close

सञ्चारमन्त्री खरेलको पहिलो निर्णयः २ महिनामा काठमाडौँका सबै सार्वजनिक स्थलमा फ्रि इन्टरनेट

टेकपाना टेकपाना

असोज ६, २०८२ १७:२२

सञ्चारमन्त्री खरेलको पहिलो निर्णयः २ महिनामा काठमाडौँका सबै सार्वजनिक स्थलमा फ्रि इन्टरनेट

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालयमा पुगेर उनले पदभार गर्दै पहिलो निर्णयमा हस्ताक्षर समेत गरे ।

मन्त्री खरेलका अनुसार आजको दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सम्पूर्ण सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा दिने निर्णय भएको छ । सामाजिक सञ्जाल बन्द जेनजी आन्दोलनको उद्गम भएको उल्लेख गर्दै उनले जेनजी पुस्तालाई मध्यनजर गर्दै यो निर्णय लिइएको बताए ।

देशभरका सार्वजनिक स्थलहरूमा फ्रि इन्टरनेट एक्सेस दिन सकिने विषयमा विचार गर्दै उनले दूरसञ्चार प्राधिकरणको सहमति लिएर दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थलहरूमा फ्रि इन्टरनेट उपलब्ध भइसक्ने बाचा गरे ।

"सँगै काठमाडौँ बाहेक मंसिरभित्र काठमाडौँका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट पाउनु हुनेछ । सात ओटा प्रदेशका राजधानी र अन्य महत्त्वपूर्ण सहरमा पनि महत्त्वपूर्ण दश ओटा सहरमा पाँच महिनाभित्र निःशुल्क इन्टरनेट एक्सेस हुनेछ," उनले भने ।

विकासशील देशमा पात्र महत्त्वपूर्ण हुने भए पनि सिस्टम हाबी हुनुपर्ने पक्षमा आफू रहेको मन्त्री खरेलको भनाइ थियो । "एउटा मन्त्रीले ६ महिनामा कायापलट हुँदैन । यदि राजनीतिक हस्तक्षेप भएन, नेताको गोटी, मन्त्रीको चम्चा बनेनन् भने हाम्रा हरेक कर्मचारीहरू योग्यता र दक्षता राख्छन् । लोकसेवा त्यत्तिकै पास गरेर आएका होइनन्," उनले भने ।

"राजनीतिक हस्तक्षेपले समस्या निम्त्याएको हो । मभन्दा तपाईँहरू अनुभवी हुनुहुन्छ । मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुने छैन । म तपाईँबाट सिक्नेछु । म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु । म हस्तक्षेप गर्दिनँ, त्यो मेरो प्रतिबद्धता हो । देश र जनतालाई केन्द्रमा राखेर तपाईँहरू अगाडि बढ्नुहोस् । बाहिर बसेर नेता-ब्युरोक्रेसी खत्तम भयो भनिरहेका हुन्छौँ ।"

उनले अगाडि कर्मचारीलाई सम्बोधन गर्दै भने, "अबको ६ महिनापछि सुखद बिदाइ लिँदा गर्वले छाती फुलाएर दक्षिण एसियामै नेपालको ब्युरोकेसी सक्षम रहेको कुरा भन्न पाइयोस् । हामीले गर्ने कामहरू पारदर्शी होउन् । सुशासन, चुस्त दुरुस्त सेवा प्रवाहमा ध्यान दिनुहोस् । जनताले दु:ख नपाउन् । भ्रष्टाचार नियन्त्रण होस् । अब मन्त्रालय त्यो दिशामा अगाडि बढ्छ ।"

इमेज टेलिभिजनका समाचार सम्पादक समेत रहेका खरेलले सोमबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताका शपथ लिएका थिए । खरेलसँगै अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र मदन परियार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज ६, २०८२ १७:३२