काठमाडौँ । डोनल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार ग्रहण गर्नुभन्दा ठीक एक दिनअघि १९ जनवरी २०२५ को बिहान, अमेरिकीहरूले आफ्नो फोनमा रहेको भिडिओ-शेयरिङ एप टिकटकले अचानक काम नगर्दा एक अप्रत्याशित स्थितिको अनुभव गरे । लगभग १७ करोड अमेरिकी प्रयोगकर्ताको स्क्रिनमा एउटा मेसेज देखा पर्यो । त्यसमा लेखिएको थियो, “यो एप उपलब्ध छैन ।” यो अवस्था नौ महिनाअघि अर्थात् अप्रिल २०२४ मा सुरु भएको एउटा लामो र जटिल गतिरोधको परिणाम थियो ।
त्यतिबेला अमेरिकी संसदले टिकटकको चिनियाँ मातृ कम्पनी ‘बाइटडान्स’लाई एउटा स्पष्ट विकल्प दिएको थियो: या त टिकटकको अमेरिकी व्यापार कुनै अमेरिकी कम्पनीलाई बेच, नत्र अमेरिकामा पूर्ण प्रतिबन्धको सामना गर ।
चीनको बढ्दो प्रभाव र अमेरिकी नागरिकको डेटा सुरक्षासम्बन्धी गम्भीर चिन्तालाई आधार बनाएर अमेरिकामा यो कानुन दुवै दलको समर्थनमा पारित भएको थियो । तर, बाइटडान्सले अमेरिकी माग पूरा गरेन । जसको परिणामस्वरूप टिकटकमाथि प्रतिबन्ध लाग्यो ।
कथा यतिमै सकिएन । प्रतिबन्ध लागेको भोलिपल्टै टिकटक अमेरिकामा फेरि चल्न थाल्यो । किनकि सत्ता सम्हाल्नेबित्तिकै राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमार्फत टिकटकमाथिको प्रतिबन्धलाई ७५ दिनका लागि स्थगित गरिदिए । त्यसयता यो समयसीमा दुई पटक बढाइसकिएको छ ।
हालै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले टिकटकको अमेरिकी सञ्चालनको स्वामित्वलाई लिएर एउटा सम्झौताको खाका तयार भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमा लेखेका छन्, “युरोपमा संयुक्त राज्य अमेरिका र चीनबिच भएको ठुलो व्यापारिक बैठक धेरै राम्रो भएको छ । यो छिट्टै सम्पन्न हुँदैछ । हाम्रो देशका युवाले धेरै बचाउन चाहेको एउटा ‘निश्चित’ कम्पनीको विषयमा पनि सम्झौता भएको छ । उनीहरू धेरै खुसी हुनेछन् ! म शुक्रबार राष्ट्रपति सीसँग कुरा गर्नेछु । सम्बन्ध एकदमै सुदृढ रहेको छ ।”
चिनियाँ प्रतिनिधिले पनि व्यापार र बजारका नियमहरू मान्ने विषयमा दुवै पक्षबिच सहमति बनेको पुष्टि गरेका छन् । यस सम्झौतामा अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षा, सामग्रीको व्यवस्थापन र सबैभन्दा महत्त्वपूर्ण टिकटकको शक्तिशाली एल्गोरिदमको प्रयोगका लागि इजाजत दिने जस्ता विषय समावेश छन् ।
यो सम्पूर्ण विवादको जड अमेरिकी संसदले पारित गरेको ‘प्रोटेक्टिङ अमेरिकन्स फ्रम फरेन एडभर्सरी कन्ट्रोल्ड एप्लिकेसन एक्ट’ नामक कानुन हो । जसको मुख्य उद्देश्य अमेरिकी जनतालाई विदेशी विरोधीहरूद्वारा सञ्चालित एपबाट जोगाउनु हो ।
