close

‘देउवाको घरमा पैसा भेटिएको झुटो हो’ भनेर कन्भिन्स गर्नुपर्छ भन्दै चतुर बहादुर चन्द बोलेपछि…

टेकपाना टेकपाना

असोज ९, २०८२ १०:५३

‘देउवाको घरमा पैसा भेटिएको झुटो हो’ भनेर कन्भिन्स गर्नुपर्छ भन्दै चतुर बहादुर चन्द बोलेपछि…

काठमाडौँ । “देउवाको घरमा पैसा भेटिएको भन्ने कुरा झुटो हो भनेर कन्भिन्स गर्नुपर्छ” भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीका सभापति तथा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त क्लिपलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तीव्र आलोचना गरिरहेका छन् ।

फेसबुक प्रयोगकर्ता ‘Bil Bdr Thami’ ले मंगलबार दिउँसो ३:०६ मा उक्त भिडिओ पोस्ट गरेका छन् । उक्त भिडिओलाई यो समाचार तयार पार्दासम्म ९ लाख ३५ हजारभन्दा धेरै पटक हेरिएको छ भने ७ हजार ८०० भन्दा धेरै पटक शेयर गरिएको छ ।

२८ सेकेन्ड लामो भिडिओको क्याप्सनमा लेखिएको छ, “गाउँ गाउँमा गएर जनताहरूलाई देउवाको घरमा भेटिएको पैसा हुँदै होइन भन्नु पर्छ: कांग्रेस कार्यकर्ता । नेपाली कांग्रेसका नेता कार्यकर्ता २००७ सालमै छन् अझै, जनतालाई जे भने नि पत्याउँछन् भन्ने सोच राख्छन् । तर ती मानसिक सन्तुलन गुमाएकाहरूलाई के थाहा होस्, Gen-Z  पुस्ता कुन युगमा छन् भनेर ! अझै पनि यिनैको पछि लाग्ने दुई खुट्टे भेडाहरूको उपचार यो दुनियामा सम्भव छैन ।”

यस्तै सामाजिक सञ्जाल एक्स प्रयोगकर्ता ‘टिमुरे’ ले पनि मंगलबार बिहान ११:३० बजे सोही भिडिओ सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, “देउवाको घरका कोठा कोठामा पैसा भेटिएको होइन भनेर जनतालाई कन्भिन्स गर्नुपर्छ: काङ्ग्रेस नेता चतुर बहादुर चन्द (CAN अध्यक्ष) ।” 

सामाजिक सञ्जालमा भाइरल उक्त क्लिपको पछाडि ब्यानरमा ‘संविधान दिवस २०८२’ लेखिएको छ भने आयोजकमा नेपाली काँग्रेस जिल्ला कार्य समिति बैतडी देख्न सकिन्छ । त्यसैले उक्त क्लिप संविधान दिवस अर्थात् ३ असोजमा काँग्रेसको बैतडीमा भएको कार्यक्रमको हुन सक्ने अनुमान लगायौँ । त्यसपछि ‘संविधान दिवस काँग्रेस बैतडी’ सर्च गरेर सामाजिक सञ्जाल फेसबुकमा सर्च गर्‍यौँ ।

यसरी खोज्दा ‘संविधान दिवसको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति’ क्याप्सनसहित १९ सेप्टेम्बर (३ असोज) दिउँसो ३ बजे सार्वजनिक क्लिप फेला पर्‍यो । ‘नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडी’ नामक फेसबुक पेजबाट सार्वजनिक गरिएको उक्त भिडिओ ८ मिनेट १७ सेकेन्ड लामो छ । 

सोही पेजबाट १९ सेप्टेम्बर राति ८:१२ मा ‘कुशलखबर’ नामक अनलाइनले लेखेको समाचार राखेको छ । “कांग्रेस पार्टी पुनः निर्माण हुनुपर्छ, राजीनामा दिन तयार छु” शीर्षकमा प्रकासित भएको उक्त समाचारमा सभापति चतुरबहादुर चन्दले राजीनामा दिन तयार रहेको बताएको उल्लेख गरिएको छ । उक्त समाचारले चतुरबहादुर चन्दले नै बोलेको क्लिप भाइरल भएको पुष्टि भयो ।

भाइरल क्लिपमा चन्दले  भनेका छन्, “...पर्यो कि पैसा हुँदै होइन भन्ने खालको पुष्टि हुनुपर्यो । कागजको विज्ञप्तिले मात्रै न नेपाली कांग्रेसले मान्छ न नेपाली जनताले मान्छ । हामी गाउँमा सडकमा गल्लीमा गएर जनतालाई चाहिँ यस बारेमा हामीले कन्भिन्स गर्न सक्नु पर्यो कि उहाँहरूको घरमा पैसा पाइएको होइन । यो झुटा कुरा हो । सामाजिक सञ्जालमा झुटा गरेको भन्ने कुरा पुष्ट त्यो विज्ञप्ति मात्रै होइन देखिने गरि बुझ्नु पर्यो ।”

