जले । तर, स्थानीय नागरिकको सुझबुझले प्रहरीको प्रतिकार क्षमता नभएको र संवेदनशील मानिएको साइबर ब्युरोको भवन र त्यहाँ रहेका लाखौं मूल्यका उपकरण र प्रमाण भने जोगिन सफल भए ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८२ १८:४४