“यस कानुनअनुसार बाइटडान्सले आफ्नो अमेरिकी हिस्सा कुनै अमेरिकी कम्पनीलाई बेच्नुपर्ने हुन्छ । अन्यथा टिकटक अमेरिकामा कानुनी तवरबाट काम गर्न पाउँदैन,” बीबीसीसँग कुरा गर्दै मिनेसोटा युनिभर्सिटीका कानुनका एसोसियट प्रोफेसर तथा साइबर सुरक्षाविज्ञ एलन रोजनस्टिनले भने, “त्यस्तै टिकटकको क्लाउड होस्टिङ गर्ने अमेरिकी कम्पनी ओर्याकलले सेवा दिन पाउँदैन । साथै प्लेस्टोर र एपस्टोर जहाँबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ, त्यसमा पनि उपलब्ध हुँदैन । यदि बेवास्ता गरे भने उनीहरूले भारी जरिवाना तिर्नुपर्ने हुनसक्छ ।”
साइबर सुरक्षा विज्ञ एलनका अनुसार यसको पछाडि राष्ट्रिय सुरक्षाको गहिरो चासो लुकेको छ । पहिलो डेटा गोपनीयताको चिन्ता । किनकि टिकटकले आफ्ना १७ करोड अमेरिकी प्रयोगकर्ताको ठुलो मात्रामा व्यक्तिगत डेटा सङ्कलन गर्छ । जुन चिनियाँ सरकारको हातमा पर्न सक्ने जोखिम छ ।
दोस्रो, भ्रामक तथा मिथ्या सूचनाको प्रसारको खतरा । यदि चीन सरकारले टिकटकको एल्गोरिदमलाई नियन्त्रण गर्यो भने यसलाई अमेरिकाविरुद्ध गलत सूचना फैलाउने हतियारको रूपमा प्रयोग गर्न सक्ने चिन्ता छ ।
एक समय त अमेरिकामा टिकटकको यात्रा सकियो जस्तै लागेको थियो । तर राष्ट्रपति ट्रम्पले यो कानुन लागु गर्न केही समयका लागि रोक लगाइदिए । विज्ञहरू भने राष्ट्रपतिको यो निर्णय असंवैधानिक मान्छन् । एलन रोजनस्टिनका अनुसार कानुन लागु भइसकेकाले राष्ट्रपतिले त्यसलाई रद्द वा स्थगित गर्न सक्दैनन् ।
ट्रम्प सरकारले केवल चार अमेरिकी कम्पनीलाई ईमेल लेखेर निर्देशन दिए पुग्छ । त्यसपछि ती कम्पनीहरूले तुरुन्तै टिकटक बन्द गरिदिनेछन् । तर ट्रम्प सरकारको यो कदमले उनीहरू आफूलाई कानुनभन्दा माथि ठान्छन् भन्ने उदाहरण दिन्छ । तर यो मामिला ट्रम्पको मात्र होइन चिनियाँ सरकारको हातमा पनि छ ।
“बाहिर देखाउनका लागि त उनीहरू कुनै अमेरिकी कम्पनीले टिकटक किनोस् भनेर पर्खिरहेको बताउँछन् । वास्तवमा टिकटक किन्न चाहनेको कमी छैन । धेरै कम्पनीहरू यसलाई मनलाग्दो मूल्यमा किन्न तयार छन् ।
समस्या के हो भने चिनियाँ सरकारले बाइटडान्सलाई कुनै पनि अमेरिकी कम्पनीलाई टिकटक बेच्ने अनुमति दिँदैन,” एलन रोजनस्टिन थप्छन्, “अमेरिकामा टिकटकको उपस्थितिले चीनलाई आफ्नो प्रभाव जमाउने मौका दिएको छ । यसबाट उसलाई सुरक्षाका मामिलामा फाइदा पुगिरहेको छ । यस्तो अवस्थामा उसले यो फाइदा किन हातबाट जान देला ? चीन यस्तो गर्न तब मात्र तयार हुन्छ, जब बदलामा उसलाई अरू कुनै ठुलो फाइदा हुन्छ ।”
टिकटकको स्वरूप इन्स्टाग्राम वा एक्स जस्ता अन्य सामाजिक सञ्जालभन्दा निकै फरक छ । “यो चीनमा बनेको हो । यो सामाजिक सञ्जालभन्दा बढी भिडिओ देखाउने एप हो । यसमार्फत हामी आफ्ना साथीभाइ वा चिनजानका मानिसहरूसँग जोडिँदैनौँ । बरु यो प्लेटफर्ममा हामी त्यहाँ भएका भिडिओहरू हेर्छौँ,” सिड्नी युनिभर्सिटीमा डिजिटल कल्चर अध्यापन गराउने सिनियर लेक्चरर डा. जोआन ग्रे भन्छिन्, “यसको प्रयोग संसारभरि सबै उमेरका महिला तथा पुरुषले गरिरहेका छन् । यसका प्रयोगकर्ताको उमेर जतिसुकै भए पनि उनीहरूको फिडमा उनीहरूको रुचिअनुसारकै भिडिओ आउँछन् ।”