यद्यपि चन्दले कांग्रेस सभापति देउवाको घरमा भेटिएको दाबीको बारेमा नै बोलेका हुन् वा होइनन् भन्ने उक्त भिडिओमा स्पष्ट छैन । त्यसपछि हामीले चन्दले सो कार्यक्रममा बोलेको भिडिओ अन्य पनि छन् कि भनेर खोज्यौँ ।

सो क्रममा हामीले ‘Mahesh Raj Bhatt’ नामक फेसबुक प्रयोगकर्ताले ३ असोजमा नै दिउँसो १२:२२ मा राखेको ८:१७ सेकेन्डको भिडिओ‌ फेला पार्‍यौँ । जुन ‘नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडी’ नामक फेसबुक पेजबाट राखिएको भिडिओसँग मेल खायो ।  

सामाजिक सञ्जालमा सभापति चन्दले “पैसा भेटिएको कुरा झुटो भएको सबैलाई कन्भिन्स गर्नुपर्छ” भनेको भिडि‌ओ भाइरल भएपछि भट्टले मंगलबार राति ९:५२ मा संविधान दिवसकै दिनको अर्को भिडिओ राखेका छन् । 

चन्दले बोलेको १० मिनेट १ सेकेन्ड लामो उक्त क्लिप राख्दै उनले भाइरल क्लिपभन्दा पहिला बोलेको क्लिप भएको बताएका छन् । उनले लेखेका छन्, “साथीहरू धेरै फेड फेड गर्दैछन् चतुर दाइले गरेका कुराहरू सुन्नु त्यो भिडियो अलि ढिला बन्यो उनि ले देउबा दाइको सचिवालय ले निकालेको विज्ञप्तिको बारेमा बोल्दैगर्दा को हो त्यो विज्ञप्ति कसले मान्छ न नेपाली कांग्रेस ले मान्छ न जन्ता ले मान्छ त्यस्तो परमाण देखाउनु जो जनता ले मान्छ भनेको कुरा लाई मोडेर सामाजिक सञ्जालमा  जोरतोडका साथ लागेका छन् साथीहरू के भनौ ।” 

उक्त भिडिओमा जेनजी भनेको के हो र जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि दिँदै सुरु भएको छ । भिडिओको ८:२५ सेकेन्डमा भने चन्दले पार्टी सभापति देउवाको कुरा उठाएका छन्, “पार्टी सभापतिले पनि अन्त्यमा गएर बन्द नगर्नुस् भन्नुभयो शेरबहादुर देउवाले । तर यो चाहिँ मानेनन् । यो सब केपी हठका कारण भयो । अन्तिम दिन पनि जुन दिन चाहिँ जेनजी युवाहरूलाई अत्याचार गरेर मारियो, त्यो दिनको राति पनि जुन मन्त्रिमण्डल बैठक थियो त्यसमा सामाजिक सञ्जाल नखोल्ने भनेर केपि निर्णय गरेका थिए । त्यसमा शेरबहादुर देउवाले राति गएर जबरजस्ती, नत्र सरकार छाड्छु भनेर यो खुलाएको अवस्था थियो । अलिकति काँग्रेस करेक्सन हुँदै थियो । सच्चिँदै थियो । तर पुस्ताको कारण जेनेरेसन ग्याप हुँदा…”  उक्त भिडिओ क्लिपमा चन्दले सभापति देउवाको बारेमा बोल्दा बोल्दै सकिएको छ । त्यसैले पैसा भेटिएको कुरा झुटो भएको भनेर कन्भिन्स गर्नुपर्ने भन्दै दिएको उनको भाषणमा देउवा निवासलाई नै इङ्कित गरिएको हो भन्ने दाबी थप स्पष्ट भएको छ । हेर्नुहोस् भिडिओ । 

हामीले भाइरल क्लिपमा बोलेका कुरा सुन्दा केही फरक अर्थ लागेको हो कि भनेर सभापति चन्दले कार्यक्रममा बोलेका कुराहरूलाई नोटबुलएलएमबाट टेक्स्ट निकालेर हेर्‍यौँ । तर टेक्स्टमा हेर्दा पनि पैसा पाइएको होइन भनेर कन्भिन्स गर्नुपर्छ भन्ने आशयसहित बोलेको कुरा स्पष्ट रूपमा सुनियो । 

तर २४ भदौमा सभापति देउवाको घरमा भेटिएका दाबी सहित सामाजिक सञ्जालमा राखिएको अधिकांश भिडिओहरू भने वास्तविक नै रहेको पाइएको छ । टेकपाना तथ्यजाँच टिमले ‘देउवाको घरमा पैसा भेट्टियो’ भन्ने दाबीसहित सामाजिक सञ्जालमा सार्वजनिक भएको विभिन्न भिडिओलाई लिएर गरेको तथ्यजाँचबाट उक्त दाबीहरू साँचो रहेको निष्कर्ष निस्किएको हो । देउवाको घरमा भेट्टाइएका पैसाको वास्तविकताका बारेमा हामीले गरेको तथ्यजाँच हेर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज ९, २०८२ ११:२७