काठमाडौँ । पाँच महिनाभित्र देशका ठुला सहरका सार्वजनिक स्थलहरूमा निःशुल्क वाई-फाई सञ्चालन गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको घोषणा आकर्षक भएपनि त्यसमा धेरै चुनौती र जटिलता रहेको इन्टरनेट व्यवसायी विनय बोहराले टिप्पणी गरेका छन् ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का पूर्वअध्यक्ष समेत रहेका बोहराले व्यावहारिक दृष्टिकोणसहित यस क्षेत्रमा कार्यक्रम ल्याउन मन्त्रीलाई आग्रह गरे ।
“निःशुल्क वाई-फाई जस्ता राम्रा आशयका योजनाहरू सुन्दा आकर्षक र सरल लागे पनि यसमा धेरै चुनौती र जटिलताहरू छन् । विभिन्न दृष्टिकोणहरू सुनेर मात्र मन्त्रीले यी जटिलतालाई गहिराइमा बुझ्न सक्नुहुनेछ र त्यसपछि मात्र परिपक्व निर्णय लिन र दूरसञ्चार क्षेत्रलाई पुनर्जीवित गर्दै नेपालको डिजिटल रूपान्तरणलाई साँचो अर्थमा अगाडि बढाउन सक्ने नीतिगत परिवर्तनहरू ल्याउन सक्नुहुनेछ,” बोहराले लेखेका छन् ।
मन्त्रीले कर्मचारीतन्त्र र सरोकारवालासँग मिलेर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “उहाँको पहिलो कदम सरोकारवालाहरूसँग भेटघाट गर्ने, ध्यानपूर्वक सुन्ने, विगतका नीति तथा कागजातहरू अध्ययन गर्ने र कठिन प्रश्नहरू सोध्ने हुनुपर्छ ।”
“उहाँ मिडिया पृष्ठभूमिका अनुभवी टेलिभिजन व्यक्तित्व हुनुभएकाले आफ्नो क्षेत्रमा व्यापक ज्ञान भएको कुरामा कुनै शङ्का छैन । यद्यपि, यो मन्त्रालय दूरसञ्चार र सूचना प्रविधिको पनि केन्द्र भएकाले नयाँ मन्त्रीलाई यसको विगत, वर्तमान र भविष्यबारे छिटो जानकारी आवश्यक पर्छ,” उनले थपे ।
पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १५:२२