डा. ग्रेका अनुसार यसको एल्गोरिदमले हामीले कुनै भिडिओमा कस्तो प्रतिक्रिया दिन्छौँ भनेर पत्ता लगाइरहन्छ । त्यसैअनुसार प्रयोगकर्ताको फिडमा भिडिओ आउँछन् । त्यसैले यो प्लेटफर्ममा विज्ञापन पनि धेरै आउँछन् ।
यो वर्ष टिकटकको मालिक कम्पनी बाइटडान्सले विज्ञापनबाट ३३ अर्ब डलर कमाउने अनुमान गरिएको छ । यो भनेको उसको सन् २०२२ को आम्दानीभन्दा ४० प्रतिशत बढी हो । टिकटकमा दिइएका विज्ञापन धेरै प्रभावकारी हुने गरेको डा. ग्रेको मान्यता छ ।
यसका साथै टिकटकमा साना उद्योगको एउटा छुट्टै अर्थतन्त्र नै बनेको छ । टिकटकको दाबी अनुसार अमेरिकामा मात्रै यसमार्फत १५ अर्ब डलरको व्यापार भइरहेको छ ।
“धेरै साना व्यापारीले टिकटकमार्फत आफ्ना सम्भावित ग्राहकसँग सम्पर्क गर्न सकिरहेका छन्, जुन पहिले सम्भव थिएन,” डा. ग्रे थप्छिन्, “अब उनीहरूले केवल आफ्नो भिडिओ सामग्री टिकटकमा राखे पुग्छ र एल्गोरिदमले नै त्यसमा कसको रुचि हुन सक्छ भन्ने तय गर्छ ।”
डा. ग्रेका अनुसार यदि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्यो भने हजारौँ मानिसको आम्दानी र रोजगारीमा ठुलो धक्का लाग्नेछ ।
“विज्ञापनबाट हुने कमाइको ठुलो हिस्सामा टिकटकको कब्जाले मेटा र गुगल जस्ता ठुला सामाजिक सञ्जालहरू चिन्तित छन्,” डा. ग्रे भन्छिन्, “उनीहरू यो कम्पनीको बढ्दो लोकप्रियताबाट निकै चिन्तित छन् । अब टिकटकले मानिसहरूसम्म पहुँच बनाउने कुरामा अमेरिकी सामाजिक सञ्जाल कम्पनीहरूलाई टक्कर दिइरहेको छ । यसभन्दा पहिले अमेरिकी सामाजिक सञ्जाल कम्पनीलाई बाहिरबाट कुनै खास चुनौती आइरहेको थिएन, जसका कारण यो उद्योगमा उनीहरूको प्रभुत्व स्थापित भएको थियो ।”
उनी अगाडि थप्छिन्, “तर अब टिकटकले उनीहरूमाथि दबाब दिएको छ जसले गर्दा उनीहरू आफ्ना सेवाहरूमा परिवर्तन ल्याउन बाध्य भएका छन् । उनीहरूले पनि आफ्नो प्लेटफर्ममा ‘रिल्स’ राख्न सुरु गरेका छन्, तर उनीहरूले टिकटकले जस्तो सफलता पाउन सकेका छैनन् ।”
यही कारणले गर्दा टिकटकले अमेरिकामा सरकारको तर्फबाट पनि विरोध झेल्नु परिरहेको छ । डा. ग्रेका अनुसार एउटा चिनियाँ कम्पनीले अमेरिकामा यति ठुलो प्रभाव जमाइरहेको विषयलाई लिएर अमेरिकी सरकार चिन्तित छ । टिकटकको यस सफलताले राष्ट्रिय सुरक्षामा पनि खतरा पुर्याउन सक्ने अमेरिकाको दाबी छ ।
