close

भारतमा ‘पहिलो आईफोन खरिदकर्ता’ बन्ने होड: पहिले प्रशंसा हुन्थ्यो, अचेल ट्रोलको पात्र

टेकपाना टेकपाना

असोज ४, २०८२ २१:५१

भारतमा ‘पहिलो आईफोन खरिदकर्ता’ बन्ने होड: पहिले प्रशंसा हुन्थ्यो, अचेल ट्रोलको पात्र

काठमाडौँ । हरेक वर्ष एप्पलले आफ्नो नयाँ आईफोन सार्वजनिक गर्दा विश्वभरका प्रविधि पारखीमाझ एक विशेष किसिमको उत्साह र प्रतीक्षा छाउँछ । तर, भारतमा यो उत्साहले एक फरक प्रतिस्पर्धात्मक रूप लिने गरेको छ ।

त्यहाँ एप्पलको पहिलो आधिकारिक स्टोरबाट सबैभन्दा पहिलो आईफोन कसले किन्ने भन्ने होडबाजी नै चल्छ । घण्टौँ, कहिलेकाहीँ त एक दिनभन्दा बढी समय लाइनमा बसेर पहिलो फोन खरिद गर्ने व्यक्तिले मिडियामा छाउने र चर्चा बटुल्ने गर्थे । तर, कुनै बेला प्रशंसा र क्रेजको विषय मानिने यो प्रवृत्ति अहिले सामाजिक सञ्जालमा व्यङ्ग्य, ट्रोल र उपहासको निशाना बनेको छ ।

यो प्रवृत्तिको जग सन् २०२३ मा बस्यो । त्यतिबेला एप्पलले भारतको मुम्बईमा आफ्नो पहिलो आधिकारिक रिटेल स्टोर सञ्चालनमा ल्याएको थियो । एप्पलका लागि भारत एक विशाल र महत्त्वपूर्ण बजार भएकाले यो स्टोरको उद्घाटन आफैँमा एक ठुलो समाचार थियो । त्यही वर्ष सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक भएपछि मुम्बईस्थित स्टोरमा फोन किन्नेहरूको अभूतपूर्व भिड देखियो । स्टोर खुल्नुभन्दा निकै अगाडिदेखि नै मानिसहरू लामबद्ध थिए । 

त्यही भिडको अग्रपङ्क्तिमा थिए, गुजरातको अहमदाबादबाट मुम्बईसम्मको यात्रा तय गरेका उज्ज्वल शाह । उनले स्टोर खुल्नुभन्दा १७ घण्टा अघिदेखि लाइनमा बसेर भारतको पहिलो एप्पल स्टोरबाट पहिलो आईफोन १५ खरिद गर्ने बेतुकको कीर्तिमान रचे । जब पत्रकारले उनलाई अहमदाबादमै पाइने फोन किन्न किन यति लामो यात्रा र प्रतीक्षाको दुःख गरेको भनेर प्रश्न गरे, उनको जवाफ थियो, “अहमदाबादमा आईफोन किन्ने सुविधा छ, तर यहाँ यो माहोलमा, यो अनुभवका साथ किन्नुको मज्जा नै बेग्लै हुन्छ । यस्तो माहोल अहमदाबादमा हुँदैन ।”

उनको यो ‘अनुभव’ प्रतिको लगाव अर्को वर्ष पनि देखियो । आईफोनको नयाँ संस्करण आईफोन १६ सिरिज आउँदा उज्ज्वल शाह फेरि मुम्बई पुगे र यसपटक २१ घण्टा लाइनमा बसेर आफूलाई ‘पहिलो खरिदकर्ता’ को रूपमा पुनः स्थापित गरे । तर, २०२५ मा भने मुम्बईको यो बेतुकको रेकर्ड दिल्लीका अङ्कुश नामका व्यक्तिले तोडे ।

शुक्रबारदेखि भारतमा पछिल्लो आईफोनको बिक्री सुरु हुँदा उनले आफू रातको २ बजेदेखि नै लाइनमा बसेको सञ्चारमाध्यमलाई बताए । उनले अन्य देशमा यस्तो लाइन लागेर फोन किन्नुपर्ने अवस्था नभएकाले यो विशेष अनुभवका लागि दिल्ली वा मुम्बईको स्टोरमा आउनुपर्ने तर्कसमेत गरे ।

