एन्ड्रोइड अपरेटिङ सिस्टम अब कम्प्युटरमा पनि चल्ने, आउँदो वर्षसम्म बजारमा ल्याउने तयारी
असोज ९, २०८२ १४:२४
एआई सिर्जित तस्बिर
काठमाडौँ । गुगलले आफ्नो मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइड र ल्यापटपका लागि रहेको क्रोमओएसलाई मर्ज गरेर कम्प्युटरका लागि एउटै नयाँ अपरेटिङ सिस्टम ल्याउने योजना आधिकारिक रूपमा पुष्टि गरेको छ। क्वालकमको वार्षिक स्न्यापड्रागन समिटमा गुगलका एक शीर्ष कार्यकारीले यो बहुप्रतिक्षित प्रणाली अर्को वर्ष आउने खुलासा गरेका हुन् ।
यो घोषणाले गुगलको अपरेटिङ सिस्टम रणनीतिमा ठुलो परिवर्तनको सङ्केत गरेको छ । क्वालकमका सीईओ क्रिस्टियानो आमोनले आफूले यो नयाँ प्रणाली देखिसकेको र त्यो गज्जबको रहेको बताएका छन् । उनी यो परियोजनाका एक प्रमुख साझेदार पनि हुन् ।
क्वालकमको स्न्यापड्रागन समिटको उद्घाटन समारोहमा मञ्चमा रहेका गुगलका प्लेटफर्म तथा डिभाइस प्रमुख रिक ओस्टरलोहले यो महत्त्वाकाङ्क्षी परियोजनाबारे जानकारी दिएका थिए । उनले भने, "विगतमा हामीले पीसी र स्मार्टफोनका लागि सधैँ फरक-फरक प्रणाली बनाउँदै आएका थियौँ, तर अब हामीले त्यसलाई जोड्ने परियोजना सुरु गरेका छौँ ।"
ओस्टरलोहले थपे, "हामी पीसी र डेस्कटप कम्प्युटिङ प्रणालीका लागि एउटा साझा प्राविधिक आधार निर्माण गर्दैछौँ ।"
यो साझा आधारले गुगलको जेमनाई (Gemini) एआई मोडल, सम्पूर्ण एन्ड्रोइड एआई स्ट्याक र एन्ड्रोइडको विशाल एप्लिकेसन तथा डेभलपर समुदायलाई पीसी इकोसिस्टममा ल्याउने लक्ष्य राखेको छ ।
कसरी र कहिले आउँदैछ ?
सोही कार्यक्रममा गुगलको एन्ड्रोइड इकोसिस्टमका प्रमुख समीर सामतले यो मर्जर कसरी भइरहेको छ भन्नेबारे थप स्पष्ट पारे । उनले भने, "हामीले क्रोमओएसको अनुभवलाई लिएर त्यसको मुनि रहेको प्रविधिलाई एन्ड्रोइडमा आधारित (re-baselining) बनाउँदैछौँ ।" यसको अर्थ, प्रयोगकर्ताले क्रोमओएसको जस्तै अनुभव पाए पनि त्यसको भित्री आधार एन्ड्रोइड हुनेछ ।
सामतले यो प्रणाली कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै भने, "यो यस्तो कुरा हो, जसका लागि हामी अर्को वर्ष निकै उत्साहित छौँ ।"
गुगलको प्रस्तुतिपछि क्वालकमका सीईओ क्रिस्टियानो आमोनले निकै उत्साहजनक प्रतिक्रिया दिए । उनले भने, "मैले यो देखेको छु, यो अविश्वसनीय छ । यसले मोबाइल र पीसीको संयोजनको दृष्टिकोणलाई साकार पार्छ । म त्यसका लागि आतुर छु ।"
आमोनको यो भनाइले यो परियोजना विकास निकै अघि पुगिसकेको र कुनै नयाँ हार्डवेयर उत्पादनतर्फ सङ्केत गरिरहेको अनुमान गर्न सकिन्छ । गुगल र क्वालकमबिचको यो सहकार्य महत्त्वपूर्ण छ । किनकि क्वालकमले एन्ड्रोइड फोनका लागि मात्र नभई अब विन्डोज पीसीका लागि स्न्यापड्रागन एक्सटु इलाइट (Snapdragon X2 Elite) जस्ता शक्तिशाली चिपहरू पनि बनाइरहेको छ ।
यो कदमले भविष्यमा आउने क्रोमबुक र गुगलले ल्याउने चर्चामा रहेको 'पिक्सेल ल्यापटप' मा क्रोमओएसको सट्टा एन्ड्रोइड नै चल्न सक्ने बलियो सम्भावना देखाएको छ । गुगलले पहिलेदेखि नै एन्ड्रोइडलाई ठुला स्क्रिनहरूका लागि सुधार गर्दै आएको छ ।
जसमा डेस्कटप मोड, राम्रो विन्डो म्यानेजमेन्ट र बाह्य मनिटर सपोर्ट जस्ता फिचरहरू समावेश छन् । एन्ड्रोइड र क्रोमओएसको यो संयोजनले मोबाइल र पीसी कम्प्युटिङबिचको खाडल पुर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १४:२७