अमेरिका मात्र होइन विश्वका अन्य देशले पनि टिकटकमाथि कदम चालेका छन् । “हिमालयमा दुई देशका सैनिकबिच संघर्ष भएपछि भारतले टिकटक लगायत धेरै चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो,” जर्जटाउन युनिभर्सिटीमा कानुन तथा प्रविधि अध्यापन गराउने प्रोफेसर अनुपम चन्दर भन्छन्, “भारतका एक मन्त्रीले यसलाई ‘डिजिटल स्ट्राइक’ भनेका थिए ।”
भारतपछि नेपाल, सेनेगल र सोमालियाले पनि टिकटक बन्द गरे । यसबाहेक क्यानडा र ताइवानले पनि सरकारी मोबाइल फोन र कम्प्युटरमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । तर, व्यक्तिगत उपकरणमा भने त्यसलाई ब्लक गरिएको छैन । यी देशले डेटा सुरक्षाको कारण देखाएर यो निर्णय गरेका थिए ।
“अरू सामाजिक सञ्जाल एपहरू जस्तै टिकटकले पनि प्रयोगकर्ताको सामान्य डेटा जम्मा गर्छ,” प्रोफेसर चन्दर अगाडि भन्छन्, “उदाहरणका लागि हामी एप कसरी प्रयोग गर्छौं, के खोज्छौँ, के हेर्छौं र के मेसेज गर्छौं । यदि यो डेटामा ठुला उद्योग वा सरकारसँग सम्बन्धित गोप्य जानकारी भयो भने राष्ट्रिय सुरक्षा खतरामा पर्न सक्छ ।”
गत वर्षको अन्त्यमा टिकटक र त्यसका प्रयोगकर्ताले सामाजिक सञ्जाल एपसम्बन्धी संसदको कानुनलाई अमेरिकाको सर्वोच्च अदालतमा चुनौती दिएका थिए । उनीहरूले टिकटक जस्ता एपमा लगाइएको प्रतिबन्ध आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो भनेका थिए । तर, अदालतले सरकारको राष्ट्रिय सुरक्षासम्बन्धी तर्कलाई स्वीकार गर्दै यो चुनौती खारेज गरिदिएको थियो ।
अमेरिकामा टिकटकले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता हटाउनका लागि ‘प्रोजेक्ट टेक्सास’ सुरु गरेको छ । “प्रोजेक्ट टेक्सास टिकटकको एउटा योजनाको नाम हो जसअनुसार अमेरिकी नागरिकहरूको डेटा चीनमा रहेको सर्भरमा राख्नुको सट्टा अमेरिकामा नै (जस्तै: टेक्ससमा) राखिनेछ, जसमा अमेरिकी कम्पनी ओरेकलको नियन्त्रण हुनेछ,” प्रोफेसर चन्दर भन्छन्, “अमेरिकीले हेर्ने वा अपलोड गर्ने भिडिओ मात्र अमेरिका बाहिरका सर्भरमा स्टोर हुनेछन् । तर चीनसँग बढ्दो प्रतिस्पर्धाका कारण, उसँग जोडिएको कुनै पनि कुरा अमेरिकाका लागि पचाउन सजिलो छैन । सरकारका लागि आम मानिसलाई ‘प्रोजेक्ट टेक्सास’ के हो भनेर बुझाउन र उनीहरूको डेटा सुरक्षित रहन्छ भनेर विश्वस्त पार्न सजिलो छैन ।”
“अहिलेको अवस्थामा टिकटकको भविष्यका लागि तीन ओटा विकल्प देखिन्छन्: यसलाई कुनै अमेरिकी कम्पनीलाई बेच्न बाध्य पारिनेछ, यसमाथि पूर्ण प्रतिबन्ध लगाइनेछ वा प्रतिबन्धको निर्णयलाई फेरि केही समयका लागि टालिनेछ,” थिङ्क ट्याङ्ककी रिसर्चर इसाबेला विलकिन्सन भन्छिन् ।
राष्ट्रपति ट्रम्पले पनि यो मामिलाको जटिलतालाई बुझेका छन् र टिकटक विरुद्धको संसदीय कानुन लागु गर्ने निर्णयलाई केही समयका लागि टार्न सक्छन् । तर यदि टिकटक बेच्ने सहमति भयो भने अमेरिकामा यसको खरिदकर्ता को हुन सक्छ ?