यो ‘क्रेज’ केवल लामो प्रतीक्षामा मात्र सीमित रहेन । यस वर्ष दिल्लीस्थित एप्पल स्टोरमा आईफोन किन्न आएकाहरूबिच तँछाडमछाड हुँदा झगडा नै भयो, जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो । घण्टौँ लाइनमा बसेका मानिसहरूका दृश्यले एकातिर आईफोनप्रतिको अगाध मोह देखाउँथ्यो भने अर्कोतिर यसको औचित्यमाथि प्रश्न उठाउँथ्यो ।

यस्तो क्रेज र अराजकताका बीच यसपटक सामाजिक सञ्जालको प्रतिक्रिया भने बिल्कुलै फरक रह्यो । पहिले यस्ता खबरहरूलाई ‘आईफोनप्रतिको क्रेज’ वा ‘ब्रान्डप्रतिको विश्वास’ भनेर प्रशंसा गरिन्थ्यो भने यसपटक प्रयोगकर्ताहरूले यस्तो प्रवृत्तिलाई ‘जोकरपन’ र ‘बेतुकको काम’ भन्दै मजाक उडाउन थालेका छन् ।

‘द स्किन डक्टर’ नामक एक एक्स प्रयोगकर्ताले विगत तीन वर्षका पहिलो आईफोन खरिदकर्ताहरूको भिडिओ राख्दै व्यङ्ग्यात्मक टिप्पणी गरे, “एप्पल स्टोर २०२३ मा मुम्बईमा खुल्यो । २०२३ र २०२४ मा अहमदाबादबाट आएर २० घण्टा लाइनमा बसेका उज्ज्वल शाह पहिलो भए । यस वर्ष दिल्लीका अङ्कुशले ताज खोसे । उज्ज्वल भाइ, अर्को ‘गिक’सँग हार्दा पक्कै दुःख लाग्यो होला ।”

यस व्यङ्ग्यलाई थप गहिरो बनाउँदै युट्युबर नितिश राजपूतले लेखे, “आफ्ना नातिनातिनालाई सुनाउनका लागि कस्तो गजबको कथा: म एकपटक आईफोनको अलिकति फरक रङ किन्न १२ घण्टा लाइनमा बसेको थिएँ ।” अर्का एक प्रयोगकर्ताले त यसलाई भारतको सामाजिक-राजनीतिक अवस्थासँग जोड्दै लेखे, “हाम्रा बाबुबाजे ग्यास सिलिन्डरका लागि घण्टौँ लाइन बसेको कथा सुनाउँथे, हाम्रो पुस्ता आईफोनका लागि १२ घण्टा लाइन बसेको कथा सुनाउनेछ । मोदी छन् र त सबै सम्भव छ ।”

यो होडबाजीले भारतमा लामो समयदेखि बहसको विषय बनेको अर्को मुद्दालाई पनि सतहमा ल्याएको छ- त्यो हो अभिभावकले वर्षौँ दुःख गरेर कमाएको पैसाले छोराछोरीले महँगा ग्याजेट किन्ने प्रवृत्ति । यसैलाई लक्षित गर्दै नितिश राजपुतले गत वर्ष नै सचेत गराएका थिए- “कम्पनीको मार्केटिङको हल्लामा नफस्नुहोस् । एउटा फोन किन्नुहोस्, नबिग्रिउन्जेल चलाउनुहोस् अनि मात्र अर्को किन्नुहोस् ।” यस वर्षको नयाँ आईफोनमा आएको ‘कस्मिक अरेन्ज’ रङलाई केहीले एप्पलले भारतीय संस्कृति र हिन्दु धर्मलाई आकर्षित गर्न ल्याएको रणनीतिक रङ समेत भनेर विश्लेषण गरेका छन् । तर, कारण जेसुकै होस् भारतमा पहिलो आईफोन किन्ने होड अब सम्मानभन्दा बढी उपहासको पात्र बन्न थालेको छ ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८२ २१:५१