“धेरै किसिमका कम्पनी र मानिस टिकटक किन्न दौडमा छन् । यो मामिलामा धेरै हल्ला चलिरहेका पनि छन् । केही मानिस यस दौडमा ओरेकल कम्पनी सबैभन्दा अगाडि छ भन्ने मान्छन् । अहिले उसले अमेरिकामा टिकटक चलाउन मद्दत गरिरहेको छ,” इसाबेला भन्छिन्, “शार्क ट्याङ्कका एक प्रतिनिधिले पनि टिकटक किन्नेबारे बयान दिएका थिए । यसबाहेक माइक्रोसफ्ट, अमेजन र एलन मस्कको नाम पनि आइरहेको छ । केही निजी व्यक्तिको नाम पनि लिइएको छ जसमा सामाजिक सञ्जालका इन्फ्लुएन्सर मिस्टर बिस्ट पनि पर्छन् ।”
टिकटक कुनै अमेरिकी कम्पनीको स्वामित्वमा गए पनि यसको सञ्चालन कसरी हुन्छ भन्ने प्रश्न खडा हुन्छ । यससँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण पक्ष टिकटकको एल्गोरिदम हो जसले प्रयोगकर्ताले हेर्ने सामग्री निर्धारण गर्छ । त्यस्तै सरकारले आफ्नो देशलाई भ्रामक सूचना, मिथ्या समाचार र डेटा चुहावट जस्ता जोखिमबाट कसरी सुरक्षित राख्छ भन्ने नै प्रमुख चासोको विषय हो ।
“गलत जानकारीको प्रसारबाट पूर्ण रूपमा बच्न सकिन्छ भन्ने मलाई लाग्दैन,” इसाबेला भन्छिन्, “तर यससँग जुध्नका लागि प्रयास भने पक्कै गर्न सकिन्छ । यो कसरी गर्नुपर्छ भन्नेबारे हामी एस्टोनिया जस्तो बाल्टिक देशबाट सिक्न सक्छौँ कि देशमा मानिसलाई गलत जानकारीको सिकार हुनबाट कसरी बचाउने ।”
उनी अगाडि भन्छिन्, “अर्कोतर्फ जहाँसम्म टिकटकको कुरा छ यदि यसलाई कुनै अमेरिकी कम्पनीलाई बेचियो भने अमेरिकी सरकारको सुरक्षासम्बन्धी चिन्ता धेरै हदसम्म हट्न सक्छ । तर, यसले त्यो सुरक्षाको ग्यारेन्टी भने दिँदैन ।”
त्यसोभए के अमेरिकामा टिकटकको भविष्य फेरि सुनिश्चित भएको हो ? व्यापार र बजारका नियम पालना गर्न अमेरिका र चीन सहमत भएकाले यसको सम्भावना उच्च देखिएको छ ।
यसै सहमति अन्तर्गत टिकटकबारे पनि सम्झौता भएको छ, जसमा अमेरिकी प्रयोगकर्ताको डेटा र सामग्रीको सुरक्षाका साथै एल्गोरिदम प्रयोगको अनुमतिपत्र जस्ता विषय समेटिएका छन् । अब दुवै देशका सरकारले यी विषयमा अन्तिम स्वीकृति दिनेछन् । यदि दुई देशबिचका सबै मतभेद समाधान भए भने मात्र टिकटकले अमेरिकामा निरन्तरता पाउनेछ ।
(बीबीसी हिन्दीको युट्युब च्यानलमा प्रसारित ‘America में अगर TikTok की वापसी हुई तो China से Data Security के सवाल’ भिडिओबाट भावानुवाद गरिएको ।)
पछिल्लो अध्यावधिक: असोज ७, २०८२ १५:२२
